Admission Open

माधवनारायणको व्रत गर्न चाहने वर्तालुको नाम दर्ता गरिँदै

काठमाडौँ, १० माघ
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुस्थित शाली नदीमा गरिने माधवनारायण व्रत गर्न चाहनेले आजदेखि नाम लेखाउनुपर्ने भएको छ । विगत वर्षमा पौष शुक्ल पूर्णिमाको अघिल्लो दिन व्रत बस्न चाहनेले नाम लेखाएर सहभागी हुन सक्थे । यसपटक कोरोना भाइरसको महामारी जारी रहेकाले एक साता अघि नै नाम लेखाएर पिसिआर/एण्टीजेन परीक्षण गर्न लागिएको हो ।

नेपालमा पनि कोरोनाको नयाँ रोगी भेटिएपछि व्रत लिन चाहनेलाई परीक्षण गराएर नेगेटिभ प्रतिवेदन आएमात्र सहभागी गराइने श्री माधवनारायण व्रत तथा शाली नदी समितिले जनाएको छ । निमोनियाको लक्षण छ कि छैन भनी एक्सरे रिपोर्ट समेत साथमा हुनु अनिवार्य गरिएको समितिका अध्यक्ष मीजेन्द्रकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेका विभिन्न रोगका बिरामीलाई व्रतमा सहभागी नगराइने उहाँको भनाइ छ । आजदेखि सोमबारसम्म नाम लेखाएकालाई १३ गते कोरोना परीक्षण गरेपछि मात्र व्रतमा सहभागी गराइने छ । विगत वर्षमा महिला, पुरुष गरी करिब ३०० जनाले एक महिनासम्म कठोर नियम पालना गरेर माधवनारायण व्रत गर्थे ।

शङ्खरापुर नगरपालिकाका नगरप्रमुख सुवर्ण श्रेष्ठ स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र व्रत बस्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुहुँदै मेला भर्न आउनेलाई पनि स्वास्थ्य सुरक्षाका विधि अपनाउन सचेत गराइनुपर्ने बताउनुहुन्छ । स्वास्थ्य सुरक्षाका विधि अपनाएर मेला गर्न नगरपालिकाले समितिसँग नियमित सम्पर्कमा रहेर काम गरिरहेको उहाँले सुनाउनुभयो । वर्तालुलाई क्वारेन्टाइनको स्वरुपमा राख्न नगरपालिकाले सहयोग गर्ने भएको छ ।

पशुपतिलगायत मठ मन्दिर एवं चलचित्र घरसमेत खुलेको अवस्थामा मेला बन्द गर्न नसकिए पनि स्वास्थ्य सुरक्षामा ध्यान दिएर दूरी कायम गरिनुपर्ने नगरपालिकाले जनाएको छ । नियमित चलेको संस्कृति संरक्षणका लागि भए पनि मेला र व्रत गर्न लागिएको नगर प्रमुख श्रेष्ठको भनाइ छ । मेलाका अवसरमा नगरपालिकाले बजार एवं साँखु चल्ने सार्वजनिक यातायातको नियमित अनुगमन गर्ने भएको छ ।

यसै हप्ता जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको जिल्ला सुरक्षा समितिको बैठकसमेतले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सतर्कतासाथ सांस्कृतिक परम्परा कायम गरिनुपर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

विगत वर्षमा एकै दिनमा पाँच लाखसम्म भक्तजन शाली नदी दर्शनमा आउने गरेका थिए । समितिले वर्तालु स्नान गरिरहेका बेला मोबाइलबाट भिडियो खिची अतिरञ्जितरुपमा प्रस्तुत गर्ने गरिएकामा त्यसो गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याइने जनाएको छ । यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् माघ १५ गतेदेखि शाली नदी मेला लाग्ने भएको छ ।

वर्तालुलाई पशुपति, फर्पिङ, पनौती, चाँगुनारायणलगायत स्थानमा गरिने परदेश यात्रा पनि यस वर्ष समितिले सुरक्षितरुपमा गराउने जनाएको छ । वर्तालुले ती स्थानमा खाली गोडा पैदल यात्रा गर्नुपर्ने व्रतविधि छ । परदेश यात्रामा कोरोना महमारीका कारण वर्तालुका परिवारलाई सहभागी नहुन पनि समितिले अनुरोध गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...