
संविधानको वास्तविक परीक्षा सिंहदरबारका बैठक वा अदालतका इजलासमा मात्रै हुँदैन । यसको साँचो परीक्षा त किसानको हलोको सियोमा, युवाको आँखामा सजिएको सपनामा, र न्यायको याचना गरिरहेका नागरिकका आँसुमा हुन्छ ।
आज संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट, स्रोतसाधनको न्यायोचित वितरण र जिम्मेवारी बोधमा देखिएको स्पष्ट अलमलले हाम्रो संरचनात्मक र संस्कारगत खाडललाई छताछुल्ल पारेको छ । पटकपटक संविधान परिवर्तन हुँदा पनि मुलुकमा निरन्तरको राजनीतिक अस्थिरता, संघर्ष र आन्दोलनको शृङ्खला कायम रहनुले कागजमा कानुन लेख्नु र त्यसको व्यावहारिक कार्यान्वयन गर्नु दुई फरक कुरा हुन् भन्ने स्पष्ट पार्छ ।
हालैको जेनजी आन्दोलन र जनभावनालाई सम्बोधन गर्न बनेको सरकारले संविधान संशोधनका लागि समिति गठन गरी सुझाव संकलनको प्रक्रिया अघि बढाएको छ । तर, नागरिकका सुझाव सुन्ने कार्यलाई ‘बिरालो बाँधेर श्राद्ध गरेजस्तो’ विशुद्ध कर्मकाण्डी र औपचारिक मात्र बनाइनु हुँदैन भन्ने कुरामा कति सचेत छन् भन्ने कुरा समयले प्रमाणित गर्ने नै छ । विगतका पुस्ताले दोहोर्याएका यस्तै गल्तीबाट नयाँ पुस्ताले पाठ सिक्दै फेरि उही भूल नदोहोरियोस् भन्दै आमनागरिकको हैसियतले खबरदारी सधैँ सवैले गर्नु नै पर्छ ।
मानव सभ्यता, सांस्कृतिक धरोहर र प्राकृतिक सन्तुलनलाई तहसनहस पार्ने अन्धो भौतिक विकासको पछि दौडिन छाडेर नेपालले दिगो र प्रकृतिमैत्री समृद्धिको मार्ग अवलम्बन गर्नुपर्छ । राज्य सत्ता र शक्तिमा हुनेहरूका लागि मात्र सुविधाको माध्यम हो भन्ने भ्रमलाई पूर्णतः अन्त्य गरिनुपर्छ । आम नागरिकदेखि देशको नेतृत्वसम्म सबैलाई उत्तरदायी र जिम्मेवार बनाउने शासन व्यवस्था निर्माण गरिनुपर्छ ।

