
काठमाडौं । चितवन को- इ समूह अन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकार मनकामना केबलकारले मंसिर ८ गते २८औँ वर्षको सफल सञ्चालन पूरा गरी २९औँ वर्षमा प्रवेश गर्दै छ । हालसम्म २ करोड १२ लाख भन्दा बढी यात्रुले केबलकार सेवा लिएका छन् ।
यस समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको यस केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको कम्पनीले जनाएको छ । यस विशेष अवसरमा कम्पनी स्वर्गीय संस्थापकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।
कम्पनीले माया, विश्वास र साथ–सहयोग प्रदान गर्नुहुने सम्पूर्ण आदरणीय ग्राहकप्रति आभार प्रकट गरेको छ, साथै, कम्पनीलाई यस उचाइसम्म पुर्याउन अहोरात्र खटिने सम्पूर्ण कर्मचारी, पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रका सम्पूर्ण साझेदारप्रति साथ र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गरेको छ । सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकप्रति निरन्तर साथ र सहयोगका लागि कम्पनीले कृतज्ञता व्यक्त गरेको छ ।
आगामी वर्षमा यात्रुलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।


