Admission Open

एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा

काठमाडौँ, १४ जेठ / माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।

कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उहाँले दिनुभयो ।

कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ । खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताउनुभयो । सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको जनाइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै नै परीक्षाको विकल्पका बारेमा टुङ्गो लगाइने जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कार्यदलले प्रतिवदेन बुझाएको अवस्थामा अब निर्णय हुन धेरै दिन नलाग्ने बताउनुभयो । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार व्यवस्थापकीय पक्ष मात्रै वस्थापन गर्नुपर्ने अवस्था भएमा बोर्डले गर्ने निर्णयकै आधारमा परीक्षाको विधिको टुङ्गो लाग्नेछ । साथै, परीक्षा सञ्चालनका लागि कुनै नयाँ नीतिगत निर्णय लिनुपर्ने भए मन्त्रालयले र नयाँ कानुनी जटिलता फुकाउनुपर्ने अवस्थामा सरकारले निर्णय गर्ने जानकारी उहाँले दिनुभयो । यसका लागि कति दिन लाग्छ भन्ने कुरा प्रतिवेदन अध्ययन गरेपछि मात्रै भन्न सकिने उहाँको भनाइ छ ।गत वर्ष पनि एसईईका विद्यार्थीको विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो भने कक्षा १२ का विद्यार्थीलाई ४० अङ्कको लिखित परीक्षा लिइएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...