‘टोलभरि हल्ला फिँजिएर खप्नु खानु छैना, सत्य क्याह ? चुँइक्क नढाटि भन् मलाई । के तेरो पेटमा भीरखर्केको…?’
बूढाको वाक्य सकिन नपाउँदै डम्बरी खोल्मातिर फर्केर रुन थाली । उसको आँसुले अरूले लख काटेको रहस्यको पुष्टि गरिरहेको थियो ।
‘ए गधाको जुनि, तँ केना बोल्दैनास् ? सत्य सत्य बक्, कोइलेदेखिको ह तिमरको यो घिनमर्दो चर्तिकला ?’
‘पाँच महिना भोइसको भेना’– थर्थराउँदै मुख खोल्यो भीरखर्केले ।
‘तँ हुच्चिललाई यस्तै मतिले गर्दा नै स्वास्नीले लोपरेर हिँडेको रछ, ओइले आर था भो ।’

‘डम्बरीको पेटमा भीरखर्केको बच्चा छ ।’
टोलभरि भित्रभित्रै हल्लाको डढेलो फैलिसकेको थियो । मान्छेहरु आपूmसित ठोक्किन आइपुगेको दोस्रो व्यक्तिसँग यहीं प्रसङ्ग झिकेर चर्चा गर्थे ।
‘ओहोई ! भीरखर्के बाबै र डम्बरी फुपैको बारेमा सुन्यौ ? होइना, त्यो फुपैलाई के मति आ’को लौ ।’
पँधेरामा भेट्नासाथ रामसरीले रुद्रासँग टिप्पणी गरेकी थिई, रुद्राले बिट मारिदिई, ‘बाबै नि त, उहाँको झन् के भा’को बिहोरा । नातिनतेनासमेत त्यत्रो ठूल्ठूलो भैसको । लाजकै पसारो । छ्या है सुन्दा पनि…’
मबुलेले आरा काटिरहेको आफ्नो हल राजेशसँग भन्यो– ‘गाँठे ह ! यो भन्दा उल्का के हुन्छ ? आबो दुईटैको चिलिम् फर्केना त ?’
‘म ता उनरलाई मत्तै दोष दिन्ना हौ पुसैँ । भक्तेम्पाले हाम्रो कुरै खाइदिँदैना । काँधिएको छोरीलाई माइतैमा थच्याएरै यो दिन देख्नुपरेको । त्यस्तो मजाको कुटुम्ब आङ्दा सिकुवा टेक्नै नदिई परपरै पा¥यो बूढाले’
कतिपयले भन्दै थिए– ‘पर्खिनु मत्तै पर्छ, पाप यसरी नै धुरीबाट कराङ्छ । भक्तेम्पा कईं नभाको अधर्मी हो नि । दुई पाथी अक्षता बेच्छ को, आफूलाई कत्ता ह सम्झिन्छ । स्वास्नीचाईंकोम् भुइँमै पो खुट्टा छैना त !’
राँगामा भैंसी लाँदै गरेको देउराज, हतियार अर्जाप्न कामीगाउँ निस्कँदै गरेको ऋषिधन, मिलमा चामल पिसाएर फर्किरहेकी कौशिला, मासुको पैसा उठाउन लाप्तुङ हिँडेको बुद्धिराज, खेतमा पानी भिजाउदै गरेको लालमान साथै तासको खालमा अडेस मारिरहेका जगजित, देशराज र सिताराम आदिको मुखमा यही विषयले प्रश्रय पाएको छ आज ।
०००
माघमा उनन्तीस वर्ष पुगेकी डम्बरीले सात वर्ष भएको थियो माइती आँगन तापेर बसेको । नौ वर्ष अगाडि असारको मध्यतिर बेसीगाउँको चतुरेसँग कुलेलम ठोकेकी थिई उ । बाउ–माइतीको नाकै काटेर बेला न कुबेला लफङ्गा केटोसँग पोइल हिँडेकीले भक्तेम्पाले रिसैले वर्ष दिनजस्तो माइतीगाउँको बाटो बन्द गरिदिए डम्बरीलाई । तर आमाको मन कति दिन ढुंगा बन्न सक्थ्यो र ! अन्ततः तान्यो भक्तेम्माको कोमल आँसुले छोरीलाई माइतमा । उ माइत आउँदा घटेर धागो जस्तै भएकी थिई । धेरै दिन रोएर थाकेका जस्ता देखिन्थे उसका आँखा । माइतैमा पुल्पुलिँदै बस्दा मुस्लिएका हात–खुट्टा अहिले सुकेको दाउराजस्तो भएको थियो । घुत्लुक–घुत्लुक चल्न थालेको सात महिने पेट लिएर माइत आएकी खिनौटी छोरीलाई देखेर भक्तेम्माले मन कुँड्याउँदै बरर्र आँसु खसालेकी थिइन् ।
०००
बित्दै गए दिनहरु । माइती आएपछि ओथारो बसेकी पोथीझैँ ढुक्कले बस्न थाली डम्बरी ।
‘म तिमीलाई रानी बनाएर राख्छु’ भनी फकाएर भगाएको चतुरेले एक वर्षपछिदेखि नै मरणासन्न हुने गरी कुट्न थालेपछि उसको सेखी झार्न थिलथिले शरीर लिएर निकै दिन बस्ने गरी माइती आएकी थिई उm । तर पराइघर गइसकेकी छोरी धेरै दिन माइतमा बसेको बाउचैँलाई भने पटक्कै निको लागेको थिएन । एक त छोरीले फर्केर घर जाने कुरा नगर्नु । अकार्े, उसलाई खोज्दै ज्वाइँ लिन नआउनु । बूढाको मनमा शङ्काको बादल मडारिन थालेको थियो । डम्बरी बाउचैँलाई सीधा आँखाले हेर्न सक्दिनथी । डरले पछिसम्म पनि तर्की–तर्की हिँड्ने छोरीको, ज्वाइँसँगको सम्बन्धमा कहीँ न कहीँ तुषारापात भएकै छ भन्ने भित्रभित्रै अड्कल काटे पनि कठोर स्वभावका भक्तेम्पाले बुढीलाई भन्थे– ‘होईना, गोइसकेको पातर्नीलाई अझै केना कुप्दाइराख्छस् ? वैँशोले पात्तिएर पोइला जाने बेला चैँ आँखा देखेना । खुरुक्क घर पठाइदिहाल् ’
भक्तेम्मा बूढालाई कुनै जवाफ दिन्नथिन् । प्रायः छोरीसँग साथ–साथ जस्तो हुने उनको वृद्ध चेहरा निकै दिनदेखि उदास देखेका छन् बूढाले । तर के कारणले हो ? सोधेका छैनन् उनले । बरु मनमनै भन्छन्– ‘आऽऽ जेसुकै खुत्तियोस् १ फतौरीलाई टाउकोमा टेकाको नै यसैले ह ।’
०००
एक दिन भकारीको कोदो खलामा फिँजाएर सुकाउन लाग्दा रोइरहेकी थिई डम्बरी । त्यो दृश्य देखेका भक्तेम्पाले भोलिपल्ट सँगुर खोरछेउको अम्बकको फेद्मा घाम ताप्दै कपालमा ठुङ् मारिरहेकी आमा–छोरीको वार्तालाप झट्टै सुनिलगे– ‘हाई हाई तेरो कर्म…!’, एकक्षण शून्य भएर आँखाको भृकुटी खुम्च्याउँदै भनीन् बुढियाले– ‘अगत्ती लबस्तरा । तेइ भोर पो मुख देखाङ्नुको लाजले नमुन्टेको र’छ, । डर ता छ नि त्यल्लाई पनि । यो कुरा तेरो बाउले थाहा पायो भने…?’
डम्बरीले आमालाई जिउभरिको नीलडाम देखाउँदै भनी– ‘पल्लो घरको जेठाजु पर्ने गोफ्ले कान्छा अस्ति जेठमा खसेपछि स्वास्नीचैंको चालामाला अर्कै थ्यो । ओइले त्यै राँडीसँग उसको नाम जोडिएको छ आमा ।’ त्यसपछि हत्केलाले आँखा छोपेर स¥याक्क आँसु पुछी– ‘यो पेटमा असत्तीको नासो नबसिदेको भा मैलेम् जानेको थेँ, के गर्नुपर्छ…!’
छोरीको दुःख सुनेर विक्षिप्त भईन् भक्तेम्मा । रसाएका वृद्ध आँखाले केवल हेरिरहीन् चुपचाप छोरीलाई । गलाबाट झट्टै कुनै शब्द निस्कन सकेन ।
त्यो दिन त्यत्तिकै वित्यो । भोलिपल्ट झिस्मिसेमै तल्लोघरको भतिजो रेमनसँग छोरीको घर पुगेका भक्तेम्पा दिउँसो बाह्र बजेतिर माटो भएर आइपुगे ।
‘खै त ज्वाइँ ?’
बूढीको मुखतिर नहेरी भने उनले– ‘गुहु खाएछ नर्कवासीले ।’
‘हैना, के भो अरे ?’
‘गोफ्लेको स्वास्नी टिपेर हिँडेछ अस्ति बुधोबार ।’
‘हे दैव…!’
बुढिया टोलाको टोलाई भईन् । डम्बरी रुँदै घरपछाडितिर दगुरी ।
०००
हर्के मावलमै जन्म्यो, सक्कल काटिकुटी चतुरेकै लिएर । थुकिसकेको पोइको घृणित अनुहार छोरामा देखेर तथानाम सराप्दै करैले वर्ष दिनजस्तो दूध चुसाई डम्बरीले । थुतुना बाउको जस्तै भए पनि बानी साह्रै मज्जाको थियो केटोको । सानैदेखि तीक्ष्ण बुद्धिको ऊ बुझ्ने भएदेखि नै ‘म हराएको बाउ खोजेर ल्याउँछु र आमालाई अधिकार दिलाउँछु’ भन्थ्यो । फुच्चेको विलक्षण हाउभाउ देखेर चित्त बुझाउँदै लगी डम्बरीले ।
दिन बित्दै जाँदा डम्बरीका लागि सबै कुराहरु सामान्य हुँदै गए । भुल्दै लगी उसले क्रमशः कर्मघर, चतुरे र यातनाहरु । कसै–कसैले ‘आबो छोरालाई लिएर घर नफर्किने ?’ भनी प्याट्ट सोध्थे । ऊ निर्धक्क जवाफ दिन्थी– ‘आऽऽ केलाई फर्केर जानु र ? लोग्ने भनाङ्दोले गुहु खाइहाल्यो ।’
घरबार टुक्रिएर माइतैमा बसेकी उसलाई यसबीचमा पनि सुहाउँदा जुक्ताहरुले आँखा नगाडेका भने होइनन् । धिचुङको फ्यानेले त मरिहत्ते नै गरेको थियो तर रीतभातसहित कलिया लिएरै आएको उसलाई भक्तेम्पाले ढिम्कनै नदिई परपरै पार्दै ‘चार जानाको बाउलाई दिनुभन्दा बरु माइतमै थुप्रिराखोेस्’ भनेर फर्काएपछि आफैँलाई रुँदै धिक्कारेकी थिई डम्बरीले । बाध्यताले माइतीघरमै छोरा पाएर निरस जिन्दगीको शून्य क्यालेन्डर पल्टाउँदै बाँचेकी ऊ पश्चातापको भुङ्ग्रोमा पिल्सिँदै गई । आफूखुशी निर्णय गर्दा आफ्नो खुट्टामा आफँैले बन्चरो हानेकी थिई उसले । र, अब पुनः यस्तो गल्ती दोहो¥याउँन चाहन्न थिई ऊ । हुन त चतुरेसँगको सम्बन्ध भाँचिएपछि पनि उसले अन्य थुप्रै सुकुमारको स्केच दिमागमा नउतारेकी भने होइन । मनमनै कल्पनाको सुन्दर महल ठड्याउँथी अनि फेरि भत्काउँथी । त्यसैले होला सायद उसको हात थाम्न आएको फ्याने रित्तै फर्केको रात ऊ अनिदै भएकी थिई । उ सोच्थी– बाउआमा भइन्जेल पो जन्मघरमा ठाउँ छ । उहाँहरुको शेषपछि के हला ? भाइ–बुहारी ओइलेदेखि नै झर्कोफर्काे गर्छ । पछि ता झन्….हे भगुवान् …! कुन दिनमा व्यार्थै चतुरे नागासँग भागेछु । थुक्का…!’ के भाको हला त्यो बेला मेरो बुद्धि ? अलिक पर्खिएकोे भा ता राम्रै मान्छेसित पर्थें हला ।
एउटा भरपर्दो पुरुषको कल्पना गर्दै सिरानी अँगालेर रात गुजार्न थालेकी डम्बरीको अन्तरचाहना पछिल्लो काल निकैचोटि टुत्र्mयाइदिएका थिए भक्तेम्पाले ।
‘त्यो पुन्टे केटालाई समेत छहारी दिन्छु भन्नेहरु आइलाग्दा त दिए पनि हुने’ भन्थे छिमेकीहरु । भक्तेम्माले त छोरीको मर्म बुझेकी थिईन् तर बूढाको निर्णयलाई उल्ट्याउने सहास थिएन उनीसँग ।
०००
सात कान्लामाथि भीरखर्केको घर छ । दस सालअघि साहूको तमसुकको हतकडी लागेको आफ्नो चार सुर्का बारी उकास्न नसकेर कोइलाखाद पसेको ऊ दुई वर्षपछि घर फर्कंदा अकस्मात छाँगाबाट खसेको थियो । विगतदेखि नै सधैँ दाइँको गोरु बेचेको साइनो लगाउँदै लुसुक–लुसुक आइरहने डाँडाटोलको गोविन्देले आफूले सरस्वतीलाई जस्तै पुजेर राखेको स्वास्नी आपूm आइपुगेकै भोलिपल्ट भगाइदिएपछि उसले पीडा भुलाउन निकै दिन आफैँलाई रक्सीमा डुबाएको थियो ।
‘घरमा दुःखो अवश्य छ साइँला ! तर नखरमाउलीलाई कोईले आधा पेट राखिनाँ । बिहा गरेर लिएदेखिन् एउटा सिन्काधरी भाँच्नु लाइनाँ । ठूलो भाग खानु हिँडेछ, खाओस् ।’
दुःखले गर्दा स्वास्नीसँग राम्ररी बस्नसम्म नपाएको भीरखर्केले बरर्र आँसु झार्दै छिमेकी चरिकोटेसँग बिलौना गरेको थियो ।
‘दाइ, कालो गोए सेतो आङ्छ, केना चिन्ता गर्छौ ? आबो ता तपाईंलाई सुहाङ्ने अर्कै भाउजू पो खोज्नुपर्छ तौ, गरिखाने खालको ।’
‘आऽऽ साइँला, सप्पै उस्तै ता हला, मलाई पुगेको आबो, कोई नाथे आइमाईको थोपडाम् हेर्नु नपरोस् लागेको छ ।’
भन्न त भीरखर्केले यसै भन्थ्यो तर घर–व्यवहार, चुलाचौका, इस्टमित्र, सबै ऊ एक्लैले धान्न गाह्रो थियो । बेलुकी लखतरान गलेर आयो, अँगेनामा आगो निभेको हुने । बिहान उठेर व्यवहारमा हिँड्न आँट्यो, बेलुकीको जुठो भाँडा थुप्रिएको हुने । ‘साँच्चै चरिकोटेले भनेको ता ठीकै पो ह कि क्याह ? एकजाना एसो घर रुङ्ने र चिसोको तातो बनाङने ता चाहिने नै भो’ तर भन्न अप्ठ्यारो र पो, उसलाई त चिसोको तातो बनाउँने भन्दा बुढेसकालतिर ढल्कँदो शरीर तातो बनाउने साथको आवश्यकता महसुस हुँदै गएको थियो ।
०००
एकादशी बजार भरेर रक्सीले धन्फनिदै घर फर्कंदै गरेको भीरखर्केलाई घरि–घरि हुत्तिएर लड्नबाट जोगाउँदै थियो उसैको सुखदुःखको साथी चरिकोटेले । घुमाउनेको वरबाट अघि नै उकालो लागेका उनीहरु मालाथुम्का डाँडामाथि रातो घाम बसेपछि मात्र गहतेपाखा छिचोलेर बाँसघारीमुनिको जोरधारामा आइपुगे । जहाँबाट भीरखर्केको घर निस्कन धेरैमा दस मिनेटको उकालो चढ्नुपथ्र्यो भने चरिकोटेको बाटो आधा घन्टा तेर्सो हिँड्नुपथ्र्यो ।
‘हिँन् हौ साइँला, भक्तेम्पाकोमा गोएर डम्बरीको हातको एक शेर चढाङ्’ –चरिकोटेले बजार भर्न आएका बैनीज्वाइँलाई बजारमै भेटेर सँगै ल्याएको थियो । साथमा एक बीसौली सुँगुरको मासु पनि बोकेको थियो उसले ।
‘आजलाई पुग्यो दाई, आबो नथपुङ् । मम् यी पाहुनाहरलाई लेर जाँदैछु । हिँन्नोस्, जाङ् बरु तपाईं पन् मेरैतिर ।’
‘छोड्दे मुजी त्यस्तो कुरा । मूला, भोलि मरेर जाने जिन्दगी । दाइले भनेपछि खुरुक्क मान् ना । लु हिन्, आज मेरो तर्फबाट…’
‘हैना हौ, तपाईंलाई लागिसको के आज । बरु भक्तेम्पाको बाटो राँको चैँ लेर बेलैमा घर पुग्नोस् ना ।’
‘ए, आबो घर के गरि जानुपर्छ, तैँले मलाई सिकाङ्ने ? तँ मैले किनेको रक्सीम् नखाने ? तँ बद्लेछस् चरिकोटे । तँ अर्कै भैसकेछस् । थुक्का ! मै पो उस्तो र’छु नि । तँ नाथुलाम् हेर्दै जान्छु म पन्…।’
‘हैना, धोकेपछि यस्तै बिहोरा छ र त म तिमीसित हिँन्नु छोडेको । अस्ति मनसरीको घरपुँइचोमा नरेले त्यस्सै तिम्लाई हात छोडेको ह र ? धन्ना मैले छुट्ट्याइदिएर पो, नभा ता…।’
रिसले निकै रन्किएको चरिकोटेलाई छेउमा उभिएकी बैनीले ‘दाजै, आबो भैहाल्यो, चुप लाग्नुस्’ भनेर चिमोटेपछि ऊ अलि मत्थर भयो ।
‘हैना, मैले नराम्रो भनेँ त दाइ तपाईंलाई ? मैले ता भलो कुरै बोलेथेँ, बुझ् पचाएर काहाँको कुरा काहाँ बटारेपछि पारो तातिँदैना त ?’
‘तँसँगैको मेरो कान्छा भाइ तीनै दिनको बेथाले टिपिएपछि तँलाई आफ्नो कलेजोको भाइ देख्छु साइँला ।’– आँसुसँगै नाकबाट झरेको पातलो सिँगान भित्तातिर फर्केर धुसुरेको पातले सघ्य्राँक्क पुछ्यो उसले ।
‘त्यसैले ता तपाईंलाई मेरैतिर जाङ् भन्दैछु । ’–हृदयको भित्र कतै चसक्क दुख्यो चरिकोटेको पनि । उसको आँखामा मरिसकेको दौँतरी सुहाङ्को धमिलो तस्बिर झलक्क देखा परेर सुस्तरी बिलाएजस्तो भो ।
‘तेरोमा म कैले आ’छैना र ? तैँ ता हस् साइँला मेरो भाइ भनेम्, साथी भनेम् दुःखो सुखोको । तेरोमा म भोलि नै झरिहाल्छ । याँ पकु बुईनी र ज्वाइँलाईम् मेरोतिर निकाल्नु छ । एसो गरुङ्ना त, तँ ओइले पाउनाहरलाई लेर जा । बरु घर पुगेर एकछिन आइजना एउटा सल्लाह छ । म भक्तेम्पाकोमै हुन्छु ।’
‘ल ल, म कोसिस गर्छु, तर अबेर भैहालो भने नकुर्नु है’– चरिकोटे पाहुनासँगै तेर्साे लाग्यो ।
‘बुईनी, ए पकु बुईनी, भोलि मछासँग उँभोम् कसैगरी निस्क है, दाजैको दुःखो हेर्नु ।’
‘अनि लै लै दाजै, कस्तो त, आफ्नु माईतघरमा हामी निस्किहाल्छुङ्नि ।’
तब पकेउ, बल्लाबल्ला यसेरी आङ्छौ, बाटो नकाट्नु है ।
हुन्छ नि दाजै ।
०००
साँझमा भीरखर्के मताननेर आइपुग्दा कुखुरा थुन्दै थिई डम्बरी । घरमा अरू कोही थिएन । भक्तेम्पा–भक्तेम्मा नाति केटासहित खेताला लिएर बेँसी खेतको दाइँमा रातै बस्ने गरी झरेका थिए । भाई धु्रव बुहारी लिन ससुराल गएको थियो ।
साँझमा धन्फनिँदै आएको भीरखर्केलाई देखेर सुरुमा अलि डराई ऊ । तर छिमेकी भएकोले गलत्तै सोचिहाल्न पनि मिलेन । फेरि उमेरमा झन्डै पन्ध्र वर्षकै अन्तर भए पनि साली–भेना साइनो पर्ने ती दुईबीच विगतदेखि नै खुबै हाँसोठट्टा चल्ने भएकोले भीरखर्केको उपस्थितिलाई खासै असहज ठानिन डम्बरीले । पहिले थुप्रैचोटि ख्याल–ख्यालमा भनेको थियो उसले– ‘आबो बिहा गर्नुपरे तिमीलाई नै गर्नुपरो कान्छी, नत्र साला यत्तिकै जान्छ एकबारे जुनी ।’
‘ओइलेसम्म के हेरिबसेको त ? गरे भैहाल्यो नि’– भन्थी उचाहिँ ।
यो ठट्टा साँच्चिकै व्यवहारमै परिणत हुन्थ्यो पनि सायद, यदि कडा स्वभावको भक्तेम्पाले चौबीसै घन्टा कम्मरमा खुकुरी नभिर्ने हो भने । आँखासमेत लर्तरो जुधाउँन नसकिने बुढासामु यस्तो गम्भिर कदम उठाउने दुस्साहस कसले गर्ने ?
‘काँबाट हौ भेना, यो मुर्कुट्टा हिँन्ने बेलामा ?’
‘बजारबाट फिर्दैछु कान्छी’,
घरमा कसैको चलह–पहल नदेखेपछि मौका छोपिहाल्यो उसले– ‘के गरुङ् म ता, दिनमा एकचोटि तिम्रो मुख नहेरी चित्तै बुझ्दैना, त्यसैले छिरेको ।’
‘उस ्ऽऽ! हेर ना, बजार चैँ एक्लै सुटुक्क जाने । अहिले मुखले भने दुरुस्त । कत्तिना खुब…’, अनि छड्के गरी हेरेर भनी– ‘खै बजारको सौदा मलाई ?’
‘के चाहियो लु भन ?’
‘चाहियो नि जे भाम् ।’
उसले गोजीमा हात छिराउँदै यताउता हेरेर भन्यो– ‘यै सालीको मायाले गर्दा फर्केर कोइलाखाद जानुम् सकिनाँ । आबो गएँ भने ता एक्लै के जान्थेँ । हैना कान्छी ?’
गोजीबाट के–के न झिक्न आँट्यो सोचेर आेंठ लेप्य्राउँदै बोली डम्बरी– ‘ओईलेसम्म कुन तरुनीसित धूलोमा लडिबुडी गरेर आएजस्तो छ । मेरो छेउमा चँै कत्ति ना ठिक्कै ।’
गोजीबाट लिपिस्टिक, टीका, दुइटा कपाल बाध्ने क्लिप, एउटा काइयो र दुई प्याकेट खैनी सँगै पोको पारेको रुमाल झिकेर दियो उसले ।
‘अनेकथरि नभनन हौ कान्छी । म किन अरू तरुनी हेर्थें । सिनिमाको हिरोनी भन्दा राम्री सालीलाई छोडेर…, तिमीले मनैदेखि हुन्छ मत्तै भन ना, म केलाई पर्खिराख्थेँ आइतबार ।’
‘कुरा मात्रै’, फ्याट्ट गालामा हानेर स्वरको भोलुमलाई केहि घटाई उसले– ‘आँटबिनाको नामर्द तपाईंजस्तो लोग्ने मान्छेलाई भन्छ ।’
आपूmलाई सम्हाल्न नसकेर बोली पठाएकी थिई डम्बरीले । धन्न घरमा आज कोही नभएकाले सुनेनन् । भीरखर्के रनन्न तातिँदै आएको थियो ।
‘बस भन्दौना कान्छी ?’
‘भनिराख्नुपर्छ र ?’
मूलदैलोभित्र दाहिनेपट्टि कुनामा सुकुल ओछ्याइएको थियो, त्यसैमा थ्याच्च बस्यो ऊ ।
डम्बरीले घरमा कोही नभएको कुरा जानकारी गराइसकेकी थिई । त्यसैले पनि एउटा छोराकी आमाजस्ती पनि नदेखिएकी भर्भराउँदी डम्बरीलाई देखेर आज उसको जीउमा त्यसै–त्यसै काँढा पलाइसकेको
थियो ।

‘कान्छी मिठो खाल्को एक शेर छ ?’
‘छैना, हिजो पारेको दुई शेर थ्यो, दिउँसै पठाइदिएँ मेलोतिर ।’
‘छ भने दिराख ना, चरिकोटेलाई गफ दिइहालँे । बजारमा निख्रिएर आुङ्दैछु,, हिसाबचैँ भोलितिर गरुङ्ला ।’
एकछिन के–के सोचेर डम्बरी जेकु कुनातिर गई अनि केही छिनपछि एउटा शेरे बोतल लिएर आई– ‘खै त चरिकोटे दाजु ?’
‘आङ्छु भन्थ्यो, आङ्दै हला ।’
‘तपाईंहर धेरबेर अलमल नगर्नुस् है, मान्छेलाई कुरा काट्ने बाटो हुन्छ ।’
‘छोड्देऊ त्यस्तो कुरा । काग कराङ्दै गर्छ, पिना सुक्दै गर्छ ।’
‘आबुई, हैना नि । माथ्लो घरको ठोक्सी कस्तो छ । सानो कुरा पायो भने पहाड बनार सात गाङ् सुनाङ्ँदै हिँड्छ ।’
डम्बरीले अघिल्तिर बोतल राखिदिँदा भीरखर्केले हात समात्न भ्याइहाल्यो ।
‘छ्याऽऽ नचल्नु ना ।’ ऊ पानी–पानी भई । अलि परतिर काठको कप्लिमा थियो, त्यही गएर टुसुक्क बसी ।
भीरखर्केले ग्लासको रक्सी एकचोटिमै स्वाट्टै पा¥यो । चरिकोटेले आङ्छु भनेर धोती बोकायो । फटाहा, आबो त्यो जाँठा नआएम् हुन्छ ।’
‘घाँटी चिल्योे हला, मेथीमा झानिदिङ् ? जिउ दुखेको जाती हुन्छ ।’
‘ह र ? लु ना त ।’
बोतलको बाँकी थोरै घ्यु रक्सी थोरै घ्यु राखेर झ्वाँइ…या पारी डम्बरीले । खोपीमा उसैको पेवा पोथी भर्खरै फुल्न थालेकी थिई । सुटुक्क दुइटा अण्डा झिकेर कन्तीमा डामिवरी भीरखर्केको अगाडि राखिदिई । अनि आफूलाई समेत स्टिलको ग्लासमा रक्सी सारेर भनी– ‘आज बाउ घरमा नभा’को मौकामा मम् पो चाख्नुपरो ।’
‘अलि छेउमा आउना कान्छी, सुट्ठिकै खल्लो भो’– मुखमा अण्डाको लाप्रा चपाउँदै बोल्यो उ ।
‘भो पर्दैना, यहीँ ठीक छ मलाई ।’
‘म त्यहीँ आङ् त ?’
‘नकराङ्नु है, मान्छेले सुन्ला ।’ उठेर ढोकाबाट एकचोटि बाहिरतिर बिस्तारै चियाइवरी बोली– ‘लौ आबो चैं जाडो मनग्गे बढेछ है, तल्लो गैह्राको सिठ्ठी जति सीधै यै घरभित्र थुरिन्छ ।’
तातो रक्सीले रन्थन्याउँदै लगेपछि रित्याइसकेको ग्लास भुइँमै थेचारेर जुरुक्कै उठेको भीरखर्के झन्डै लड्यो । डम्बरीले नसमातेकी भए सीधै अँगेनामा पर्ने ।
त्यतिबेलै जस्केलबाट छिरेको हावाले बत्ती झ्याप्प निभाइदिएपछि एक्कासि अन्धकार छायो । जिउ झट्कारिँदा भर्खरै निलेको रक्सी हल्लिएर सीधै दिमागमा चढिसकेको थियो उसको । निस्लोट अन्धकारबीच जिब्रो लर्बराउँदै सोध्यो– ‘कान्छी, कहाँ छौ तिमी ?’
‘ईंही छु…। कम्पित स्वर दबाएर तातो सासले बोली डम्बरी ।
‘बिंडी तान्नु मन ला’थ्यो, सलाई कहाँ छ ?’
‘था छैना ।’
केही क्षणपश्चात् छामछुम गर्दै अँध्यारैमा दैलो र जस्केल विस्तारै ढप्काई डम्बरीले ।
०००
घाम डुब्न एक टाँगो बाँकी हुँदा सकी–नसकी डम्बरीले दाउराको भारी लिएर आँगनमा घोप्ट्याई । भारी घोप्ट्याउँदा रिँगटा लागेर डोकैसँगै झन्डै ढलेकी थिई ऊ, खोल्माको खाँबो समातेर जबर्जस्ती बची ।
‘ए कुलंघार्नी, त्यो भीरखर्के गधा कहाँ मरिरा’छ ? झट्टै यहाँ मुन्टी भन्…,ओइलेको ओइले घोग्य्राएर ले ।’
आगो भएर अधिल्तिर ठिङ्ग उभिएका भक्तेम्पाले एक्कासि भीरखर्केको नाम लिएर कड्किएपछि डम्बरीको मस्तिष्कमा बाह्र भोल्डको झट्का लाग्यो । उसले बाउलाई ‘किन ?’ भनेर प्रश्न गर्नै सकिन । त्यत्तिकै लाटिएर नाम्लो खेलाउँदै उभिरहेकी थिई, बूढा फेरि तर्सने गरी कराए– ‘सुनिनास् तैँले ? मैले के अह्राएँ ?’
बिरालोको चालमा ऊ बेपत्ता भई । केही क्षणपछिको भयानक विपत्तिसँग मुकाबिला गर्ने साहस क्षीण हुँदै गइरहेको थियो उसमा । खुट्टा थरर्र कमाउँदै, बिजुलीको गतिमा दौडेकी ऊ ठाउँठाउँमा लालक–लुलुक भएर र्पुलुकपुर्लुक ढल्थी । उसले आपतमा थाहै पाइन, स्वयंले कसरी नाँघ्न सकी खोल्साको छाँगा र बारीका कान्लाहरु । यता भक्तेम्पाको पनि आज होस् ठीकमा छैन । कोसित के बोल्दैछु ? हेक्का पनि छैन । डम्बरीलाई झपारेको अलि भरेसम्म मूर्तिवत वाल्ल टोलाइरहेको उसको आँखाको शून्य तलाउमा उभिएर एकछिनपछि हो कि हैन जस्तो धमिलो आकृतिले कमजोर स्वरमा सोध्यो ।
‘मलाई बोलाङ्नुभा’को भेना ?’
कतातिरबाट साइनो घुमेकोले भीरखर्केले पनि बूढालाई भेना भन्थ्यो ।
‘तेरिमाक्ने नर्कबासी ! तेरो गुहे थुत्ना हेर्नुअघि म केना मर्नु सकिनाँ ?’
भीरखर्के घोसेमुन्टो लाएर थचक्क भुइँमा बस्यो । डरले सुरुवाल तुरुक्क भिजायो उसले ।
‘ए डम्बरी, याँ मर्नु आइज ।’
थरर्र काम्दै डम्बरी बाउको छेउमा आई ।
‘टोलभरि हल्ला फिँजिएर खप्नु खानु छैना, सत्य क्याह ? चुँइक्क नढाटि भन् मलाई । के तेरो पेटमा भीरखर्केको…?’
बूढाको वाक्य सकिन नपाउँदै डम्बरी खोल्मातिर फर्केर रुन थाली । उसको आँसुले अरूले लख काटेको रहस्यको पुष्टि गरिरहेको थियो ।
‘ए गधाको जुनि, तँ केना बोल्दैनास् ? सत्य सत्य बक्, कोइलेदेखिको ह तिमरको यो घिनमर्दो चर्तिकला ?’
‘पाँच महिना भोइसको भेना’– थर्थराउँदै मुख खोल्यो भीरखर्केले ।
‘तँ हुच्चिललाई यस्तै मतिले गर्दा नै स्वास्नीले लोपरेर हिँडेको रछ, ओइले आर था भो ।’
अवाक भीरखर्के पुनः भुइँतिर घोप्टियो, यतिखेर उसको हालत असारमा जोत्दा–जोत्दा थाकेको गोरुको जस्तो भएको थियो ।
‘ल भन्, तँ के गर्छस् आबो ?’
‘म कान्छीसित छुट्न सक्दिना भेना हजुर ।’– वर्षां नमाझेको पहेँलो दाँत देखाएर पुलुक्क हे¥यो भीरखर्केले ।
कुनामा दुइटैलाई सतिसराप गर्दै रोइरहेकी भक्तेम्माले छोरीलाई हाप र झाप पारिन्– ‘त्यत्रो पाप बोकेर गोहीको आँसु नझार । ओइले लगेर तँ अगत्तिनीलाई सीधै भीरबाट गुल्ट्याइदिन्छु । कोख्मै तुहेर झर्नु नसकेको साहु ।’
‘तेरो चैँ के विचार छ ए चण्डाल्नी ?’
धेरै कुरा सोचिसकेपछि छोरीको राय सोधे भक्तेम्पाले ।
‘तपाईंहरले जे भन्नुहुन्छ त्यै मान्छु आप्पा’– उसले भीरखर्केसँगै जाने अमूर्त इच्छा प्रकट गरी ।
डम्बरीको मुखबाट निस्किएको आप्पा शब्दले अचानक झस्कायो बूढालाई । अहो, यो बेला पो कठोर मन कसोकसो नौनी झैं पग्लँदै आयो । उनले अलि मत्थर भएर दायाँ–बायाँ हेरीवरी भने ‘आबो जे नहुनुथ्यो भोइ नै सको । लु यसो गर, तिमहरु आजै राती अँध्यारैमा चखिया भन्ज्याङ काटिहाल । भोलि उज्यालो खस्दा निकै टाढो पुगिसक्ने गरी ।’
भीरखर्केले ज्योतिमय नेत्रले डम्बरीलाई हे¥यो । डम्बरीले हर्केलाई रुझेको आँखाले हेरिरहेकी थिई । हर्के भक्तेम्पाको दौरामा लेपिएर ‘म पनि आमासँगै जान्छु नि बाजे’ भन्दै झिज्याउँदै थियो । बूढाले नाति केटोलाई थम्थम्याउँदै भक्तेम्मालाई हे¥यो । भक्तेम्मा भने डम्बरीलाई ‘आइज नानी, तेरो पेवापात के–के छ, सप्पै लिएर जा’ भनेर आँसु पुछ्दै तलातिर उक्लिईन् । फूलको थुङ्गाजस्तै हलुङ्गो भएर आमाको पछि–पछि लागेकी डम्बरीलाई हेर्दै बूढाले पहिलोचोटि जिन्दगीमा पश्चातापको आँसु बगाए– ‘तेसिमा झेक्ने मेरो घमण्ड । धिचुुङ्को फ्याने त उबेला रीतभात लिएरै माग्न आएको । खुरुक्क दिपठाङनुपर्ने र’छ, कम्तिमा आज आएर यस्तो दिन देख्नु ता पर्दैनाथ्यो…।’



