Admission Open

ad place

साहारा राष्ट्रिय विद्यालयको स्पोट्स फेस्ट २०८२ सम्पन्न

लोकन्थली, भक्तपुर: साहारा राष्ट्रिय विद्यालयले हरेक वर्ष आयोजना गर्दै आएको स्पोट्स फेस्ट २०८२ आज सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउँदै शारीरिक, मानसिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको उक्त स्पोट्स फेस्टमा विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो।

स्पोट्स फेस्ट अन्तर्गत फुटबल, क्रिकेट, दौड, टग अफ वार, चेस, ब्याडमिन्टनलगायत विविध खेलहरू समावेश गरिएका थिए। प्रतियोगिताका क्रममा विद्यार्थीहरूबीच उत्साहपूर्ण प्रतिस्पर्धा देखिएको विद्यालयले जनाएको छ। खेलमैदानमा विद्यार्थीहरूको सक्रिय सहभागिता, खेल भावना र अनुशासन प्रशंसनीय रहेको विद्यालय परिवारको भनाइ छ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा विद्यार्थी र अभिभावकबीच क्रिकेट प्रतियोगिता तथा शिक्षक र अभिभावकबीच फुटबल प्रतियोगिता आयोजना गरिएको थियो। प्रतिस्पर्धात्मक र मैत्रीपूर्ण वातावरणमा सम्पन्न ती खेलहरूमा विद्यार्थी टोलीले अभिभावक टोलीलाई पराजित गर्दै विजय हासिल गरेको विद्यालयले जानकारी दिएको छ। यसले विद्यार्थी, शिक्षक र अभिभावकबीच आपसी सम्बन्ध अझ सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी खेलाडीहरूलाई सिल्ड, पदक तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रममा अभिभावकहरू, अतिथिहरू तथा विद्यालय परिवारको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमबारे प्रतिक्रिया दिँदै विद्यालयकी प्रिन्सिपल हेमा नेगीले खेलकुद शिक्षाको अभिन्न अंग भएको बताउँदै भन्नुभयो, “खेलकुदले विद्यार्थीहरूको शारीरिक स्वास्थ्य सुदृढ बनाउनुका साथै मानसिक सन्तुलन, आत्मअनुशासन, नेतृत्व क्षमता र आत्मविश्वास विकासमा महत्वपूर्ण भूमिका खेल्छ। यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूको चौतर्फी विकास सम्भव हुन्छ।”

विद्यालयले आगामी दिनमा पनि यस्ता सिर्जनात्मक तथा खेलकुदमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...