Admission Open

ad place

हस्तरेखा हेर्नेले भनिन्- “दुइटी श्रीमती हुनेछन् !” तर …….

[ ज्योतिषीले “माछा पाल्दा फलिफाप नै फलिफाप हुन्छ” भने। ]

#अमर अधिकारी

मैले दश कक्षासम्म अध्ययन गरेको प्यूठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई एसएलसी परीक्षा दिनका लागि कुनै बखतसम्म प्यूठानकै बागदुला केन्द्रमा जानुपर्दथ्यो। उक्त विद्यालयबाट २०३९ सालको एसएलसी परीक्षा दिएर पचहत्तर प्रतिशत उत्तिर्ण हुनेहरुमध्ये उक्त विद्यालयमा अध्ययन गरेका चालीस प्रतिशतभन्दा बढी परीक्षार्थीहरु रोल्पाको खुंग्रीकै थिए। टेस्टमा सहभागी पैँतिस जनाभन्दा बढीमध्ये बाह्रजना मात्र उत्तिर्ण भएर एसएलसी बोर्ड परीक्षामा सहभागी भएका थियौँ। टेस्ट परीक्षामा सहभागी बाह्र जनामध्ये नौ जना उत्तिर्ण भएका थियौँ। त्यतिबेलासम्म रोल्पा केन्द्रबाट एकदुई जना मात्र उत्तिर्ण हुन्थे। त्यस सालको एसएलसी परीक्षाको नतिजामा हाम्रो व्याचले हाम्रो गाउँको शैक्षिक इतिहासमा पहिलो कीर्तिमान रचेको थियो चारजना उत्तिर्ण भएर। त्यसअघि हाम्रा कान्छा बुवा केशवराज अधिकारी मात्र एसएलसी उत्तिर्ण हुनुभएको थियो। भारतबाट मेट्रिक (एसएलसी सरह) पास गरेका गाउँमा एकजना मात्र हुनुहुन्थ्यो- नरेन्द्र विक्रम शाह। जसले हामी सातकक्षासम्म पढेको रोल्पाको खुंग्रीकै त्रिपुरेश्वरी निमाविमा अंग्रेजी विषय पढाउनुहुन्थ्यो। पछि कोलम्बो प्लान अन्तर्गत रुसमा एमविविएस अध्ययनका लागि काठमाडौँबाट उहाँको घरमा सरकारी पत्र ल्याइँदै गर्दा उहाँ भारतको मुम्बई (तत्कालीन बम्बई) जानुभएकोले विदेशमा डाक्टरी अध्ययनको ठूलो अवसरबाट बञ्चित हुनुपरेको थियो नरेन्द्र सर।

बागदुला केन्द्रमा एसएलसी परीक्षा दिन हलमा प्रवेश गरेपछि अंकल नाता पर्ने नरेन्द्र सुवेदीले आफूले प्रवेश पत्र डेरामा विर्सेको थाहा पाएपछि उहाँ परीक्षा हलको बेञ्चबाट उठेर दौडिदै आफ्नो डेरा रातामाट पुग्नुभयो र प्रवेशपत्र लिएर हस्याङफस्याङ गर्दै फर्किनुभयो। फागुनको हल्का चिसोको महिना भए उहाँ असिनपसिन भएर परीक्षा दिन सिटप्लान अनुसारको बेञ्चमा बस्नुभयो। समय अभावका कारण पहिलो विषय अंग्रेजीको नतिजा बिग्रिने हो कि नरेन्द्र अंकलको भनेर मलाई पनि चिन्ता लाग्नु स्वभाविकै थियो। म एक छेउँमा बसेको बेञ्चको अर्को छेउँमा भने खलङ्गाकी राजलवट थरकी परीक्षार्थी बसेकी थिइन्। उनीसँग परिचयभन्दा बढी बोल्ने अवस्था थिएन, किन कि परीक्षा शुरु हुनेवाला थियो। उनले पाँच-छ पटक मेरो उत्तर पुस्तिका हेर्ने काम गरेकी थिइन्। हाम्रो व्याचभन्दा एक वर्षअगाडि माघ महिनामा एसएलसी परीक्षा हुन्थ्यो भने हाम्रो पालामा फागुनमा हुने व्यवस्था थियो।

सडक विभाग अन्तर्गतको चकचके-रोल्पा सडक आयोजना कार्यालय २०३३।३४ सालतिर हाम्रो गाउँ खुंग्रीमा खडा गरिएको थियो ‘दाह्रीवाल’ भनेर चिनिनुहुने नारायण प्रसाद सुवेदीको घरमा। सो कार्यालयमा कार्यरत धेरैजसो प्राविधिक सेवाका कर्मचारीहरु थिए। ईञ्जिनियर नारायण ढकाल र अर्का एकजना ओभरसियरसँग हामी नजिकिएका थियौँ। आठ कक्षामा पढ्दापढ्दै कक्षाकोठाबाट बोलाएर अंकल नरेन्द्र सुवेदीलाई ती ईञ्जिनियर र ओभरसियरले पोखरा हुँदै काठमाडौँ लैजान बोलाउनुभयो। अंकल टाढाको यात्रामा जानका लागि निस्किएपछि चारबजे उहाँको कापी-किताबको झोला मैले नै घरमा पुर्‍याइदिएको थिएँ। नरेन्द्र अंकल पोखरा-काठमाडौँतिर लागेपछि सो खबर उहाँको आमा-बालाई सुनाइदिएपछि उहाँहरु अचम्ममा पर्नुभयो। काठमाडौँबाट फर्किएपछि हामीहरुले अंकल नरेन्द्रको बोलीचालीको लवज नै फेरिएको पायौँ। एक महिना अवधिमै बोलीचाली नै फेरिएकोमा हामी छक्क पर्यौँ। किन कि हाम्रो भेगका बोलीचालीका शब्दहरु र राजधानी काठमाडौँका शब्दहरु फरक थिए र केही केही अहिले पनि फरक छन्। नरेन्द्र अंकलले काठमाडौँबाट ल्याउनुभएको टाटेपाटे रङको उलन पाइन्ट एकदिन धुँदाधुँदै लुंग्री नदीले बगायो र बेपत्ता भयो, पाइन्ट हेर्दा एकदमै राम्रो खालको थियो। नदीले पाइन्ट बगाएपछि उहाँ हामीसँग रिसाउनु पनि भयो- “मेरो पाइन्ट बग्दासम्म के हेरेको?” भनेर झोँक्किनुभयो। गल्ती भने उहाँकै थियो, हामी त लुंग्रीको छाल किनारामा उभिएर माथि गौचरनमा आआफ्ना गाईहरु चरेको हेरिरहेका थियौँ। नरेन्द्र अंकल नौ कक्षामा पढ्न दाङको डुरुवामा जानुभयो र फेरी दश कक्षामा पढ्नका लागि पहिलेकै विद्यालय अर्थात प्यूठानको भिंग्रीस्थित अमर माविमा भर्ना हुनभयो।

हस्तरेखा हेर्ने माताले भनिन्- ……

एसएलसी परीक्षा दिएको केही हप्तापछि परिवारका एकजना सदस्यसँग प्यूठानको क्वाडीमा बस्ने एक माता रहेको घरमा गएँ। हस्तरेखा हेराउदै जाँदा माताले “एसएलसी परीक्षा पास गर्दाबित्तिकै सरकारो सिंदूर पहिरिन्छौँ, बिहेका लागि केटी खोज्न कतै जानैपर्दैन, खानदानी परिवारका मुख्य सदस्य नै घरमै छोरी दिन्छौँ! भन्न आउनेछन् र जीवनमा दुईवटी श्रीमती हुनेछन्” भनिन्। एसएलसी नतिजापछि आफू द्वीतिय श्रेणीमा उत्तिर्ण भएको जानकारी पाएँ विद्यालय मार्फत। हाम्रो व्याचभन्दा अगाडिसम्म रेडियो नेपालबाट एसएलसी परीक्षाको नतिजा सुनाउने गरिन्थ्यो सिम्बोल नम्बर पढेर। द्वीतिय श्रेणीमा उत्तिर्ण हुनु ठूलो कुरा मानिन्थ्यो हाम्रो पालासम्म अहिलेको विशिष्ठ श्रेणीको मानिए झैँ। एसएलसी नतिजापछि उच्चशिक्षा अध्ययनको सिलसिलामा २०४० साल भदौ ५ गते काठमाडौँ पुगेको एक महिनापछि अर्थात् असोज ९ गतेदेखि कार्य गर्नेगरी मलाई एक सरकारी संस्थानमा जागिर मिल्यो। जागिर शुरु गरेको छ वर्ष नबित्दै आफ्नो परिवारभन्दा पनि खानदानी परिवारका प्रमुख सदस्यबाटै प्रस्ताव आयो विहेका लागि। हुनेवाला ससुराजीले २०४६ जेठको एक दुई गते काठमाडौँको कमलपोखरीस्थित कुमारी मन्दिरनिर मलाई खुसुक्क भन्नुभयो- “मैले कान्छी छोरी बाबुलाई सुम्पिने विचार गरेको छु, के विचार छ?” मेरा पिताजी भने अलि पर उभिनुभएको थियो। ससुराजी र पिताजीको संगत लामो समयसम्म भएका कारण पनि मैले हुनेवाला ससुराजीको प्रस्तावलाई नकार्न सकिनँ। अन्ततः २०४६ जेठ ११ गते हाम्रो विवाह हुने कुराको टुंगो लाग्यो। ९ गतेसम्म पनि म विहेका लागि गाउँमा नपुगेपछि घरमा खैलाबैला मच्चिएछ। आमाले “कुशको प्रतिमासँग विहे गरिदिने” सम्म भन्नुभएको मैले पछि सुनेँ। १० गते घरमा पुगेपछि जन्ती लाग्यो खुंग्रीस्थित हाम्रो घरबाट गजुलतिर। खुंग्रीकोट र गजुलकोट कुनैबखतका बाइसी राज्यका नामले पनि परिचित छन्। घरबाट आधाघन्टा दूरीमा रहेको गोधुङ खेतका फाँटमा खुंग्री राज्यका अन्तिम राजा फत्यप्रचण्ड सिंहसँग गाई चराउन गएको सम्झना अझै ताजै छ मेरो मानसपटलमा। २०४६ सालसम्म फत्यप्रचण्डले राज्यबाट भत्ता पनि लिइरहनुहुन्थ्यो। पञ्चायती व्यवस्था ढलेपछि भने भुरेटाकुरे राजाहरुले पाउँदैआएको भत्ता राज्यबाट कटौती गरियो।

हस्तरेखा हेर्ने माताले भनेका मुख्य कुराहरुमध्ये दुईटा कुरा मिल्यो र दुइटी श्रीमती भनेको चाहीँ अहिले बैसठ्ठी वर्षको उमेरसम्म मिलेको छैन र मिल्नु आवश्यक पनि छैन। माताले मिलाएका र नमिलाएका कुराहरु अरु पनि थिए, जुन कतिपय कुराहरु अहिले सम्झनामा छैनन्। विहे भएको केही वर्षपछि काठमाडौँको पशुपतिमा बस्ने एकजना ज्योतिषीकोमा जाने पारिवारिक सल्लाह भयो। ज्योतिषीले “माछा पाल्दा फलिफाप नै फलिफाप हुन्छ” भने। त्यस्तै अर्का ज्योतिषीले “घर-जग्गाको दलालीको कामले मालमाल हुनुहुन्छ” पनि भने। गाउँमा ज्योतिषी र पण्डित भनेर चिनिनुहुने हाम्रा पिताजीले चिना बनाउने र चिना हेर्ने काम गर्दै आउनुभएको थियो। अहिले नब्बे वर्षको हाराहारीमा रहनुभएको भए तापनि उहाँले सो काम अलिअलि मात्र गर्नुहुन्छ। पशुपति क्षेत्रमा असी प्रतिशत ज्योतिषी नक्कली छन् भन्ने कुरा मैले उहिल्यै सुनेको र पढेको थिएँ। केही हप्ताअघि मैले डिल्लीबजारको ओरालो बाटोछेउँको पेटीमा एकजना ज्योतिषी डङ्ग्रङ्ङ उत्तानो परेर सुतेका थिए, उनको बगलमा एउटा सानो प्लेटमा लेखिएको थियो- ‘ज्योतिष १००।–‘  आफ्नै भविष्य निश्चित नभएका व्यक्तिले अरुको त्रिकाल बारे कसरी थाहा पाउलान् जस्तो लाग्यो मलाई।

पछिल्लो समय ज्योतिषी पेशा राम्रै कमाइ हुने पेशामा गनिन्छ। तर ज्योतिषीहरुले पञ्चाङ्ग समितिको नियमबाहिर गएर कामहरु गरेका कुरा पनि बेलाबेला विवादमा आउने गर्छन्। कोहीकोही ज्यतिषीले तान्त्रिक विधि प्रयोगमा बढी जोड दिनेगरेको पनि पाइन्छ। एकजना भारतीय ज्योतिषी जसले आफ्नो पुस्तकमा झुठा कुराहरु उल्लेख गरेका थिए र एक पुस्तक गलत तरिकाबाट लेखेका थिए। उनले स्त्रीलाई पुरुषमा र पुरुषलाई स्त्रीमा परिवर्तन गर्ने मन्त्र समेत रचेका थिए, सो मन्त्र यो लेखकसँग सुरक्षित छ। उनी साढे दुई दशकअघि बितिसके पनि उनलाई भगवान तुल्याउन उनका छोराहरु भारत र नेपालमा सक्रिय रहेका छन्, उनका आश्रमहरुमा फस्नेहरु धेरै छन्। सिद्धि प्राप्तिको चक्करमा धेरै सर्वसाधारणहरु अलमलिएका छन्। धर्मको नाममा मनग्यै कमाइ गर्ने बाबा-गुरुहरु भारतमा मात्र नभएर पछिल्लो समय नेपालमा पनि सक्रिय छन्।

कुनै एकजना ज्योतिषीले एउटा कुरा मिलाएपछि उनको चर्चाले व्यापकता पाउँछ, उनले नमिलाएका कुराहरुतर्फ ध्यान जाँदैन। पछिल्लो समय ज्योतिषीहरु सामाजिक सञ्जालहरुबाट पनि सेवा दिनेगरेको पाइन्छ। बेला बखत कोहीकोही ज्योतिषी विवादमा पनि तानिन्छन् र कानूनी दायरामा आउने गरेको पाइन्छ। राजनीतिज्ञहरु पनि ज्योतिषीको भर पर्ने गरेका कुराहरु समाचार माध्यमहरुबाट प्रकाशमा आइसकेका छन्। केहि वर्षअघि एकजना ज्योतिषीले एक वरिष्ठ नेतालाई “सातपटक प्रधानमन्त्री हुनेछौ” सम्म भनेका थिए, जुन कुरा मिल्ने सम्भावना छैन। वरिष्ठ नेताहरु साधु-सन्तकोमा गएर आशीर्वाद माग्ने गरेको पनि पाइन्छ। बामपन्थी नेताहरु समेत विवादित बाबासँग आशीर्वाद लिन गएको र रुद्राक्ष माला लगाएर फोटो खिचाएका कुराहरु पनि समाचारमा नआएको होइन। भारतमा विवादित कतिपय बाबा-सन्त-गुरुहरु कारागारमा भए तापनि यता नेपालमा भने उनीहरुको जयजयकार भैरहेको पाइन्छ। हत्या र बलात्कारको आरोप लागेका नेपालका विवादित सन्त वा गुरुलाई भने झिनो धरौटीमा उन्मुक्ति दिने गरेको पाइन्छ। यसको अर्थ धर्मको नाममा फेरी अपराध गर भन्न खोजेको आभास मिल्छ। पछिल्लो समय धेरै कमाइ हुने तरिका नै धर्मको नाममा व्यापार रहेको देखिन्छ। आध्यात्मिक संस्था भनेर स्थापना भएका कतिपय संस्थाहरुले भित्रभित्रै व्यापार गरिरहेको र नाफामूलक काम गरिरहेको देखिने गरेको पनि छ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...