
काठमाडौं : बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१, कुश्मीसेराका हरिनारायण शर्माले थाइल्यान्डको बैंककमा हालै सम्पन्न दोस्रो पेटांक ट्रान्सप्लान्ट एसियन ओपन च्याम्पियनसिप–२०२६ मा एक स्वर्ण र एक रजत पदक जित्दै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा गौरवान्वित बनाउनुभएको छ ।
शर्माले पुरुष सिंगल्स (नेशन्स ग्रुप) अन्तर्गत स्वर्ण पदक तथा मिक्स डबल्स (नेशन्स ग्रुप) मा रजत पदक जित्न सफल हुनुभएको हो । उक्त प्रतियोगितामा नेपालसहित अस्ट्रेलिया, भुटान, चीन, हङकङ, हंगेरी, भारत, मलेसिया र थाइल्यान्ड गरी ९ देशका ८५ जना ट्रान्सप्लान्ट खेलाडीहरूको सहभागिता रहेको थियो ।
मिर्गौला प्रत्यारोपण गराएका शर्मा नेपाल प्रत्यारोपण खेलकुद संघका महासचिव हुनुहुन्छ तथा World Transplant Games Federation मा नेपालको तर्फबाट टिम म्यानेजरको रूपमा कार्यरत हुनुहुन्छ । उहाँले सन् २००७ मा मिर्गौला प्रत्यारोपण गराउनुभएको थियो र त्यसयता अंगदान तथा प्रत्यारोपणसम्बन्धी जनचेतना अभियानमा सक्रिय रूपमा योगदान दिँदै आउनुभएको छ ।
यस ऐतिहासिक उपलब्धिपछि शर्माले आफूलाई दोस्रो जीवन प्रदान गर्ने अंगदाताप्रति विशेष आभार व्यक्त गर्नुभएको छ । साथै यस यात्रालाई सम्भव बनाउने सम्पूर्ण डाक्टर तथा स्वास्थ्यकर्मीप्रति पनि उहाँले हार्दिक सम्मान र कृतज्ञता प्रकट गर्नुभएको छ । शर्माले भन्नुभयो, “कसैले गरेको अंगदानकै कारण आज म बाँच्न, सपना देख्न, समाजसेवा गर्न र मिर्गौला प्रत्यारोपणपछि पनि अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई प्रतिनिधित्व गर्न सक्षम भएको छु।”
उहाँको यो सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सम्पूर्ण ट्रान्सप्लान्ट प्राप्तकर्ता, अंगदाता परिवार, प्रत्यारोपणको प्रतीक्षामा रहेका बिरामी तथा जीवनको दोस्रो अवसरमा विश्वास गर्ने सबैका लागि प्रेरणाको स्रोत बनेको छ । यस उपलब्धिले अंगदानले नयाँ जीवन दिन सक्छ र प्रत्यारोपणपछि पनि स्वस्थ, सक्रिय तथा सकारात्मक जीवन जिउन सकिन्छ भन्ने सशक्त सन्देश दिएको छ ।
हरिनारायण शर्माले सबैलाई अंगदानसम्बन्धी जनचेतना फैलाउन तथा “अंगदान—जीवनदान” भन्ने मानवीय अभियानलाई थप सशक्त बनाउन आग्रह गर्नुभएको छ ।


