#गंगा खतिवडा
(लेखक तथा महिला अधिकारकर्मी)
पछिल्लो समय साहित्य तथा लेखन क्षेत्रमा चर्चित नाम हो– अमर अधिकारी । उनको दिनमा ३।४ वटा लेखरचनाहरु प्रकाशन भएको इतिहास छ । पछिल्ला दिनहरुमा उनले कैयन साहित्यिक कार्यक्रमहरुमा देशमा व्याप्त विकृति, विसंगति चिर्ने गरी र तालीको गडगडाहट गुञ्जिने गरी मुक्तक वाचन गर्दै आइरहेका छन् । कुनै न कुनै कार्यक्रमहरुमा उनले व्यङ्ग्य गीत वा कविता वा मुक्तक वाचन गर्दैआएका छन् । व्यङ्ग्य गीत वा कविताको तुलनामा उनले मुक्तक बढी नै पस्किने गर्छन् कार्यक्रमहरुमा । साहित्यतर्फ गजल र हाइकु बाहेक सबै विधामा रचना गर्न सक्षम छन् भने लेखहरुतर्फ बहुविषयका लेखहरु लेख्न योग्य देखिन्छन । मुलुकको अवस्थाका बारेमा धेरै जानकारी हुने थोरै लेखकहरुमा उनी पर्छन् र लेख्छन् निडरका साथ । उनका लेखहरुका कारण राष्ट्रियस्तरमा सुधारका कामहरु पनि भएकै देखिन्छन् । उनको एउटा लेख सर्वाधिक लोकप्रिय भैसकेको छ ।
‘बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र’ शीर्षकको उक्त लेख एक मिडियामा प्रकाशित भएपछि इलामदेखि डडेलधुरासम्मका तमाम मिडियाहरुले साभार गरेर प्रकाशन गरिसकेका छन् र प्रकाशन भएको एकवर्ष बितिसक्दा पनि उक्त लेख पाठकहरुबाट सेयर हुँदैआएको पाइएको छ । व्यस्तताका कारण खस्कदै गएको अभिभावकत्व र बालबालिकाले जान्नैपर्ने संस्कारयुक्त आनीबानीमा स्थायित्व रहोस् भन्ने हेतुले उनका लेखकीय सन्देशहरु विद्यालयका सूचना पाटीमा टाँसिनुका साथै उनका कविताहरुले मन्टेश्वरीका कलिला नानीहरुको संगीतका माध्यम बनेर गुञ्जिरहेका हुन्छन् । उनको रचनाको एउटा गीत बजारमा आइसकेको छ ।
रोल्पाको खुंग्रीमा वि. सं. २०२१ असारमा जन्मिएका उनले देशका दुईदर्जनभन्दा बढी मिडियामा स्थान पाउने त छँदैछ, अमर अधिकारी अर्थात् अमर कीर्तिमानी एक संघर्षशील सर्जकका रुपमा पनि परिचित छन् । उनका गुम्सिएर रहेका साहित्य सिर्जनाले वि. सं. २०७९ असारमा सरकारी सेवाबाट अवकाश पश्चात् स्वतन्त्र हुने अवसर प्राप्त गरेका हुन् । यसैबीचमा एउटा गीत समेत रेकर्ड गराएर संगितको क्षेत्रमा पनि ढोका खोलिसकेका छन् उनले । २०८० सालमा उनले आत्मकथासङ्ग्रह ‘ओगिल्जा’ जन्माउन सफल भए भने लगत्तै ‘रापतीका अलग शब्दहरु’ पनि प्रकाशित भइसकेको छ । छोटो अवधिमा चर्चा बटुल्ने सर्जकको रुपमा स्थापित उनी सावर्जनिकस्थल र मञ्चहरुमा देशका विद्यमान प्रशासनिक, राजनीतिक, सामाजिक कुरीति, बेथिति र भ्रष्टाचारका विरुद्धमा खुलेर बोल्नसक्ने एक स्वच्छन्दवादी व्यक्तित्व भन्दा न्याय नै हुन्छ उनको प्रवृत्तिमाथि । ३९ वर्ष सरकारी सेवामा रहँदा कलम मात्र चलाउने उनी हालका दिनहरुमा आफ्ना आवाजहरुलाई बुलन्द पार्दै आइरहेका छन् जनताको पहरेदार भए झैँ गरी । दैनिक व्यायाम र शाकाहार भोजनका कारणले ६२ वर्षको उमेरमा पनि जोश, जाँगर र बाह्य व्यक्तित्वमा पनि युवा झैँ देखिन्छन् ।
सम्पत्ति नभए पनि रमाउने एक उदाहरणीय व्यक्तिको नाम लिनुपर्दा पनि अमरको नाम लिएमा फरक पर्दैन, उनी सम्पत्तिलाई बोझ ठान्छन् । भन्छन्– “पुग्ने सम्पत्ति भए भैगो नि ! आवश्यकताभन्दा बढी सम्पत्तिले अनावश्यक तनाव र रोगले डेरा जमाउँछ ।“ उनी मालपोतमा हाकिम भएर काम गर्दा समेत एक टुक्रा पनि जग्गा जोड्ने लालसा बोकेनन् । मालपोतमा केही महिना बिताएर त्यहीँकै कुर्सीलाई लात मारेर अन्यत्र सरुवा भएर नेपालको कुशासनलाई चुनौति दिने सच्चा राष्ट्रसेवकको कमी महसुस भएको आजको सन्दर्भमा उनी अपवादभित्र पर्छन् । काठमाडौँको बसाइका क्रममा जन्मथलोमा रहेको पिच बाटोले छोएको हाइवेको जग्गा बेच्दै काठमाडौमा बासस्थानको व्यवस्था गरेको कुरा उनकै आत्मवृतान्त ’ओगिल्जा’ मा र कैयन मिडियाबाट प्रकाशित लेख तथा समाचारमा पढ्न सकिन्छ । दिनहुँजसो उनका लेख–रचनाहरुले सञ्चार माध्यमहरुमा स्थान प्राप्त गरेको देख्दा उनको वर्षौदेखि भण्डारण भएको अभिलेखालयबाट लेखन क्षमताको निकासको बाटो भर्खर प्राप्त गरेको महसुस हुन्छ । व्यक्तिगत भोगाइ अनुभव मात्र नभएर सामाजिक, सांस्कृतिक, आर्थिक, रानीतिक, प्रशासनिक सबै क्षेत्रमा कलम उत्तिकै सशक्त चलेको देखिन्छ उनको ।
काँठक्षेत्रले माया गरेको एक रोल्पालीः
अमरको जीवनीमा आधारित पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ काठमाडौँको काँठक्षेत्रमा पर्ने जितपुरफेँदीमा जन्मिएका डा. घनश्याम पुडासैनीबाट लेखिनु एक महत्वपूर्ण विषय बनेको छ । ग्रामीण आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत रहेका पुडासैनी आफू पनि साहित्यिक व्यक्तित्व र लामो समय प्रशासन र अध्यापन क्षेत्रमा बिताउनुभएका कारण रोल्पालीको पुस्तक जन्मियो काँठक्षेत्रका एक विद्वान सर्जकबाट । काँठक्षेत्र कीर्तिपुरमा जन्मिएका र हाल अमेरिकाको ओरेगनमा बसोबास गर्ने भरत बाँसकोटाले लेखनको गति अझै बढ्दैजाओस् भन्ने हेतुले स्रष्टा अमरलाई प्रदान गर्ने भनी अमेरिकाको ओरेगनबाट ‘स्वर्णाभ कलम’ दिएर उनको लेखन कार्यलाई उत्साह दिनुभएको छ । अमर र ’स्वर्णाभ कलम’ का विषयमा सञ्चार माध्यमहरुबाट महत्वका साथ समाचार समेत आइसकेको छ । तीन विषयमा स्नातकोत्तर गर्नुभएका बाँसकोटाले नेपालबाट दुई विषय र नेदरल्याण्डबाट एक विषयमा स्नातकोत्तर गर्नुभएको छ । बाँसकोटा कीर्तिपुर मा.वि. मा सधै प्रथम हुने उत्कृष्ट छात्र हुनुहुन्थ्यो ।
अमरको चर्चित पुस्तक ‘ओगिल्जा’ मा भूमिका लेखिदिने प्राज्ञ पनि काँठक्षेत्रकै हुनुहुन्छ । प्राज्ञ वियोगी बुढाथोकीले बडो मिठासपूर्वक भूमिका लेखिदिनुभएको छ ’ओगिल्जा’ मा । मनमैजू सांस्कृतिक केन्द्रमा ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ नामक पुस्तक विमोचन हुँदा त्यहाँ काँठक्षेत्रकै गन्यमान्य व्यक्तिहरुको उपस्थिति थियो भने कार्यक्रममा काँठक्षेत्रकै अर्का विद्वान व्यक्तित्व डा. दामोदर पुडासैनीले अमरको यथेष्ट मात्रामा प्रसंशा गर्नुभएको थियो । बुढानिलकण्ठको गणेश माध्यमिक विद्यालयको हलमा अमरको सम्मानमा आयोजित कार्यक्रममा विद्यालयकै प्राचार्य मीमकाजी श्रेष्ठले भरपूर सहयोग गर्नुभएको थियो । श्रेष्ठ पनि काँठक्षेत्रकै वौद्धिक व्यक्तित्व हुनुहुन्छ । यसरी काँठक्षेत्रबाट अमरले भरपूर माया स्नेह प्राप्त गरेकोलाई अनौठो मान्नुपर्छ, किन कि काँठक्षेत्रका मान्छेले काठमाडौँ उपत्यका वाहिरकालाई देखि नसहने प्रवृत्ति छ । म पनि काँठमै जन्मिएकी र काँठमै बसोबास गर्ने एक शुभचिन्तकको नाताले उनलाई राम्ररी चिन्दछु ।
अमरको कलमबाट सृजना हुने व्यङ्ग्यशैली पनि गजबको छ । उनले रचना गरेका व्यङ्ग्यलेखहरुले देशको वर्तमान अवस्था उजागर गरिदिन्छ । समाज सुधारात्मक लेखको प्रभावकारीताले कति ठाउँमा काम गरेको देख्दा कलमको शक्तिको मूल्य हुने कुरामा विश्वास गर्छन् उनी । पारिश्रमिक सहितका लेख–रचना प्रकाशनले लेख्नलाई अझ हौसाएको हो कि जस्तो लाग्छ रे ! एकैछिनमा लेखहरु तयार गर्नसक्ने अद्भूत क्षमता गजबको लाग्छ, उनलाई एक जादूगर लेखक भन्दा पनि अत्युक्ति नहोला । सरकार वा कुनै संस्थाको चाकरीवाजमा नलाग्ने उनी “शुभचिन्तकहरुको राम्रै माया र सद्भाव पाएको छु, त्यसैमा सन्तुष्ट छु” भन्छन् । थप्छन्– “साहित्य पनि चाकरी, पावर र पैसामा लिलाम बिक्री भइरहेको देख्दा बाँकी केही रहेन बिक्नलाई भनेर दुःख लाग्छ, सम्मान–पुरस्कारको लागि पनि चलखेल सुरु भएको छ, योग्यता र क्षमताको कदर हुनछाडेको छ, यो समग्र राष्ट्रकै लागि दयनीय विषय हो।”
उनको पुस्तक ‘ओगिल्जा’ मोबाइलमा कोरिएको नेपालको पहिलो पुस्तक बनेको छ । प्रकाशन भएको छ महिनामै सकिएको छ । कसैकसैले उनलाई ‘ओगिल्जा सर’ भनेर पनि बोलाउँछन्, जुन उनको एउटा ट्रेडमार्क बनेको छ । उनको अर्को पहिचान हो नेपाली पोशाकमा खिचिएको तस्वीर । उनको पहिलो लेखले सिंहदरबारभित्रै परिवर्तनकारी काम गरेको थियो । लेखको शीर्षक थियो– ‘सिंहदरबारको सुरक्षामाथि सधै प्रश्न!’ उक्त लेख प्रकाशन भएको भोलिपल्टै सिंहदरबारभित्र सुरक्षा सम्बन्धमा ठाउँठाउँमा सुचना पाटीहरु ठड्याइएका थिए, त्यो सुधार देखेपछि उनी दङ्ग पर्दै घर फर्किएछन् । गृहजिल्ला वाहेकका तमाम जिल्लाबाट उनले सम्मान पाउँदा आफ्नो जिल्लाले भने एक पुरस्कारका लागि सिफारिस गरेको थियो ।
उनका एक मात्र छोरा डा. सरित अधिकारी ‘सलिल’ संयुक्त राज्य अमेरिकाको फिलाडेल्फियास्थित टेम्पल युनिभर्सिटीमा वैज्ञानिकको रुपमा अध्ययन र अनुसन्धानमा संलग्न छन् । उनी विद्यावारिधि (पिएचडि) सकेर महाविद्यावारिधि सक्ने क्रममा छन् । वैज्ञानिकका पिता भएर पनि अमरमा कुनै किसिमको अहंकार देखिदैन । निश्चल मन अनि सहयोगी भावना उनका थप विशेषता हुन् । पुस्तकमा अंकित, वर्णित र चित्रित पहिलो रोल्पाली हुन् उनी, उनी रोल्पाको ऐतिहासिक व्यक्तित्व हुन् । लोकसेवा आयोगका पूर्व सहसचिव अर्जुनमणि दीक्षितले उनलाई ‘ब्राण्ड एम्बेसडर अफ रोल्पा’ को उपाधि दिइसक्नुभएको छ । अमरले ‘सुपर राइटर’ लगायतका थप उपाधिहरु, ‘प्रेमनारायण–सावित्रा–हेमकुमारी प्रज्ञा पुरस्कार’ लगायतका पुरस्कारहरु र विभिन्न सम्मानपत्रहरु र आदरपत्रहरु प्राप्त गरिसकेका छन् । जन्मथलो रोल्पाको खुंग्रीमा ‘त्रिपुरा पुस्तकालय’ स्थापना गर्ने योजनामा रहेका अमरलाई तमाम साहित्यिक संस्था तथा कैयन प्राज्ञहरुबाट सयौँ पुस्तकहरु प्राप्त भैसकेका छन् । उनी भन्छन्– “पैसा सबै थोक होइन, कम्तिमा एउटा कृति प्रकाशन गर्न सकियो भने त्यो नै ठूलो सम्पत्ति हुनेछ, कृति एकप्रकारको सन्तान पनि हो ।”
(लेखक तथा साहित्यकार अमर अधिकारीसँगको कुराकानीमा आधारित)