रोल्पा: उच्चशिक्षा अध्ययनको माथिल्लो तह विद्यावारिधि अर्थात् पिएचडि हो भनिए पनि त्यसमाथि पोस्ट-पिएचडि पनि रहेको छ। विद्यावारिधि जो कोहीले सजिलै गर्नसक्ने शैक्षिक तह वा श्रेणी होइन। स्वदेश तथा विदेशबाट विद्यावारिधि गर्ने रोल्पालीहरुको संख्या बढ्दो छ।
विद्यावारिधि गर्ने रोल्पालीहरुमध्ये अहिलेसम्म खुंग्री गाउँमा जन्मिएका मात्र चारजनाको नाम जानकारीमा आएको छ। जुन गाउँलाई कुनै बखतसम्म शिक्षामा पछाडि छ भनिन्थ्यो। तत्कालीन खुंग्री पञ्चायतको महेन्द्रीमा जन्मिनुभएका डा. शिवकुमार सुवेदी पहिलो खुंग्रेली पिएचडि हुनुहुन्छ। वहाँले ‘दाङका सांस्कृतिक सम्पदा’ विषयमा विद्यावारिधि गर्नुभएको हो।
दोस्रोमा डा. बलभद्र अधिकारी हुनुहुन्छ । बलभद्रले ‘द फण्डामेन्टल्स अफ डिजिटल मार्केटिङ’ विषयमा भारतको पश्चिम बंगालबाट विद्यावारिधि गर्नुभएको हो।
त्यस्तै खुंग्रीको महेन्द्रीका डा. मन्दिप सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट ‘जियोटेक्निकल ईञ्जिनियरिङ’ विषयमा विद्यावारिधि गरिसक्नुभएको छ। हालै संयुक्त राज्य अमेरिकाको सिकागो सहरस्थित युआइसिबाट पिएचडि गर्ने खुंग्रीको धारापानीका सरित अधिकारी ‘सलिल’ हुनुहुन्छ। वहाँले हालै मात्र कम्प्युटर विषयअन्तर्रगत ‘आर्टिफिसियल इन्टेलिजेन्स’ उपविषयमा विद्यावारिधि गर्नुभएको हो। उहाँले अमेरिकाकै पेन्सिलभेनियास्थित टेम्पल युनिभर्सिटीबाट पोस्ट-पिएचडि समेत गर्दै हुनुहुन्छ। ‘सलिल’ चर्चित तथा कीर्तिमानी लेखक तथा साहित्यकार अमर अधिकारीका एक मात्र सुपुत्र हुनुहुन्छ।
कुनैवखत रोल्पा तत्कालीन राप्ती अञ्चलभरिमा सबैभन्दा अशिक्षित जिल्लामा गनिन्थ्यो। समयले कोल्टे फेरेसँगै रोल्पामा पनि वुद्धिजीवि, लेखक तथा साहित्यकारहरुको संख्यामा पनि वृद्धि हुँदैगएको पाइन्छ। साहित्यतर्फ पनि देश विदेशमा रहनुभएका रोल्पालीहरुले कलम चलाइराख्नुभएको छ । यस अर्थमा रोल्पा शिक्षाको हिसावले अगाडि बढ्दै गरेको देखिन्छ।
लोकसेवा परीक्षा उत्तिर्ण गरेर निजामती सेवामा प्रवेश गर्ने साविक राप्ती अञ्चलका पाँच जिल्लामध्ये रोल्पा अझै पनि कमजोरमै गनिन्छ। रोल्पाको साविक खुंग्री पञ्चायतअन्तर्गत महेन्द्रीमा जन्मिनुभएका भरतमणि सुवेदी निजामती सेवातर्फको विशिष्ठ श्रेणीमा पुग्ने पहिलो ब्यक्ति हुनुहुन्छ भने जंगी सेवातर्फ सबैभन्दा उच्चपदमा पुग्ने गजुलका हुतराज थापाको नाम आउँछ। सुवेदी विभिन्न मन्त्रालय र आयोगमा सचिवको रुपमा कार्य गरिसक्नुभएको छ। साविक घोडागाउँ गाविस अन्तर्गतको थुम्पाकीका रेग बहादुर भण्डारी लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो रजिष्ट्रार हुनुहुन्छ।
रोल्पामा जन्मिएर निजामती सेवातर्फ रा.प.प्रथम श्रेणी (सहसचिव) मा पुग्नेको संख्या चार पुगिसकेको छ।