Admission Open

नेपाल टेलिकमले शुरु गर्यो निःशुल्क ई-सिम वितरण

[ पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने ]

काठमाडौं : नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट शुक्रबार (२०७९ भाद्र ३१) देखि कम्पनीका ग्राहकहरुलाई निःशुल्क ई-सिम (e-SIM : embedded SIM Card) वितरण प्रारम्भ गर्ने भएको छ ।

ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्नेछन् । हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिनेछ ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइनेछ । ई–सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिलेदेखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्नेछ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात् इलेक्ट्रोनिक (embedded) सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिकरुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डाटा चलाउनेलगायतका विभिन्न कार्य गर्न सकिन्छ ।

ई–सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन । मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस (Wearable Device) हरुमा समेत प्रयोग गर्न सकिन्छ ।  हालका सबै प्रयोगकर्ताले समेत ई–सिम प्रयोग गर्न सक्नेछन् भने नयाँ प्रयोगकर्ताले पनि सहज तरिकाले ई–सिम लिन सकिने प्रवक्ता शोभन अधिकारीले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...