Admission Open

नेप्सेमा उछाल, उच्च अंकको वृद्धि : पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ४९.१९ अंकले वृद्धि भई दुई हजार ८३४.१३ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.३४ अंकले बढेर ५२८.८७ मा पुगेको छ । कारोबार भएकामध्ये मंगलबार १ सय ७० कम्पनीको शेयर उकालो लागेको छ भने १९ कम्पनीको शेयर ओरालो लाग्दा एक कम्पनीको शेयर मूल्यमा भने कुनै उतारचढाव आएन ।

कूल एक करोड १९ लाख ७० हजार २ सय १५ कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १ सय ९७ रुपैयाँमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण ४० खर्ब तीन अर्ब ७६ करोड ५८ लाख ४२ हजार २७ रुपैयाँ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा आज पनि अपि पावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको १६ करोड ८३ लाख २२ हजार ६ सय ९५ रुपैयाँ बराबरको कारोबार भयो ।

यस्तै, गुर्खाज फाइनान्स १६ करोड २६ करोड ७२ लाख ६ सय २४ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १५ करोड ६४ लाख तीन हजार ७ सय ७९ रुपैयाँ, नेपाल दूरसञ्चार कम्पनी १३ करोड ८२ लाख ५२ हजार ५ सय ६५ रुपैयाँ र नेपाल पुनरबीमा कम्पनी ११ करोड ५९ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

पाँच कम्पनीको शेयरमा सर्किट

नेप्सेका अनुसार आज विभिन्न पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । सिभिल लघुवित्त ९.९२ र न्यादी हाइड्रोपावरका लगानीकर्ताले ९.७९ प्रतिशतले कमाए ।

यसैगरी, माउण्टेन इनर्जी नेपाल ३.५२, नेपाल एसबिआई बैंक २.०१, शिवम् सिमेन्ट १.४९ र एनएमबी ५० का लगानीकर्ताले १.३१ र रुरु जलविद्युत् परियोजनाका शेयरधनीले १.२५ प्रतिशतले गुमाए । (रासस)

टिप्पणिहरु
Loading...