Admission Open

ad place

खानेपानीको हाहाकार : वीरगञ्जमा खानेपानीको सङ्कट गहिरिँदै

[ भूमिगत पानीको उच्च दोहनकै कारणले पानीको सतह घट्दै ]

वीरगञ्ज (पर्सा) : कैफुल हुँदा मियाँ ५० वर्षदेखि वीरगञ्ज महानगरपालिका–१२ मुर्ली नयाँटोलमा बसोबास गर्दा कहिल्यै पनि खानेपानीको समस्या भोग्नु परेन् । तर, दुई वर्षयता उनको घरसँगै रहेको चापाकलमा पानी सुकेसँगै अचम्म लागेको छ ।

“म नौ वर्षको उमेरदेखि वीरगञ्जमा बसोबास गर्दै आइरहेको छु । ५० वर्षे अवधिमा यहाँ कहिल्यै पनि खानेपानीको अभाव महसुस गर्नु परेन”, विगत स्मरण गर्दै उनको भनाई यस्तो छ, “गत वर्ष हिउँदेयाममा चापाकल सुकेपछि जेनतेन गुजारा चलाएँ तर यो वर्ष पनि चापाकल सुकेपछि खानेपानी कार्यालयबाट नयाँ धारा जडान नगरी धरै पाइएन ।”

वीरगञ्ज महानगरबासीले दुई वर्षयता चैतदेखि असारसम्मको अवधिमा आफ्नो घर प्राङ्गणमा खनेको चापाकल सुकेसँगै खानेपानीको हाहाकार महसुस गर्दै आइरहेका छन् । घर–घरमा चापाकलको पानी सुकेसँगै पछिल्लो समय नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जमा खानेपानीको नयाँ लाइन जडान गर्नेको भीडभाड नै लाग्न थालेको छ । कार्यालयमा दैनिक ५० देखि एक सयको हाराहारीमा चापाकल सुकेर नयाँ धारा जडान गर्न भन्दै आउने गरेका छन् । वीरगञ्ज महानगरमा चापाकल सुकेर खानेपानीको समस्या भोग्ने मियाँ एक्ला होइनन् । महानगरमा उहाँ जस्तै खानेपानीको समस्या भोग्ने चोक–चोकमा भेटिन्छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० बजरंगटोलका गम्भिरा गिरी पनि आफ्नो चापाकल सुकेसँगै नयाँ धारा जडानको निवेदनसहित खानेपानी सस्थानको कार्यालयमा निवेदन लिएर आइन् । “हामीले पहिला खानेपानीको यस्ता समस्या भोगेकै थिएनौ । एक्कासी दुई वर्षदेखि चैतदेखि असारसम्मको अवधिमा चापाकल सुक्ने समस्या देखिदैँ आइरहेको छ”, उनले भनिन्, “खोई, जमिनमुनिको पानीको सतह घटेरै होला त चापाकलको पानी सुकेको होला नि ।”

उनको अनुभवमा पछिल्ला वर्षमा तराई–मधेसमा चर्काे गर्मी बढेसँगै खानेपानीको समस्या देखिन थालेको हो । “यहाँका बुढापाकाको कुरा सुन्दा कहिल्यै पनि पानीको अभाव भएको सुनेका थिएनौँ । चापाकलको पानी सुकेसँगै पिउनका लागि, सरसफाइ र शौचालय जाने पानीको समेत अभाव हँुदै आइरहेको छ”, उनले थपिन्, “पानी नहुने हो भने त सबैकुरा लथालिङ्ग हुने रहेछ ।”

वीरगञ्ज महानगरवासी राकेश सिंहले पनि चापाकल सुकेसँगै शिव मन्दिरसँगै रहेको सार्वजनिक धाराको पानी उपयोग गरेर गुजारा चलाउँदै आइरहेको बताए । “अहिले त मेरो आधा काम नै पानी बोक्ने जस्तो भइसक्यो”, उनले भने, “अब खानेपानीको धारा जोडेर नै अघि बढ्नुपर्ला जस्तो छ ।” वीरगञ्ज महानगरमा विशेषगरेर वडा नम्बर १ बजार छपकैयाँ, वडा नम्बर २ छपकैया, वडा नम्बर १२ मुर्ली, वडा नम्बर १० आर्दशनगर, वडा नम्बर १५ लक्ष्मणवा, वडा नम्बर १६ नगवा, इनर्वालगायतका सबैजसो वडामा खानेपानीको चर्काे समस्या छ ।

वीरगञ्ज महानगरपालिका वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राकेश साहले वीरगञ्ज महानगरको ग्रमिणभन्दा पनि सहरी क्षेत्रमा हिउँदेयामको केही महिना खानेपानीको अभाव हुने गरेको बताउँछन् । “सुक्यायाममा चुरे क्षेत्रमा जमिनमुनि पानीको रिचार्ज कम हुने गर्छ । त्यसले गर्दा हरेक वर्ष हिउँदयाममा भूमिगत पानीको सतह घट्दै गइरहेको छ”, उनले भने, “पहिला–पहिला त चापाकल खासै सुक्दैन्थे तर, अहिले भने चापाकलमा पानी सुक्ने गरेको छ ।”

महाशाखा प्रमुख साहले आफ्नो प्रारम्भिक अध्ययनले वीरगञ्जको भूमिगत पानीको सतह घट्दै गइरहेको बताउँछन् । “मैलै भूमिगत पानीको सतहको गत वर्ष र चालु आवको तुलनात्मक रुपमा केही अध्ययन गरेको थिए । सो अध्ययनले गत वर्षको तुलनामा चालु आवमा भूमिगत पानीको स्रोत क्रमशः घट्दै गइरहेको देखिन्छ”, उनले भने, “प्रारम्भिक खालको अध्ययनले गत वर्षको तुलनामा चालु आवमा दुई–तीन फिट पानीको सतह घटेको देखियो ।” उनले महानगरले खानेपानीको समस्या सम्बोधन गर्नका लागि विभिन्न सार्वजनिक स्थानमा बोरिङ खनेर पानी वितरण गर्दै आइरहेको बताए ।

नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जका वितरण शाखा प्रमुख सञ्जीवकुमार यादवले वीरगञ्ज महानगरबासीको चापाकल सुकेसँगै खानेपानी कार्यालयमा नयाँ धारा जडानका लागि आउनेको सङ्ख्या बढिरहेको बताए । “चुरे क्षेत्रको विनाशकै कारणले पनि वीरगञ्ज आसपास क्षेत्रको भूमिगत पानीको सतह घट्दै गइरहेकाले पनि खानेपानीको विकराल समस्या देखिएको हो”, उनले भने, “गत आवको अन्त्यसम्म वीरगञ्ज महानगर क्षेत्रमा ८४ सय मात्रै खानेपानीका ग्राहक थिए । हिउँदेयाममा चापाकल सुकेसँगै यो वर्ष मात्रै २४ सयभन्दा धेरै ग्राहक थपिएका छन् ।” कार्यालयका अनुसार अहिले कुल ग्राहक संख्या १० हजार ८ सय रहेका छन् ।

कार्यालयका अनुसार वीरगञ्ज क्षेत्रको खानेपानीको मुख्य स्रोत नै भूमिगत पानी नै हो । अन्य पहाडी जिल्लामा जस्तो यहाँ कुनै नदीबाट पानी ल्याएर वितरण गर्ने गरिदैँन । खानेपानी संस्थानसँग दैनिक एक करोड ६८ लाख लिटर खानेपानी उत्पादन गर्ने क्षमता रहेको छ । सो क्षमतामध्ये अहिले वीरगञ्ज महानगर क्षेत्रमा एक करोड १५ लाख ५० हजार लिटर पानीको दैनिक माग रहेको छ तर कुल उत्पादन क्षमता भने ४० प्रतिशत खानेपानी चोरी तथा चुहावट हुने गरेको छ ।

कार्यालयका अनुसार अहिले ११ वटा भूमिगतबाट पानी तान्ने ठूला प्रकृतिका बोरिङ रहेका छन् । यद्यपि कार्यालयसँग करिब डेढ दर्जनको हाराहारीमा सानाठूला बोरिङ रहेका छन् । कार्यालयसँग कम्तिमा पनि वीरगञ्जका २० हजार घरधुरीलाई खानेपानी खुवाउन सक्ने क्षमता छ । तर,अहिले पूर्वाधार र बजेट अभावको कारणले सकिरहेको छैन ।

खानेपानी संस्थानले वीरगञ्जमा खानेपानीको लागि २५० देखि ३ सय मिटर गहिराईबाट पानी निकाल्ने गर्छ । सत्यम बोरिङ उद्योग वीरगञ्जका सञ्चालक राजु चौरासियाले विगतको तुलनामा भूमिगत पानीको स्रोत सुक्दै गएकाले पनि अझै गहिराएर बोरिङ खन्नुपर्ने अवस्था सिर्जना भएको बताउँछन् । “यो वर्ष मात्रै हामीले करिब रु ८५ लाखको ठेक्कामा रामगढवा र नगवा क्षेत्रमा खानेपानीको बोरिङ खनेका थियौँ”, उनले भने, “ठूला डिपबोरिङ खन्दा पानीको अभाव नभए पनि ससाना चापाकलको लागि भने पानीको स्रोत सुक्दै गइरहेका छन् ।”

ठूला खालका डिपबोरिङ खन्न त्यति धेरै महँगो नपर्ने उनको भनाइ रहेको छ । खानेपानी संस्थानले चालु आवमा महानगरभित्र ५० किलोमिटर खानेपानीको पाइपलाइन विस्तार गर्ने लक्ष्य राखेको छ । हालसम्म भने १८ किलोमिटर मात्रै पाइपलाइन विस्तार भएको छ । वितरण प्रमुख साहले सरकारले पर्याप्त मात्रामा बजेट उपलब्ध गराउन सकेको खण्डमा वीरगञ्जमा देखिएको खानेपानीको समस्या समाधान गर्न गाह्रो नहुने बताउँछन् ।

भूमिगत पानी झिक्दाको पनि तथ्याङ्क जरुरी

भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्साका निमित्त डिभिजन प्रमुख विकास ठाकुरले सहरी घनाबस्तीमा भूमिगत पानीको उच्च दोहनकै कारणले पानीको सतह घट्दै गइरहेको बताउँछन् । “अहिले जथाभावीरुपमा घरघरमा भूमिगतपानी आफूखुसी ढङ्गले निकाल्ने प्रवृत्ति बढिरहेको छ । पछिल्ला समय वीरगञ्ज आसपासको क्षेत्रका चापाकल सुक्ने गरेका छन्”, उनले भने, “भूमिगत पानीको सतह घटेसँगै अबदेखि चार इन्चभन्दा ठूलो प्वाल पारेर पम्प राखेर मात्रै पानी तान्नुपर्ने अवस्था सिर्जना हँुदैछ ।”

निमित्त डिभिजन प्रमुख ठाकुरले तराई–मधेस क्षेत्रमा रहेका चुरे संरक्षण गरेर भूमिगत खानेपानीको स्रोत जोगाउनुपर्ने बताउँछन् । “अब हामीले भूमिगत पानी कति निकालिरहेका छौँ भनेर वैज्ञानिकरुपमा तथ्याङ्क सङ्कलन गर्ने बेला भइसकेको छ”, उनले भने, “हामीले ५÷१० वर्षको तथ्याङ्क सङ्कलन गरेपछि मात्रै तुलनात्मकरुपमा अध्ययन गर्न सक्ने थियौँ । त्यसैले अब डिपट्युबवेललगायतमा डाटा सङ्कलन गर्ने प्रविधि जडान गर्न आवश्यक देखिएको छ ।”

वडाकै अग्रसरतामा बोरिङ

वीरगञ्ज महानगरले आफ्नै सक्रियतामा पनि विभिन्न सार्वजनिक स्थानमा खानेपानीका लागि बोरिङ खन्दै पनि आइरहेको छ । त्यसको अलवा वडा कार्यालयकै सक्रियतामा पनि सानो प्रकृतिका बोरिङ खनेर खानेपानी वितरण पनि गर्दै आइरहेका छन् । वीरगञ्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहरप्रसाद गुप्ता जनप्रतिनिधिका रुपमा आएसँगै साढे १६ लाख खर्चेर पानमण्डी स्काउट सडकखण्ड र रानीघाट क्षेत्रमा चार इन्च पाइप क्षमताको दुई वटा बोरिङ खनेर वडाबासीलाई खानेपानी वितरण गर्दै आइरहेको बताएका छन् ।

“जनप्रतिनिधिका रुपमा आएसँगै वडाकै बजेटबाट दुई ठाउँमा बोरिङ खनेर पानी वितरण गर्दै आइरहेका छौँ” । यसले वडामा पानीको अभावलाई केही हदसम्म भएपनि नियन्त्रण गर्दै आइरहेका छौँ”, उनले भने, “अन्य वडाको तुलनामा नौ नम्बर वडा सानो भएपनि रानीघाट क्षेत्रमा भने अझै पनि खानेपानीको अभाव कायमै छ । अर्काे बोरिङ खन्ने योजना बनाइरहेको छु ।” वडा कार्यालयले पानमण्डी स्काउट सडकखण्डमा खनेको बोरिङबाट एक सय ५ घरधुरी लाभान्वित भएका छन् । रानीघाट क्षेत्रमा राखेको बोरिङबाट ८५ घरधुरी लाभान्वित भइरहेका छन् ।

खानेपानी जडान शुल्क

खानेपानी संस्थानले वडा कार्यालयको सिफारिसपत्रसहित आएका ग्राहकलाई खानेपानी जडान गर्दै आइरहेको छ । नयाँ खानेपानीको लाइन जडान गर्नका लागि घरधनीको नागरिकताको प्रतिलिपि, लालपुर्जाको प्रतिलिपि, नापी कार्यालयबाट ल्याएको ब्लुप्रिन्ट र वडा कार्यालयको सिफारिसलगायतका कागजात लिएर आउनुपर्ने हुन्छ ।

कार्यालयले नयाँ धारा जडान शुल्कबापत रु ६३ सय ७० रकम लिने गर्दछ । महानगरका वडा कार्यालयले खानेपानीको जडानको सिफारिस गरेवापत पनि शुल्क पनि छुट्टै तोकेका छन् । संस्थानका अनुसार मासिक १० हजार लिटर मात्रै पानी खपत गर्ने ग्राहकले खानेपानी महसुलबापत ११० रुपैयाँ मात्रै तिरेपुग्छ । सोभन्दा बढी पानी प्रयोग गरेको खण्डमा भने प्रतिहजार लिटर रु २५ रुपैयाँको दरले अतिरिक्त तिर्नुपर्ने व्यवस्था छ ।

वितरण प्रमुख यादवले खानेपानीको पाइप विस्तार भएको ठाउँमा नयाँ ग्राहकको घरमा एक साताभित्रै खानेपानी जडान हुने बताउँछन् । “हामीसँग नयाँ खानेपानी धारा जडान गर्नका लागि निकै सीमित जनशक्ति रहेको छ । हामीले दैनिक ३० घरधुरीमा भन्दा धेरै नयाँ जडान गर्न सकिरहेका छैनौँ”, उनले भने । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...