Admission Open

नारायणगोपाल स्मृति पुरस्कार, तारादेवी र रसिकलाई

काठमाडौँ  : स्वरसम्राट नारायणगोपालको ३३ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

विसं १९९६ साल असोज १८ गते काठमाडौँको किलागलमा जन्मिनुभएका उहाँको विसं २०४७ मङ्सिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो ।

विसं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएका नारायणगोपालले थुप्रै कालजयी गीत गाउनुभएको छ । ‘मलाई नसोध कहाँ दुख्छ घाउँ’, ‘एउटा मान्छेको मायाले कति’, ‘केही मिठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ ‘मोहनी लाग्ला है’ ‘यो सम्झिने मन छ’ जस्ता गीत चर्चित छन् । त्यस्तै हरेक वर्ष नारायणगोपाल सङ्गीत कोषले आएको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरिएको छ ।

कोषद्वारा मङ्गलबार राजधानीमा आयोजना गरेको विशेष कार्यक्रममा तारादेवी र रसिकलाई जनही ५१ हजार रुपियाँ नगद राशिसहित सो सम्मान प्रदान गरेको हो । तारादेवीलाई करिब पाँच दशक गीत/सङ्गीत क्षेत्रमा योगदान गरेबापत मरणोपरान्त र रसिकलाई गीत/सङ्गीत र साहित्य क्षेत्रमा करिब छ दशक समर्पित भई पु¥याउनु भएको योगदानको कदरस्वरूप सो सम्मान प्रदान गरिएको कोषले जनाएको छ । कोषका अध्यक्ष उषा शेरचनले आफूले २२ वर्षसम्म कोषको जिम्मेवारी वहन गरेको र आफ्नो उमेरका कारण अब सो जिम्मेवारी योग्य व्यक्तित्वलाई हस्तान्तरण गर्न चाहेको पनि बताउनुभयो ।

त्यसै गरी कोषका महासचिव दीपक केसीले नारायणगोपालले आफ्नो घरलाई गीतगङ्गा भवन बनाउने सपना साकार पार्न कोषले प्रयास जारी राखेको बताउनुभयो । सो अवसरमा नारायणगोपालका चर्चित गीतहरू विभिन्न गायक/गायिका प्रनिलकृष्ण पालिखे, रमेश सुवेदी, कोमल निरौलालगायतले प्रस्तुत गर्नुभएको थियो । (गोरखापत्र)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...