Admission Open

ad place

म्याग्दीमा टिमुर खेती विस्तार

गलेश्वर (म्याग्दी) : म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिमुर खेती गर्न थालेका छन् ।

जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मंगला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिमुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ ।

अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिमुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिए । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिमुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका कृषक टिम्मुर खेतीमा आकर्षित भएका उनले बताए ।

सापकोटाका अनुसार म्याग्दीका किसानले एकल तथा सामूहिकरुपमा हरेक वर्ष टिम्मुर खेती विस्तार गरिरहेका छन् । बेनी नगरपालिकाका साथै मङ्गला, मालिका, धौलागिरि गाउँपालिकामा टिमुर खेती विस्तार भएको उनको भनाइ थियो ।

कृषकलाई उपयोगी हुने पुस्तकसमेत बजारमा ल्याएका सापकोटाले जिल्लामा वार्षिक करिब तीन हजार केजी टिमुर उत्पादनको सम्भावना रहेको जानकारी दिए । आधुनिक औजारको प्रयोगले उत्पादन बढ्नुका साथै समय पनि व्यवस्थापन भएको उनको भनाइ थियो ।

जिल्लामा २० समूह गठन गरी टिमुर खेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिमुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताए । करीब एक सय ५० घरधुरीले टिमुर खेती गरिरहेका उनले जानकारी दिए ।

जिल्लामा सबैभन्दा धेरै टिमुर उत्पादन हुने गाउँको रुपमा चिनिएको तोरिपानीका कृषक यतिबेला टिम्मुर टिपेर सुकाउन व्यस्त छन् । असोज र कात्तिकमा टिमुरको फल टिप्ने गरिन्छ । म्याग्दीका गाउँमा फलेको टिमुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी नगरपालिका–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताए । उनका अनुसार गाउँबाटै प्रतिकिलो रू एक हजार ६ सयदेखि रू दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।

उनले नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्रीसमेत गर्दै आएका छन् । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य संघलगायत संघसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रू २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिए ।

टिमुर खेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको संघले जनाएको छ ।

तोरीपानी गाउँबाट वार्षिक ६ हजारको हाराहारीमा बिरुवा जिल्ला बाहिर बिक्री हुने गरेको छ । एक कृषकले छ केजीदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् ।

जिल्लामा कृषकले पहिलोपटक टिम्मुर प्रशोधन गर्ने औजार ल्याएका सापकोटाले बताए । तोरिपानीका निलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिमुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेका जनाउँदै त्यसका लागि वन कार्यालयले रू १० लाख अनुदान दिएको उनले बताए ।

प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ब्राण्डलाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिमुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिमुर विदेशमा समेत निर्यात हुने गरेको छ । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...