Admission Open

सीपमूलक तालिम : निगालो र बाँसबाट विभिन्न सामग्री बनाउन तालिम

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका–४ सुन्तडिमा बाँस तथा निगालोबाट विभिन्न सामग्री बनाउने तालिम संचालन भएको छ ।

युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा ग्रामीण समुदाय विकास केन्द्र डोटीद्वारा सञ्चालित दिगो वातावरणको लागि जलवायु परिवर्तन प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाले सहजीकरण गर्न थालेको छ ।

यसका लागि घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्य तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा विपन्न समुदायको जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले ४५ दिने बास तथा निगालोको सामग्री निर्माण गर्ने सीप विकास तालिम गत चैत २७ गतेदेखि सुरु गरेको ग्रामीण समुदाय विकास केन्द्र डोटीका सब इन्जिनियर करनबहादुर विष्टले बताए ।

विपन्न परिवारको जीविकोपार्जनमा सहयोग पुगोस् भन्ने हेतुले सञ्चालन गरिएको तालिमका सहभागीले बास र निगालोबाट अहिले मुडा, कलम राख्ने, सामग्री राख्न मिल्ने डालालगायतका सामग्री निर्माण गरिरहेका र अन्य सामग्री विभिन्न सामग्री निर्माण कार्य सिकिरहेकासमेत उनले जानकारी दिए ।

स्थानीयस्तरमा उपलब्ध हुने बास तथा निगालोको धेरै प्रकारका सामग्री निर्माण गर्नसके दैनिक जीवन निर्वाहका साथै आयआर्जमा सहजता हुने तालिमका सहभागीले बताएका छन् । डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ४ सुन्तडीमा सञ्चालन भएको सीपमूलक तालिमबाट सीपमूलक दक्ष जनशक्ति उत्पादन हुने बोगटान फुड्सिल गाउका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए ।

गाउँपालिकाभित्र जोकोही व्यक्ति सीप सिकेर स्थानीयस्तरमा व्यावसायिक सुरुआत गर्छ भने त्यस्ता व्यक्तिलाई पालिकाले पनि सहयोग गरेको उनले जानकारी दिए । ४५ दिनसम्म सञ्चालन हुने सीपमूलक तालिममा बोगटान फुड्सिलको वडा न १ र ४ का ११ जना सहभागी रहेको आयोजकले जनाएको छ । तालिममा दक्ष प्राविधिकले सहजीकरण गरिरहेको जनाइएको छ । (रासस)

टिप्पणिहरु
Loading...