Admission Open

ad place

१७८ पुग्यो, नेपालसँग कूटनीतिक सम्बन्ध रहेका देशको संख्या

काठमाडौं : नेपालसँग कूटनीतिक सम्बन्ध रहेका देशको संख्या १७८ पुगेको छ । नेपाल र मलावी गणतन्त्रबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध रहेका देशको सङ्ख्या एक सय ७८ पुगेको हो ।

संयुक्त राष्ट्रसंघका लागि नेपालका राजदूतरस्थायी प्रतिनिधि अमृतबहादुर राई र संयुक्त राष्ट्रसंघका लागि मलावी गणतन्त्रका राजदूतरस्थायी प्रतिनिधि एग्नेस मेरी चिम्बीरी-मोलान्डेले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग, न्यूयोर्कमा एक संक्षिप्त समारोहमा बिहीबार सो सम्बन्धी संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षरपछि दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाका बारेमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई जानकारी गराउने संयुक्त पत्रमा दुवै राजदूतले हस्ताक्षर गरेको संयुक्त राष्ट्रसघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । सो अवसरमा दुई राजदूतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा द्विपक्षीय सहयोगलाई मजबुत बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गरेका थिए।

उनीहरूले समूहको साझा हितको संरक्षण र प्रवर्द्धनका लागि संयुक्त राष्ट्र संघलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा समूहका रूपमा अतिकम विकसित देशको भूमिकाबारे पनि छलफल गरेका थिए । नेपालले अर्को महिना मलावीबाट एलडिसीको ग्लोबल समन्वय ब्युरोको अध्यक्षको भूमिका सम्हाल्दैछ ।

दक्षिणी अफ्रिकामा अवस्थित, मलावी पनि एक भूपरिवेष्ठित देश हो भने मोजाम्बिक, जाम्बिया र ताञ्जानियासँग यसको सिमाना जोडिएको छ । करिब दुई करोड जनसङ्ख्या रहेको मलावीको कूल क्षेत्रफल एक लाख १८ हजार चार सय ८४ रहेको छ । नेपाल र मलावी दुवै असंलग्न आन्दोलन (एनएएम), ७७ को समूह, अतिकम विकसित देशहरू (एलडिसिज)र भूपरिवेष्ठित विकासशील देशहरू (एलएलडिसिज) का सदस्य हुन् । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...