Admission Open

चक्लेटी लभ

 कविता

# अज्ञात सायर

यतिखेर सबथोकले बिथोलिरहेछ यो मन
गमलामा गुलाब रित्तिएको,
पुतली मुस्कुराएको
भमरा गुन्गुनाएको
साँझमा जून उदाएको,
घरी ऊ अघि, घरी उनी अघि
आकाशमा चरा उडेको,
किन यस्तरी बरालिएका यी आँखारु
भित्तामा टिक ! टिक !! टिक ! टिक!! चलिरहेको घडिको आवाज,
के तिम्रै भ्वाईसमा रेकर्ड गरिएको हो ?
भुँईतिर नूहिएर फुलेको लालुपातेले
तिम्रो ओठबाट सापटी लिएको थियो र गुलाबी रङ्ग ?
होईन भने,
किन अनुत्तरित छन् थुप्रै सवालहरू ??
के म तिमीलाई प्रेम गर्छु ?
गर्दिँन भने,
गुराँस फुल्नु
ताराहरू चम्किनु
बाडुल्की लाग्नु
अनि
मैले प्रेम कविता लेख्नुसंग तिम्रो के सम्बन्ध छ ?
छैन भने,
दुवै हात फिँजाएर पेन टावरको टुप्प्पीमा उभिदा,
बतासका झोंक्काहरू संगै एकतमास सल्बलाउने अनुभूति कस्को हो ?
ईन्द्रेणी पर्दा मैले देख्ने सुन्दर आकृति तिम्रै हैन र ??
हो, तिम्रो हो ।
म तिमीलाई मीठो प्रेम गर्छु ।

ए !!,साँच्चि सुनन !
मैले दाहिने हातमा गुलाब लिएर,
देब्रे घुँडा टेकेर,
आँखामा आँखा जुधाएर,
चक्लेटी प्रस्ताब पो राखेँ तिमीलाई ?

यदि राखिँन भने,
प्रेमलाई प्राप्तिमा नजोख्नु तिमीले
प्राप्तिलाई तृप्तिसंग नदाँज्नु कहिल्यै
नखोज्नु कसैले चुँडेर दिएको रातो गुलाबमा मायाँको रङ्ग
माहुरीलाई के शर्तमा दिएको हो र फुलले रस ?
निस्सन्देह छरिरहेकै छ त सुर्यले पृथ्वीलाई प्रकाश
अब बुझ्छ्यौ तिमी मायाको परिभाषा ?
सुस्ताउन सक्यौ भने विश्वासको चौतारीमा
पढ्यौ भने मेरो अनुहारको भाव
बुझ्यौ भने यी आँखाको प्रस्ताव,
देख्यौ भने मनको सुन्दरता
तिमी मलाई प्रेम गर्छ्यौ ।

दिक्तेल न.पा- ५, खोटाङ ।

टिप्पणिहरु
Loading...