Admission Open

आइएफआरसीले नेपाललाई ४५ एम्बुलेन्स हस्तान्तरण गर्दै

काठमाडौं : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) को नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलले नेपाल रेडक्रस सोसाइटीलाई ४५ एम्बुलेन्स हस्तान्तरण गर्ने भएको छ । आइएफआरसीले कोभिड– १९ प्रतिकार्यमा नेपाललाई आफ्नो सहयोग जारी राखेको छ।

आइएफआरसीले सन् २०२३ मा नेपाल रेडक्रस सोसाइटीलाई ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण गर्ने तयारी गरेको हो। ती एम्बुलेन्स ग्रामीण क्षेत्रमा उपयोग गरिने जनाइएको छ। ती एम्बुलेन्स नेपाल भित्रिसकेको उसले जनाएको छ । यस परियोजनाका लागि अनुमानित स्वीस फ्रयाक करिब १२ लाख (रु १६ करोड ७८ लाख) रहेको आइएफआरसीले जनाएको छ। आइएफआरसीले २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो ।

पछिल्लो समय आइएफआरसीले विशेष गरी कोभिड–१९को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पु¥याउन नेपाल रेडक्रस सोसाइटीलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको छ।

आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग,सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्यसञ्चालनका उसका मुख्य क्षेत्र छन् ।

अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपाल स्थित आइएफआरसी कार्यालयले जनाएको छ। आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले भने, “सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपतकालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिको अवधिमा र त्यस्ता परिस्थिति सङ्कटासन्न मानिसका आवश्यकताको पूर्ति गर्नका लागि एवं तिनको जीवन सुधार ल्याउने जस्ता मानवीय सेवाका कार्यक्रम जारी छ।”

आइएफआरसी विश्वकै सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको संगठन हो । र, यसको सचिवालय स्वीट्जरल्याण्डको जेनेभामा छ । उसले मानवीय हितका लागि करिब एक करोड ५० लाख स्वयंसेवकलाई संगठित गरी एक सय ९२ भन्दाबढी मुलुकमा स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापको सहयोग उपलब्ध गराउँछ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...