Admission Open

ज्येष्ठ नागरिकको घर-घरमा स्वास्थ्य सेवा

नवलपरासीपूर्व : नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका– ९ की पुतली कुमाल ७५ वर्ष पुगिन । उमेर ढल्किँदै गएपछि विभिन्न स्वास्थ्य समस्याले कुमाल पीडित छन्।

स्वास्थ्यकर्मीले घरमै आएर स्वास्थ्य जाँच गराउन थालेपछि पुतली कुमाल खुसी भइन्। स्वास्थ्यकर्मीले घरमै आएर रक्तचाप, मधुमेह, दमलगायतका रोगको जाँच गरी आवश्यक औषधि निःशुल्क उपलब्ध गराएका छन्। मध्यविन्दु नगरपालिका–९ कै ७८ वर्षीय रोशन सिंहलाई पनि रक्तचाप र दमको समस्या छ। आफैँ अस्पताल पुगेर औषधि लिन उनलाई समस्या थियो। गत साउनदेखि स्वास्थ्यकर्मी घरमै आएर जाँच गरी औषधि दिन थालेपछि सिंह पनि खुसी भएका छन् ।

मध्यविन्दु नगरपालिकाले चालू आर्थिक वर्षको नीतिकार्यक्रममा समावेश गरेको को ७० वर्ष पुगेका ज्येष्ठ नागरिकलाई घरमा स्वास्थ्य सेवा कार्यक्रम अन्र्तगत नगरभित्रका १५ वटै वडामा गत साउनदेखि सञ्चालन गरेको छ ।

मध्यविन्दु नगरपालिकामा चालू आर्थिक वर्षदेखि महिनाको एकपटक ज्येष्ठ नागरिकको घरमा नै पुगेर स्वास्थ्य परीक्षण गर्न थालिएको हो । प्रत्येक महिनाको २० गतेदेखि २४ गते सम्म स्वास्थ्यकर्मी घर घरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

स्वास्थ्य परीक्षणका क्रममा ज्येष्ठ नागरिकको मासिक स्वास्थ्यअवस्थाको अभिलेख राखिने गरिएको छ भने आवश्यक परामर्श प्रदान गर्ने गरिएको मध्यविन्दु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ख्यामबहादुर क्षेत्रीले बताए । “घर–घरमा स्वास्थ्य परीक्षण कार्यक्रमअन्तर्गत नगरभित्रका करिब दुई हजार तीनसय ज्येष्ठ नागरिकले लाभ लिनुभएको छ”, स्वास्थ्य शाखा प्रमुख क्षेत्रीले भने, “अशक्त, अपाङ्गता, दीर्घ रोगी र पहाडी क्षेत्रका ज्येष्ठ नागरीकलाई अझ प्रभावकारी भएको महसुस गरिएको छ । ”

भौगोलिक दृष्टिले विकट पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकदेखि आर्थिक अवस्था कमजोर भएका घरपरिवारले यस कार्यक्रमबाट लाभ लिएको मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले बताए। जनताकाबीचमा गरिएको प्रतिबद्धताअनुसार ज्येष्ठ नागरिकलाई घर आँगनमै स्वास्थ्यपरीक्षण गर्न १५ वटै वडामा स्वास्थ्यकर्मीको टोली गाउँगाउँ खटिएको बताए।

उनले भने, “हामीले पहिलो चरणमा उहाँहरूको स्वास्थ्य परीक्षण गरी सामान्य औषधि वितरण गरिरहेका छौँ । स्वास्थ्यचौकीमा निःशुल्क नपाइने औषधि पनि खरिद गरेर वितरण गर्दै आएका छौँं ।” पहिलो चरणमा सबै ज्येष्ठ नागरिकको स्वास्थ्यअवस्था, सेवन गरिरहेको औषधिको विवरणलगायतका आधारभूत तथ्यांक टिपोट गरी लगत संकलन गरिएको थियो । सबै लाभग्राहीको छुट्टछुट्टै रेकर्ड फाइल तयारी गरी अवस्था विश्लेषण गर्ने गरिएको छ ।

प्रत्यैक ६÷६ महिनामा विशेषज्ञ चिकित्सकसहित घर–घरमा स्वास्थ्य परीक्षण गरिने जनाइएको छ। घरघरमा ज्येष्ठ नागरिकको स्वास्थ्यपरीक्षणमा खटिने स्वास्थ्यकर्मिलाई विशेष प्रोत्साहान भत्तासमेत उपलव्ध गराइएको नगरपालिकाका सूचना अधिकारी सुमनराज रेग्मीले बताए । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...