Admission Open

उपयुक्त पर्यटकीय रुट बन्दै डोल्पा

हेमन्त केसी, जाजरकोट : डोल्पोबुद्ध गाउँपालिकाका-१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन् । उनले बाहिरबाट आएका पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउछन् ।

वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले यहाँ सञ्चारको सुविधासँगै इन्टरनेट सेवासमेत पुगेको छ । पत्रकार तथा अन्य उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । धो आफैँमा सुन्दर फाँट छ ।

उपल्लो डोल्पाको चर्चित ठाउँसमेत हो । अहिले धो मा पहेलपुर हुँदै उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्र्याउनका लागि उपयुक्त समयको खोजीमा छन् । उवा उपल्लो डोल्पाको मुख्यबालीरुपमा लिइन्छ । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ ।

वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्र्याउने गरिन्छ । उपल्लो डोल्पाका स्थानीयवासी अबको हप्ता दिनमा उपयुक्त समय हेरेर उवा भित्र्याउने योजनामा रहेको दोर्जेले बताए ।  धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्नका लागि देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पाका सर्वसाधारण जाने गर्दछन् ।

उपल्लो डोल्पालाई चिनाउनका लागि बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे-फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लामा समेत फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू-धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ ।

एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...