Admission Open

बागलुङमा लामो झोलुङ्गे पुलले बढायो पर्यटक

डम्मर बुढामगर/बागलुङ : दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । धेरै जसो पर्यटक प्रसिद्ध बागलुङ कालिकासम्म आए पनि बागलुङ बजारसम्म आउँदैनथे । अहिले बजारमा समेत आन्तरिक पर्यटकको भीड हुने गरेको छ ।

पुल निर्माणपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका हुन् । धौलागिरिका चार जिल्लासहित मुलुकका विभिन्न ठाउँबाट आउने पर्यटकले बागलुङ बजारमा रौनकता छाएको छ । लामो पुलमा अधिकांश युवायुवतीको भीड हुने गरेको पाइन्छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या निकै बाक्लो देखिन्छ ।

पर्यटकको आगमनमा वृद्धि भएपछि बागलुङका होटल व्यवसाय पनि फस्टाउन थालेका छन् । होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले विगतका वर्षको तुलनामा यस वर्ष बागलुङमा पर्यटक बढेको बताए । अध्यक्ष चोखालले लामो पुलले गर्दा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाउँदै गएको बताउछन् ।

“लामो पुलले गर्दा पछिल्लो समय विगतको तुलनामा पर्यटक बागलुङ धेरै आएको हामीले पाएका छौँ, होटल व्यवसाय पनि फस्टाउँदै गएका छन्, नयाँनयाँ होटल पनि थपिएका छन्”, अध्यक्ष चोखालले भने, “दुई वर्ष कोरोनाले थला परेको होटल व्यवसाय अहिले उठ्न थालेको छ, होटल व्यवसायी पनि उत्साहित बन्दै गएका छन् ।”

अध्यक्ष चोखालले पहिले बागलुङ कालिकामा आउने २५ प्रतिशत पर्यटक मात्रै बागलुङ बजार उक्लिने गरेकामा अहिले बढेर करिब ४५ प्रतिशतको हाराहारी पुगेको बताउछन् ।

“पहिले बागलुङ कालिका आउने आन्तरिक पर्यटक मन्दिर दर्शन गरेर फर्किने गर्थे, मन्दिरमा डेढ लाख पर्यटक आए पनि बागलुङ बजारमा २५ प्रतिशत मात्रै जाने गर्थे, अहिले बागलुङमा वार्षिक दुई लाख बढी पर्यटक आएको पाएका छौँ, त्यसमध्ये ४५ प्रतिशत बजारमा आउँछन्”, चोखालले भने, “अब फाट्टफुट्ट विदेशी पर्यटक पनि आउने गरेका छन्, अर्को वर्षदेखि थप बढ्दै जाने हाम्रो अनुमान छ, प्रचारप्रचार बढी भयो भने हामीले धेरै पर्यटक बागलुङमा भित्र्याउन सक्छौँ ।”

बागलुङ बजार हुँदै पञ्चकोट र सुरुङभित्र रहेको सालिग्राम सङ्ग्रहालय हेर्न जाने पर्यटक सङ्ख्या पनि उत्तिकै छ । त्यसले गर्दा बागलुङ बजारका होटल व्यवसायी उत्साहित बनेका हुन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष तथा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बागलुङको पर्यटनमा प्रवद्र्धनमा ठूलो टेवा पुर्‍याएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...