Admission Open

त्रिविको खेलकुद विज्ञान विभाग र सुशील कोइराला फाउन्डेशनबीच सहकार्य

काठमाडौं : सुशील कोइराला मेमोरियल फाउन्डेसन र त्रिभुवन विश्वविद्यालय केन्द्रीय खेलकुद विज्ञान विभागले खेलाडीलाई मानसिक र मनोवैज्ञानिकरूपमा बलियो बनाउन सहकार्य गर्ने भएका छन् ।

कोरोना महामारीपछि खेलाडीमा आएका विभिन्न समस्याका कारण तनाव, शारीरिक एवं मानसिक शिथिलताबाट मुक्तिका लागि विभागसँग सम्झौताको तयारी भएको फाउन्डेसनका सदस्य सचिव अतुल कोइरालाले राससलाई जानकारी दिए । यो कार्यक्रमका लागि राष्ट्रिय खेलकुद परिषद्सँग पनि सहकार्यको तयारी भएको छ । पहिलो चरणमा नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिने भएको छ । यसका लागि क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द नेतृत्वको प्रतिनिधिमण्डलसँग पनि सम्झौता गरिने भएको छ ।

खेलाडीलाई तीन चरणमा कार्यशालामा राखेर कार्यक्रम सञ्चालन गरिने भएको छ । यो कार्यक्रम देशव्यापीरूपमा सञ्चालन गरिने छ । क्रिकेटपछि अन्य खेलका खेलाडीलाई पनि कार्यक्रममा सहभागी गराइने छ । कार्यक्रममा महिला र पुरुष दुवै खेलाडीलाई सहभागी गराइने छ । कार्यक्रममा खेलकुद विभागका प्राध्यापक, मनोविद्, क्रिकेट खेलका प्रशिक्षक एवं खेलकुदविज्ञको पनि सहभागिता गराउने तयारी भएको छ । कार्यक्रमको स्रोत व्यक्तिका रूपमा बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष अनिल अधिकारीलाई जिम्मेवारी दिइएको छ ।

त्रिविवि खेलकुद विज्ञान विभागमा नेपाल एवं अन्य देशकासमेत खेलाडी एवं खेलप्रेमी अध्ययन गरिरहेका छन् । विभागले विभिन्न विषयमा अनुसन्धानात्मक लेख, रचना पनि प्रकाशन गराएको विभागीय प्रमुख गङ्गाबहादुर थापामगरले बताए । यस्तो कार्यक्रमको आवश्यकता खेलाडीका साथै अन्य क्षेत्रका व्यक्ति र बालबालिकालाई समेत आवश्यकता रहेको उनले सुनाए ।

टिप्पणिहरु
Loading...