Admission Open

ad place

दुर्गम गाउँपालिकामा बजार अनुगमन

दार्चुला : सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले दुर्गम गाउँपालिका पुगेर बजार अनुगमन गरेकी छिन् । उनि नेतृतवको एक टोलीले सडक सञ्जालले नजोडिएको अपी हिमाल गाउँपालिकामा पहिलो पटक बजार अनुगमन गरेकोे हो । उक्त गाउँपालिकाको सदरमुकाम खण्डेश्वरी बजार क्षेत्रका दुई दर्जनभन्दा बढी पसल अनुगमन गर्दा पाइएका अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको सहायक प्रजिअ साउदले जानकारी दिइन् ।

अनुगमनका क्रममा म्याद नाघेका मिठाई, गुँद पाप्पड, जुस, सुपारी, सुजी मसाला भुजा, चाउचाउलगायत २४ थरी सामग्री बरामद गरिएको थियो । दुर्गम क्षेत्रमा म्याद नाघी समान ढुवानी हुने गरेको र उपभोक्ताले पनि म्याद नहेरी सामान खरिद बिक्री गर्ने हुँदा नष्ट गर्नु परेको उनले बताइन् ।

यसअघि बजार अनुगमन सदरमुकाम खलङ्गा केन्द्रित मात्रै हुने गरेको थियो । नयाँ वर्षको बेला गाउँमा झन् अखाद्य वस्तु ढुवानी हुने हुँदा अपी हिमाल पुगेको बेला बजार अनुगमन गरिएको सहायक प्रजिअ साउदले बताइन् । सदरमुकाम खलङ्गाबाट एक दिन लगाएर उक्त गाउँपालिका पुगिन्छ । अहिले पनि गाउँपालिकाको केन्द्रसम्म सडक पुगेको छैन । सडक नहुँदा तीन/चार घण्टा लगाएर स्थानीयवासीले पिठ्यूँमा समान ढुवानी गरेर लैजान्छन् ।

बजार अनुगमन टोलीमा घरेलु तथा साना उद्योग विकास समितिका उद्योग अधिकृत गङ्गाकुमारी मगर, तेजराम महरा, नरेन्द्रसिंह महरा, जनप्रतिनिधि शान्ति धामी र पत्रकार योगेन्द्रसिंह धामीलगायतको सहभागिता थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...