काठमाडौँ : बोटलर्स नेपालद्वारा कर छली गरेको विषय उठान गरेका पत्रकार गजेन्द्रसिंह बुढाथोकीलाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार २०७८ बाट सम्मान गरिएको छ।
कोकोकोला उत्पादक कम्पनी बोटसर्लको कर छलीको विषयलाई निरन्तर उठाएर सरकारलाई छली कर असुलीमा मुद्दा लगाउन बाध्य बनाएका पत्रकार बुढाथोकीलाई बुधबार विराटनगरमा नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवसका अवसरमा सम्मान गरिएको हो।
टक्सार म्याग्जिनका सम्पादक बुढाथोकीलाई ५१ हजार ५१ रुपैयाँसहित प्रदेश १ प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारी, यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरे, विराटनगर महानगरका मेयर भीम पराजुलीले सम्मान गरेका थिए।
सूचनाको हक प्रयोग गरी सुसूचित गराउने व्यक्तिलाई प्रत्येक वर्ष राष्ट्रियस्तरबाट बुढाथोकी र प्रदेशस्तरमा देवनारायण साहलाई पुरस्कृत गरिएको थियो।
साहलाई १५ हजार १५ रुपैयाँ प्रदान गरिएको थियो। सूचना जागरण अभियानका अध्यक्ष केदारबहादुर बस्नेतले ०७३ सालमा श्रीमती षष्टिकालाई गुमाएपछि उनकै स्मृतिमा सात लाख रुपैयाँको अक्षयकोष बनाएर महासंघको समन्वयमा पुरस्कार वितरण गर्दै आएका हुन्।
यसअघि राष्ट्रियस्तरमा पत्रकार विनय कसजू, तारानाथ दाहाल, शिव गाउँले र धर्मेन्द्र झालाई पुरस्कृत गरिएको थियो।