Admission Open

भादगाउँ खानेपानीमा नगर विकास कोषको तीन करोड ८१ लाख ऋण लगानी

तनहुँ : खानेपानी तथा सरसफाई आयोजना अन्तरगत भादगाउँ खानेपानी तथा सरसफाई आयोजना, तनहुँमा नगर विकास कोषको तीन करोड ८१ लाख रुपियाँ ऋण लगानीका लागि ऋण सम्झौता सम्पन्न भएको छ । खानेपानी तथा सरसफाई क्षेत्र सह–लगानी आयोजना अन्तरगत भादगाउँ करादी (खिरखाँदी) खानेपानी तथा सरसफाई आयोजनाको निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनौट भएको बोलपत्रदाताले पेश गरेको ठेक्का कबोल अंक (खानेपानी आपूर्तितर्फ) १५ करोड २४ लाख ३६ हजार रुपैयाँको २५ प्रतिशतले हुने रकम तीन करोड ८१ लाख रुपियाँ कोषबाट ऋण लगानी हुँदैछ । उक्त लगानीका लागि नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र भादगाउँ करादी (खिरखाँदी) खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष चिजबहादुर दरैबीच सोमबार ऋण सम्झौता सम्पन्न भएको छ ।

ऋण सम्झौतामा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेको उपस्थितिमा जमानतकर्ताको रुपमा हस्ताक्षर गरेका थिए । सम्झौता कार्यक्रममा भादगाउँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका उपाध्यक्ष, कोषध्यक्ष, सहसचिव तथा सदस्यहरुको पनि उपस्थिति थियो । सम्झौता कार्यक्रममा भएको उनीहरुको उपस्थितिबाट आयोजनामा भएको ऋण लगानीको अवधारणाको महत्व तथा आवश्यकतालाई उपभोक्ता समूह बीच प्रष्ट्याउन थप मद्दत हुने विश्वास गरिएको छ ।

व्यास नगरपालिका वडा नं. १ सेवा क्षेत्र रहेको उक्त आयोजनामा नेपाल सरकारको ७० प्रतिशत अनुदान रकम १० करोड ६७ लाख रुपैयाँ, नगर विकास कोषबाट २५ प्रतिशत ऋण रकम तीन करोड ८१ लाख रुपैयाँ र पाँच प्रतिशत रकम ७६ लाख २१ हजार रुपियाँ उपभोक्ता संस्थाबाट व्यहोरिने छ । उक्त आयोजना निर्माण पश्चात सन् २०२३ मा ४२९२ घरधुरी (२१४६० जनसंख्या) र डिजाईन वर्ष सन् २०३३ मा ६३७८ घरधुरी (३२८९० जनसंख्या) लाई ग्रेभेरी प्लो (मुहान श्रोत) र सम्प वेल पम्पिङ सम्प प्रणली मार्फत २४ सै घण्टा खानेपानी सेवा पुर्याउने लक्ष्य छ ।

कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपानेले शहरीकरणतर्फ तीब्र रुपमा अगाडि बढेको व्यास नगरपालिकमा केही वर्ष यता हरेक वर्ष ५०० को हाराहारीमा घर निर्माण भैरेहको आँकडाले ठूला खानेपानी आयोजना अपरिहार्य रहेको बताए । नगर प्रमुखले भादगाउँ खानेपानी आयोजनालाई समयमा गुणस्तरीय रुपमा सम्पन्न गराउन नगरपालिका समेत जिम्मेवारी हुने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजनालाई अगाडि बढाउन गरेको बहत छलफल तथा विविध पक्षको मूल्याङ्कनले आयोजनालाई सफल बनाउन महत्वपूर्ण आधार प्रदान गरेको बताउँदै आयोजनाको सफल कार्यान्वयन, सञ्चालन र व्यवस्थापनमा उपभोक्ता संस्थाको महत्वपूर्ण भूमिका रहने र आयोजना समयमा गुणस्तरीय रुपमा सम्पन्न हुने कुरामा विश्वस्त रहेको बताए ।

कार्यकारी निर्देशकले उपभोक्ता संस्थाको संस्थागत तथा व्यवस्थापकीय क्षमता अभिबृद्धिमा नगर विकास कोषको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै ब्यास नगरपालिकासँग शहरी पूर्वाधारका क्षेत्रमा कोषसँगको लामो समयको सहकार्य आगामी दिनमा निरन्तर रुपमा रही रहने विश्वास व्यक्त गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...