Admission Open

अखाद्य वस्तुको बिक्री-वितरण रोक्न सरकार प्रतिबद्धः गृहमन्त्री खाँण

काठमाडौँ : गृहमन्त्री बालकृष्ण खाँणले उद्योगी, व्यवसायी उपभोक्ताको हितप्रति संवेदनशील बन्नुपर्ने बताउनुभएको छ ।

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आज वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौँ महानगरपालिकाद्वारा आज आयोजित कार्यक्रममा उहाँले व्यवसायी पनि कुनै वस्तुको उपभोक्ता भएकाले उपभोक्ताको हितप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभएको हो ।

गृहमन्त्री खाँणले उपभोक्ता अधिकार स्थापित गराउन सरकार गम्भीर रहेको उल्लेख गर्दै अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले अखाद्य वस्तुको उपभोगमा उपभोक्ता स्वयम् सचेत हुनुपर्नेमा जोड दिनुभयो । संविधान, ऐन कानुनमा भएका उपभोक्ता अधिकारसँग सम्बन्धित प्रावधानको कार्यान्वयन गर्न सरकारपछि नपर्ने बताउँदै उहाँले उद्योगी व्यवसायीलाई पनि जनताप्रति उत्तरदायी बन्न आग्रह गर्नुभयो ।

“व्यवसायी पनि कुनै न कुनै रुपमा उपभोक्ता नै हुनुहुन्छ, सरकार उद्योगी व्यवसायीलाई हतोत्साहित गर्न चाहँदैन, व्यवसायी पनि उपभोक्ताको हितप्रति संवेदनशील हुने विश्वास गरेको छु”, उहाँले भन्नुभयो । गृहमन्त्री खाँणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्तामा मार परेकामा सरकार जानकार रहेको उल्लेख गर्दै सरकारले उपभोग्य वस्तुको मूल्यलाई नियन्त्रणमा राख्न अधिकतम पहल गरिरहेको जानकारी दिनुभयो । “मूल्यवृद्धिको प्रमुख कारकका रुपमा पेट्रोलियम पदार्थको मूल्य रहेको छ, सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई पनि सकेसम्म नियन्त्रणमा नै राखेको छ”, उहाँले भन्नुभयो, “व्यापार घाटा न्यूनीकरण र आयात निरुत्साहित गर्नेमा सरकारको ध्यान गएको छ ।”

गृहमन्त्री खाँणले मुलुकको व्यापार घाटाको ठूलो हिस्सा पेट्रोलियम पदार्थ रहेको बताउँदै विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन नागरिक सचेतना बढाउनुपर्ने र यसमा उपभोक्ता अधिकारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ्

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल श्रीवास्तवले उपभोक्ता अधिकार प्रत्याभूत गराउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । उपभोक्ता स्वयम् सचेत नहुँदासम्म उपभोक्तामाथिको ठगी नरोकिने भन्दै उहाँले उपभोक्ता सचेतना बढाउनुपर्नेमा जोेड दिनुभयो ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले उपभोक्ता अदालत गठन गरेर उपभोक्ताको अधिकार संरक्षण गर्नुपर्ने बताउनुभयो । स्थानीय तहमा उपभोक्ता सूचना केन्द्र स्थापना गर्न उहाँले सुझाव दिनुभयो । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि देवेन्द्रभक्त श्रेष्ठले बजार अनुगमनका क्रममा नियमकानुन मात्र नहेरी व्यवहारिक पक्षको पनि ख्याल गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले व्यवसायीका सामान जफत गरेर नष्ट गरिनुभन्दा पनि उपभोग्य मिति सकिएका खाद्य वस्तु सम्बन्धित उद्योगीले फिर्ता लैजाने वतावरण बनाइदिनुपर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले स्थानीय तहको स्थापनापछि निर्वाचित पदाधिकारी कानुन निर्माणमा संलग्न हुनुपर्दा बजार अनुगमनको पाटो ओझेलमा परेको स्वीकार गर्नुभयो । स्थानीय बजार अनुमनको अधिकार स्थानीय तहलाई प्राप्त भएपछि बजार व्यवस्थापन तथा अनुगमन समिति र अनुगमन टोली निर्माण गरिएको उहाँले बताउनुभयो ।

राष्ट्रिय उपभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बजार अनुगमन गरी जरिवाना गर्दैमा स्वच्छ बजार कायम हुन नसक्ने भन्दै उपभोक्तामाथि ठगी गर्ने व्यवसायीलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो । बजार अनुगमनका जिम्मा स्थानीय सरकारको भएपनि अनुगमन प्रभावकारी नहुँदा दिनदिनै उपभोक्तामाथि चर्को ठगी भइरहेको छ भन्नुभयो । उपभोक्ता अधिकार अनुसन्धान मञ्च नेपालका अध्यक्ष माधव तिमिल्सिनाले विभागीय मन्त्रालय नेतृत्वविहीन हुँदा उपभोक्ताको हितअनुकूलका नीति तर्जुमा समस्या भएकाले तत्काल वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्ति गरिनुपर्ने बताउनुभयो । नेपाल उपभोक्ता महिला तथा बालबालिका संरक्षण सङ्घका अध्यक्ष अप्सरा कोइरालाले उपभोक्ताको गुनासो सुन्ने र समस्याको समाधान गर्ने काम जिम्मेवार निकायबाट नभएको गुनासो गर्नुभयो ।

कञ्जुमर आइ नेपालका अध्यक्ष विमला खनालले महँगीले गर्दा उपभोक्ताको दैनिकी कष्कटर बन्दै गएकाले नापतौल, मूल्य र गुणस्तरमा उपभोक्ता दिनदिनै ठगिएका छन् भन्नुभयो ।(रासस )

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...