काठमाडौँ, २४ फागुन : नेपाल ईन्जिनियर्स एशोसिएसनको आसन्न निर्वाचनका लागि लोकतान्त्रिक समूहको ई. दिलिप कुमार झा प्यानलले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्यो । लोकतान्त्रिक ईन्जिनियर समूमा मतदान, ईन्जिनियरिंग समस्याको समाधान नारा दिँदै उक्त समूहले आफ्नो घोषणापत्र पनि सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा एशोसिएसनका पूर्व अध्यक्षहरु प्रा. डा. जिवराज पोखरेल ई. किशोर शाक्य, ई ध्रुब थापा लगायत पूर्व महासचिव कन्हैयालाल गुप्ता आदि बरिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको सम्मेलनलाई सम्बोधन गर्दै एशोसिएसनका पूर्व अध्यक्ष प्रा. डा. जिवराज पोखरेलले लोकतान्त्रिक समूहको ई. दिलिप कुमार झा प्यानललाई आफ्नो पूर्ण समर्थन रहेको बताउँदै अगाडि भन्नु भयो, ‘हामीले सानो छाप्रोबाट एशोसिएसनलाई गगनचुम्बी बनायौँ, अहिले पार्टीगत गुटबन्दी र फुटले एशोसिएसन लथालिंग भएको छ । अव यसलाई लोकतान्त्रिक समूहको ई. दिलिप कुमार झा प्यानलले मात्र न्याय गर्न र हाँक्न सक्छ ।’
त्यसैगरी सम्मेलनमा एशोसिएसनका पूर्व अध्यक्षहरु, ई. किशोर शाक्य र ई. ध्रुब थापाले पनि सोही प्यानललाई समर्थन रहेको जनाउँदै आआफ्नो धारणा राखेका थिए ।