Admission Open

ad place

विकल्पका पाँच मुक्तक

# रेहित सैजु ‘विकल्प’

[एक ]
बगरमा फुल्ने जति सबै काँस हुन सक्दैन
ठूलोअण्डा पार्दैमा कुखुरा हाँस हुन सक्दैन
के हुन्छ, आफ्नो भाउ चुरीफुरी बढाएर ?
जति बढे पनि निँगालो बाँस हुन सक्दैन।
[ दुई ]
अनावश्यक रहरहरू च्यातचुत गर्न चाहन्छु
कलमद्वारा एउटा इच्छा प्रस्तुत गर्न चाहन्छु
यताउता भौतारिई रहें जिन्दगीको रस खोज्दै
फेरिएको अन्तिम सास अनुभूत गर्न चाहन्छु।
[ तीन ]
देखेकै भरमा  वस्तुको अनुमान गर्नु व्यर्थ छ
बिरालोले  बाघसँग  घमासान  गर्नु व्यर्थ छ
ए हजुर धेरै गल्फत्ती गरेर नदिनु स्पष्टीकरण ?
‘इन्द्रको अगाडि स्वर्गको बयान’ गर्नु व्यर्थ छ।
[ चार ]
कसैलाई सागर त कसैलाई कुवा हुन मनपर्छ
कसैलाई फाली र कसैलाई जुवा हुन मनपर्छ
यो रुचिको विषय हो, जसले जेसुकै भनेपनि
कसैलाई बादशाह, कसैलाई दुवा हुन मनपर्छ।
[ पाँच ]
म त वर्तमान हुँ, विगतमाथि प्रश्न किन ?
मेरो यो व्यवहार आदतमाथि प्रश्न किन ?
मान्छे हुँ केही गल्ती नजानेर गर्न सक्छु
शिल सफा चोखो नियतमाथि प्रश्न किन ?
# रामेछाप, हाल भक्तपुर
टिप्पणिहरु
Loading...