बैतडी : बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा ८जना घाइते भएका छन् । महेन्द्रनगरदेखि मेलौलीतर्फ गइरहेको पवनदुत यतायातको ना ७ ख २५७० नम्बरको बस बैतडीको मेलौली नगरपालिका २ रौतगाउँमा दुर्घटना भएको हो ।
उक्त बस दुर्घटनामा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापती भट्ट, ९ का २४ वर्षीया दुर्गा भट्ट, सोही ठाउँका ६८ वर्षीय रामसिंह साउद र २ का २१ वर्षीय मनिस चन्द घाइते भएका छन् ।
त्यस्तै कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट, बैतडीको शिवनाथ गाउँपालिका(५ की २१ वर्षाीया सुशीला चन्द, सोही ठाउँका २९ वर्षीय जनक औजी र बाराका सिराज अन्सारी पनि घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा लगिएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।
बस बिहान करिब ६ बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको बस सडकबाट ५ मिटर तल खसेको थियो । चालक वीरेन्द्र लुहारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।