काठमाडौं, ७ माघ : प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।
शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।
प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।
आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।
प्रधानमन्त्री देउवाले बाढीका कारण अवरुद्ध बनेको मेलम्ची खानेपानी यसै वर्ष काठमाडौंमा ल्याउने दाबी गरे।
उनले देशमा अत्यावश्यक वस्तुको कुनै अभाव नभएको बताए। ‘सरकारको नेतृत्व गरेपछि आर्थिक समाजिक रुपान्तरणमा जोड दिएको छु। उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिएको छु। आपूर्ति व्यवस्था सुधार गरी महँगी नियन्त्रणमा गरेको छु। भ्रष्टाचार नियन्त्रणमा काम भएका छन्। अत्यावश्यक वस्तुको कुनै अभाव छैन,’ सम्बोधनको क्रममा उनले भने।
उनले अग्रपंक्तिमा काम गर्नेहरूलाई बुस्टर जोड लगाइरहेको र ६० वर्षमाथिका व्यक्तिलाई यसै महिनादेखि बुस्टर डोज लगाइने बताए। ११ वर्षमुनिका बालबालिकाहरूलाई पनि चाँडै खोप दिइने उनले बताए।