Admission Open

ad place

नेपालमा एक हप्तामै १० हजार कोरोना संक्रमित थपिए

काठमाडौं : कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै संक्रमण दैनिक बढिरहेको हो ।

ओमिक्रोन भेरियन्ट सङ्क्रामक बढी रहेकोले पनि पिसिआर र एन्टिजेन परीक्षणमा संक्रमण दर बढेको पाइएको हो । जनस्वास्थ्यका मापदण्ड लागू नगर्ने, भीडभाडमा जाने तथा खोप नलगाउने गर्नाले संक्रमण बढिरहेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता मिश्राले संक्रमण गत हप्ताको तुलनामा यसहप्ता ९.२ प्रतिशतले बढेको बताइन् । ओमिक्रोन भेरियन्टले संक्रमण एक जनाबाट १० जनामा सार्ने गर्दछ ।

संक्रमणको पहिलो लहरले एक जनाबाट अर्को दुई जनालाई तथा दोस्रो लहरमा डेल्टा भाइरसले एक जनाबाट चारदेखि पाँच जनासम्म संक्रमित बढाउने गर्दथ्यो । उनका अनुसार अघिल्लो हप्ताको ४९ हजार ८ सय ७७ जनाको पिसिआर परीक्षणमा दुई हजार ३० जनामा संक्रमण देखिएको छ । यसहप्ता ६२ हजार ७ सय ५५ जनाको पिसिआर गरिएकोमा आठ हजार ३ सय ७३ जनामा संक्रमण देखिएको थियो । यस हप्ता परीक्षण २५.८ प्रतिशतले गरेका छन् ।

यसहप्ताको संक्रमण दर १३.३ प्रतिशत छ । एन्टिजेन परीक्षण गर्दा ६.७ प्रतिशतले पछिल्लो हप्ताको तुलनामा यसहप्ता संक्रमण बढेको पाइएको छ । खोप नलगाउने व्यक्तिमा लगाएको भन्दा १० गुणा बढी संक्रमण बढ्छ । यस्तै खोप नलगाएकालाई अस्पतालमा भर्ना भएर गा¥हो ओमिक्रोनले १७ गुणा र मृत्यु हुने सम्भावना पनि २० गुणा बढाउने गर्ने अध्ययनले देखाएको छ ।

नेपालमा एक हप्तामा १० हजार संक्रमित फेला परेका छन् । यही पुस २२ गतेदेखि पुस २८ गतेसम्म १० हजार ५ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । पुस २२ गते ५ सय ४०, पुस २३ गते ९ सय ६८, पुस २४ गते ९ सय ४४, पुुस २५ गते एक हजार १ सय ६७, पुस २६ गते एक हजार ४ सय ४६, पुस २७ गते दुई हजार ४ सय ४४ तथा पुस २८ गते तीन हजार ७५ जनामा कोरोना संक्रमण देखिएको थियो ।

खोप लगाउनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार गतहप्ताको तुलनामा यस हप्ता दुई प्रतिशतले खोप लगाउने सङ्ख्यामा वृद्धि भएको छ । दोस्रो मात्रा लगाउनेमा चार प्रतिशतले वृद्धि भएको छ ।

लक्षितमध्ये अहिलेसम्म ७६.९ प्रतिशतले पहिलो मात्रा र ५७.६ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । बुधबार दुई लाख १४ हजार ५७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सरकारले लक्षित समुदायलाई यही पुस मसान्तसम्म दुई तिहाईलाई खोप लगाउने लक्ष्य लिएको छ । कोरोना भाइरसको खोप वाग्मती र गण्डकी प्रदेशले लक्ष्य अनुसारको लगाइसकेका छन् । बाँकी प्रदेशले खोप लगाउने कार्यलाई द्रुत बनाएका छन् ।

संक्रमण बढेसँगै सबै सर्तक हुनुपर्ने र जनस्वास्थ्यका मापदण्ड अझै कडाइका साथ गर्र्नुपर्ने देखिन्छ । मन्त्रालयले कोही पनि सङ्क्रमण भएको वा कन्ट्रयाक्ट ट्रेसिङमा परेका कम्तीमा पाँच दिन क्वारेन्टिनमा बसेर मात्र परीक्षण गराउन आग्रह गरेको छ । लक्षण देखिएका व्यक्तिले तुरुन्तै परीक्षण गराउन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...