शनिबार मध्यान्ह 1२ बजे बाट सुरुभएको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० मा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौँ-११ भिडेका थिए । उक्त खेलमा काठमाडौँ ११ ले साविक विजेता ललितपुरलाई ७ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ रोजेको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रन बनाएकाे थियो । ललितपुरका लागि पवन सर्राफले सर्बाधिक ६१ रन बनाए ।
खेलकाे पहिलाे ओभरको पहिलो बलमै ललितपुरका कप्तान कुशल भुर्तेल बिना रनमा आउट भएका थिए । त्यसै ओभरमा सन्दुन विराकाेडी २ रन बनाएर आउट भए । दाेस्रो ओभरमा गुल्सन झाले ओसादा फर्नान्डाेलाई आउट गरेपछि ललितपुरले ७ रनमै ३ विकेट गुमाएको थियो ।
त्यसपछि शंकर राना र पवन सर्राफले ललितपुरकाे इनिङ्स सम्हाल्दै ५६ रनकाे साझेदारी गरेका थिए । शंकर राना १४ रन बनाएर १० औं ओभरमा आउट भएका थिए । त्यसपछि पवन र याेगेन्द्र सिंह कार्कीले पाँचाैं विकेटका लागि ६२ रनकाे साझेदारी गरेका थिए ।
दुवैलाई रायन बर्लले १७ औं ओभरमा आउट गरेका थिए । पवनले ४४ बल खेल्दै ५ चाैका र ४ छक्का मद्दतमा ६१ रन बनाएका थिए भने याेगेन्द्रले २० बल खेल्दै ३ छक्का मद्दतमा ३३ रन जाेडेका थिए । पहिलाे पटक विदेशी लिग खेल्ने भुटानी खेलाडी रन्जुग मिक्याे दाेर्जीले अविजित १७ रन जाेडेका थिए ।
ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो । लक्ष्य पछ्याउने क्रममा काठमाडौंकाे सुरुवात राम्राे हुन सकेको थिएन । ओपनर सुवास खकुरेल पहिलाे ओभरमा खाता नखाेली रनआउट भएका थिए भने अमित श्रेष्ठ दाेस्राे ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएकाे थियाे ।
तर काठमाडौंकाे जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३, अफगानिस्तानका गुर्बाजले ५९ रन र राजु रिजालले १९ (अविजित ) रन बनाएका थिए । बर्लले ३४ बल खेल्दै ३ चाैका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाएका थिए ।
काठमाडौंको लागि जितेन्द्र मुखियाले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट, रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट र गुल्सन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिएका थिए ।
त्यस्तै कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए भने पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए तर दुबैले विकेट हात पार्न सकेनन् ।
नेपालको चर्चित टि-20 क्रिकेटमा ६ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउन्ड रोविनको खेलहरु भएपछि क्वालिफायर हुन्दै फाइनल हुनेछ । ललितपुर प्याट्रिओट्स , विराटनगर वारियर्स, भैरहवा ग्लाडिएर्स, काठमाडौ किंग्स ११, चितवन टाइगर्स र पोखरा राइनोजबिच 50 लाख पुरस्कार र ईपीएलको ट्रफीका लागि प्रतिस्पर्धा हुनेछ ।