Admission Open

बोरिङ खन्दा मिथेन ग्यास मिसिएको पानीको फोहोरा   

नारायणप्रसाद घिमिरे काठमाडौँ, २ भदौ  :  पानीका लागि बोरिङ खन्ने क्रममा काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपनमा आज एक्कासि बालुवासहित पानीको फोहोरा निस्क्यो । तीन घण्टादेखि पानी र बालुवासहितको करिब ४० फिट अग्लो फोहोरा काठमाडाँै कपन शिवमन्दिर नजिक निरन्तर छ ।

भुलक–भुलक गर्दै चारतले घर जति अग्लो फोहोरा निस्केपछि स्थानीयवासी चकित परेका छन् । फोहोरा जारी रहेपछि उनीहरुले खानी तथा भूगर्भ विभागलाई खबर गरेका थिए । सूचनापश्चात् घटनास्थल निरीक्षणमा आइपुग्नुभएका खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् पृथ्वीलाल श्रेष्ठले फोहोरामा मिथेन ग्यास मिसिएको जानकारी दिनुभयो । “काठमाडौँ उपत्यकाको जमिनमुनि मिथेन ग्यास रहेको छ र यसअघि कालीमाटी, टेकु, धुम्बाराहीमा पनि यसरी मिथेन ग्यास निस्किएको थियो”, श्रेष्ठले भन्नुभयो ।

त्रसित स्थानीयवासीको प्रतिक्रियामा उहाँले ग्यासलाई बन्द गर्न नहुने र सतर्कताका लागि भने वरिपरि ग्यास, आगो, लाइटरजस्ता कुरा बाल्न नहुने बताउनुभयो । कति सययसम्म यो जारी रहन्छ भन्ने प्रश्न गर्दा, भूगर्भविद् श्रेष्ठले यो प्राकृतिक घटना कतिसम्म जारी रहन्छ भन्ने आँकलन गर्न नसकिने जनाउनुभयो ।

घर नजिकै यस्तो अनौठो घटना भएको देख्दा स्थानीयवासी बद्री ढकालले आफूलाई कतै जमिन नै भासिने पो हो कि भने डर लागेको बताउनुभयो । “सुरुमा लेदो निस्किए पनि अहिले ग्यास गन्हाएको र पानीसहित बालुवा फोहोरा भएर भुल्किरहेको छ”, उहाँले भन्नुभयो । करिब एक सय ५० फिट गहिरो खन्दा यस्तो घटना भएको उहाँको भनाइ छ ।

फोहोराका कारण नजिकैको घर हिलाम्मे भएको छ । अनौठो फोहोरा हेर्न मानिसको भीड बढ्दै गएपछि यतिखेर प्रहरीले भीडभाड नगर्न माइकिङ गरिरहेको छ । कपन प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले भूगर्भविद्को सल्लाहअनुसार घटनाको दुई सय मिटर वरपर घरमा ग्यास, लाइटर नबाल्न सचेत गराइएको जानकारी दिनुभयो । साथै कपन पञ्चकुमारीदेखि शिवमन्दिर जाने बाटोमा ट्राफिक डाइभर्सन गराइने उहाँले जानकारी दिनुभयो । (रासस)

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...