Admission Open

थलारा माविमा सेनेटरी प्याड मेसिन   

बझाङ, ३१ साउन : छविस पाथिभेरा गाउँपालिका– ५ थलारा मावि थलारामा सेनेटरी प्याड मेसिन (भेन्डिङ) जडान गरिएको छ । महिनावारी भएका बेला विद्यालयका छात्रा तथा शिक्षिकालाई सजिलो होस् भन्ने उद्देश्यले मेसिन जडान गरिएको विद्यालयका शिक्षक झलक धामीले जानकारीदिनुभयो ।

मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताउनुभयो । छविसपाथिभेरा गाउँपालिका, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको लगानीमा उक्त मेसिन जडान गरिएको हो ।

मेसिन जडान गर्दै विद्यालयका प्रधानाध्यापक हिक्मत जाग्रीले सेनेटरी प्याड मेसिन जडान भएपछि महिनावारी भएका बेला विद्यालय छाड्नुपर्ने छात्राको बाध्यता हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सेनेटरी प्याड र महिला शौचालय नभएकै कारण महिनाको चार दिन छात्राले विद्यालय छोड्नुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ । यसले छात्रा नियमित विद्यालय आउने वातावरण बन्ने मैले विश्वास गरेको छु ।”

यसकोे व्यवस्था र उचित शौचालयको व्यवस्था नहुनुले महिनावारी भएका बेला अनुपस्थित हुने गरेको शिक्षक धामीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले हाम्रो विद्यालयमा सेनेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको अलगै छात्रा शौचालय पनि छ । सेनेटरी प्याड मेसिन पनि हामीले जडान गरिसकेका छौँ । यसले छात्रा नियमितरुपमा विद्यालय आउन सहयोग हुनेछ ।”

हाल विद्यालय बन्द रहेकाले मेसिन जडानसँगै सबै छात्रा र शिक्षिकालाई वितरण गर्नका लागि स्मार्ट कार्ड पनि विद्यालयलाई हस्तान्तरण गरिसकेको र विद्यालय सञ्चालनमा आएपछि छात्रा र शिक्षिकालाई वितरण गर्ने प्रधानाध्यापक जाग्रीले जानकारीदिनुभयो । यसअघि छविसपाथिभेरा गाउँपालिकाका बान्नीचौर , शान्ति र जनप्रिय मावि बगडगाउँमा मेसिन जडान गरिएको हो ।

विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्रा पनि खुसी छन् । थलारा मावि कक्षा ९ मा अध्यनरत छात्रा जानकी कुमारी जाग्रीले भनिन्, “मेसिन जडानले हाम्रो महिनावारीलाई सहज बनाउनेछ । महिनावारी हुँदा विद्यालयबाट भाग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । यो सुविधा सबै ठाउँमा पुगे झनै राम्रो हुन्थ्यो ।”
–––

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...