Admission Open

मासुको डल्लो पलाएर अनुहार छोपियो, उपचार पाइएन   

 

झापा : निधारमा निस्किएको मासुको डल्लो अस्वभाविक रुपमा बढ्दै जाँदा मेचीनगर नगरपालिका– ८ की ३५ वर्षीया विष्णुमाया मगरको अनुहार नै छोपिन थालेको छ ।

गीरबीका कारण उपचार गर्न नसकेर अनुहारभरि पलाएको मासुको डल्लो बोकेर भौतारिरहनुभएका विष्णुमायाको समस्या दिन प्रतिदिन बढ्दै गएको छ । निधारमा रहेको मासुको डल्लो बढ्दै गएर दुबै आँखा छोपिन लाग्दा उहाँलाई हेर्नसमेत समस्या भइरहेको छ । मासुको डल्लो झन–झन बढ्दै जाँदा अब के गर्ने भन्ने अन्यौलताले मगर परिवार चिन्तित छन् ।

“उपचार गर्न जाऔं, पैसा छैन । उपचार नगरौं, अनुहारमा अस्वभाविक रुपमा मासुको डल्लो बढ्दै जाँदा खानपिउन गर्न नै समस्या भइसक्यो,” उहाँले रासससँग भन्नुभयो । मासुको डल्लो बढेर नाक र मुख छोपिइसकेको र आँखा हेर्नसमेत समस्या हुँदै गएको उहाँले बताउनुभयो ।

आफ्नो घर नभएपछि काकाकाकीको घरमा बस्दै आउनु भएका उहाँ आर्थिक अभावका कारण उपचारका लागि अस्पताल जान नसकिएको र पीडा सहेर बस्नु परेको दुःखेसो पोख्नुभयो । उहाँको अनुहारमा के रोगका कारण मासु पलाएको भन्ने थाहा हुन सकेको छैन । काकाकाकीको आर्थिक अवस्था समेत कमजोर छ । बाल्यकालदेखि नै अनुहारमा साना गाठागुठी देखिएको र हाल अस्वभाविक रुपमा बढ्दै जाँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

काम गर्न नसक्ने अवस्था भएकाले जीविकाका लागि सहयोग माग्न उहाँ मङ्गलबार मेचीनगर नगरपालिकाकाप्रमुख बिमल आचार्यलाई भेट्न कार्यालय पुग्नुभएको थियो । आचार्यले नगरपालिकाले केही सहयोग गर्ने आश्वासन दिनुभयो । नगरका प्रमुखलाई भेटाउन सहयोग पु¥याउनु भएकी स्थानीय सामाजिक कार्यकर्ता निर्मला भण्डारीले शारीरिक अशक्त भएको हुँदा विष्णुमायालाई अपाङ्गता परिचयपत्र बनाउन सकेमा सामाजिक भत्ता पाएर जीविका चलाउन सहज हुने बताउनुभयो ।

अपाङ्गता प्रमाणपत्रका लागि पहल गरिदिन उहाँले नगरपालिकाका प्रमुख आचार्यलाई अनुरोध गर्नुभयो । उपचारका लागि निःशुल्क व्यवस्था हुनसके नयाँ जीवन पाउने उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...