Admission Open

सचेतनाका लागि सडकका मुख्य चोकमा ट्राफिक डमी   

 

बलेवा, ८ साउन : जिल्लामा पहिलोपटक नमूना (डमी) ट्राफिक प्रहरी स्थापना गरिएको छ । बजारमा जनचेतनाका लागि डमी ट्राफिक प्रहरी स्थापना गरिएको हो । टाढाबाट हेर्दा दुरुस्तै ट्राफिक प्रहरीजस्तै देखिने डमीले चालकलाई सचेत गराउने छ ।

डमी देखेपछि चालकले सवारीसाधनको गति नियन्त्रण गर्ने भएकाले दुर्घटना कमी गर्न सहज हुने ट्राफिक प्रहरी प्रमुख बद्री शर्मा तिमिल्सिनाले बताउनुभयो । जिल्लामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले थालेको अभियानमा सघाउ पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । जनशक्ति पनि कम भएकाले ट्राफिककै आकृतिमा डमी राखिएको हो । चालकलाई मनोवैज्ञानिक प्रभाव पार्ने र सर्वसाधारमा समेत ट्राफिक प्रहरीले दिनरात सेवा दिइरहेको अनुभूति गराउनकै लागि डमीको प्रयोग गरिएको तिमिल्सिनाले बताउनुभयो ।

ट्राफिक प्रहरीले बागलुङ उद्योग वाणिज्य सङ्घ, रोटरी क्लब र समाजसेवी शिव आचार्यको सहयोगमा डमी राखेको हो । डमीमा आवश्यकताअनुसारका सूचना पनि राख्न सकिने छ । “सवारी चालक तथा सर्वसाधारणलाई डमी देख्दा बित्तिकै ट्राफिक प्रहरीको झल्को आउने छ”, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले भन्नुभयो ।

जिल्लामा अहिले २९ ट्राफिक प्रहरीको दरबन्दी छ । सबै दरबन्दीमा जनशक्ति भने छैन । एक जनाले दैनिक ३०० बढी सवारीको निगरानी गर्नुपर्ने अवस्था रहेको तिमिल्सिनाले बताउनुभयो । डमी सन्देश दिने नमूना प्रहरी भएको जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर पल्लीमगरले बताउनुभयो । सदरमुकामका अति व्यस्त सडक बाघ चोक, गोल्डेन गेटचोक र ट्राफिक चोकमा गरी तीन डमी राखिएको छ ।

आवश्यकताअनुसार जिल्लाका अन्य ठाउँमा डमी राखिने ट्राफिक प्रहरीले जनाएको छ । गल्कोट नगरपालिकाको हटिया बजार क्षेत्र र ढोरपाटन नगरपालिकाको बुर्तिवाङ बजारमा पनि केही समयमा डमी राखिने योजना बनाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...