Greetings Dashain

विद्यार्थी खोज्दै शिक्षक घरघरमा 

विद्यार्थी भर्ना घरदैलो अभियान

अञ्जली थापा, हेटौँडा : मनहरि गाउँपालिका–४ स्थित पशुपतिनाथ माविका शिक्षक एक सातादेखि विद्यार्थीको खोजी गर्दै घरघरमा पुगेका छन् । वनकरिया समुदायका बालबालिका अध्ययन गर्ने नेपालकै एक मात्र सो विद्यालयमा साउनको पहिलो साता सकिँदा पनि विद्यार्थी सम्पर्कमा नाआएपछि विद्यार्थी भर्ना अभियानका लागि शिक्षकले घरदैलो अभियान थालेका हुन् ।

सरकारले नयाँ शैक्षिक सत्र २०७८ असारबाट शुरु गर्ने भनेको थियो । पशुपतिनाथ माविमा २०७७ को वार्षिक परीक्षामा ५४४ विद्यार्थीले परीक्षा दिएका थिए । विसं २०७८ असार महिनाभरि विद्यार्थी भर्ना गरी पाठ्यपुस्तक वितरण गर्ने योजना बनाएको विद्यालयले सोचेअनुरुप हुन नसकेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो ।

एक महिनाको अवधिमा ५० विद्यार्थी मात्र सम्पर्कमा आएकाले आफूहरु चिन्तित भएर भर्ना अभियान लिएर गाउँमा गएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अतिविपन्न र लोपोन्मुख जातिका बालबालिकालाई अध्ययन गराउने भएका कारण पनि घरदैलो अभियान चलाएका हौँ ।” खेतीपाती गर्ने मौसम भएकाले विद्यालयका शिक्षक विद्यार्थी र अभिभावकलाई भेट्न खेतबारीमै पुग्ने गरेको उहाँको भनाइ छ ।

कोरोना महामारीमा विद्यालय नपुगेसम्म अध्ययन÷अध्यापन सम्भव छैन भन्ने परिभाषा अहिले फेरिएको उहाँको भनाइ छ । भर्चुअल माध्यमबाट पनि विद्यार्थीको औपचारिक अध्ययन सम्भव भएको उल्लेख गर्दै अधिकांश अभिभावकसँग स्मार्ट फोन भए पनि इन्टरनेटको अभावमा अध्ययन गराउन केही असहज हुनसक्ने बताउनुभयो । यद्यपि केही उपाय लगाएर अध्ययन÷अध्यापन गराउन समयमा नै भर्ना गराउन आफूहरु लागिपरेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।

घरमा खाने गाँस कटाएर पनि अभिभावकले स्मार्टफोन किन्नुपरेकामा आफूलाई दुःख लागेको बताउँदै उहाँले विद्यार्थी सम्पर्कमा आएर पाठ्यपुस्तक लिएमा मात्र उनीहरुलाई वैकल्पिक माध्यमबाट शैक्षिक क्रियाकलापमा जोड्न सकिने छ भन्नुभयो । घरदैलो अभियानमा सङ्कलन गरिएको तथ्याङ्कअनुसार एक प्रतिशत विद्यार्थीको घरमा मात्र इन्टरनेट जोडिएको पाइएको प्रअ आचार्यले बताउनुभयो । भर्चुअल माध्यम सम्भव नभएको अवस्थामा अन्य विकल्प खोजी गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

असार महिनाभर विद्यार्थी भर्ना अभियान चलाए पनि विद्यार्थी भर्ना हुन नआएपछि शिक्षकले घरदैलो अभियान शुरु गरेको सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो विद्यालयमा चेपाङ, वनकरियालगायत विपन्न समुदायका बालबालिका पढ्ने विद्यालय भएका कारण पनि हामी आफैँ उनीहरुलाई विद्यालय ल्याउने कार्यमा सजग छौँ ।”

नेपाल टेलिकमले उपलब्ध गराएको कर्पोरेट युजर ग्रुप -सियुजी_ प्रविधि अपनाएर विद्यार्थीलाई नियमित सम्पर्क गर्ने तयारी गरिएको विद्यालयले जनाएको छ । परम्परागत कृषि पेशामा मात्र निर्भर रहेका मनहरि–४ मसिनेका अभिभावकले बालबालिकाको अध्ययनका लागि इन्टरनेट र कम्प्युटर तथा मोबाइल उपलब्ध गराउन सक्ने सम्भावना नदेखिएको अध्यक्ष गौतमले बताउनुभयो । सीमान्तकृत तथा लोपोन्मुख वनकरिया समुदायका १५ बालबालिका यो विद्यालयमा पढिरहेका छन् । बाइस घर वनकरिया परिवारमा १०० सदस्य रहेका छन् । इन्टरनेटको सुविधा यो समुदायमा पुग्न सकेको छैन ।

अभिभावकका मोबाइल डाटाबाट बालबालिकाले कहिलेकाहीँ नेट भने चलाउने गरेको सन्तोषी वनकरियाले बताउनुभयो । उहाँका अनुसार अभिभावक खेत र मजदुरीमा जानुपर्ने कारण पनि बालबालिकालाई भर्चुअल कक्षामा बसाउन गाह्रो भइरहेको छ । विद्यालयले भर्ना र अध्यापन गराउन घरमा आएर आग्रह गरे पनि प्रविधिले साथ नदिएको उहाँको भनाइ छ । आफू १२ कक्षा पास गरिसकेकाले आफ्नो समाजका बालबालिकालाई पढ्न प्रेरित गरिरहनुभएकी उहाँले हालसम्म १५÷२० वनकरियाले फेसबुक नै चलाउन थालिसकेको भए पनि सबै बालबालिकालाई भने नेटबाट पढाउन समस्या रहेको बताउनुभयो । भर्चुअल कक्षामा पढाइकै लागि डाटाबाट महङ्गो पर्ने भएकाले पनि सम्भव नभएको सन्तोषीको भनाइ छ ।

यसैगरी कक्षा ९ मा अध्यनरत अनिल वनकरियाले आफूहरु गोठालो गएर समय व्यतित गरिरहेको बताउनुभयो । उहाँले मोबाइल डाटा चलाउने भए पनि पढ्न नै पुग्ने गरी मोबाइलमा पैसा हाल्न पनि समस्या नै हुने बताउनुभयो । अभिभावक बुद्धिमान राईले आफ्ना बच्चा पढाउन मोबाइल डाटाबाट नसक्ने र इन्टरनेटको पहुँच नभएकाले पनि विद्यालयले भनेको जसरी बच्चा पढाउन नसकिने जानकारी विद्यालयलाई गराएको र विद्यालयले पनि अन्य उपाय अवलम्बन गर्ने आश्वासन दिएको उहाँको भनाइ छ ।

एक दशकअघिसम्म वनकरिया बस्तीबाट विद्यालय जाने दुई जना मात्र थिए । अरू बालबालिका जङ्गलमा कन्दमूल खोज्ने, खोलामा दिनभर माछा मार्ने र गोठाला जाने गर्थे । अहिले भने बस्तीमा परिवर्तन देखिएको छ । वनकरिया समुदाय मात्र होइन दनुवार राई, चेपाङ, तामाङ, दलित समुदायका बालबालिका पनि पशुपतिनाथ माविमा अध्ययन गरिरहेका छन् । ती समुदायमा इन्टरनेटको पहुँच छैन । अनलाइन कक्षा चलाउन सम्भव नभएपछि विद्यालयले अर्को विकल्प खोजी गरिरहेको बताइएको छ ।

पशुपतिनाथ माविको जस्तै अवस्था मकवानपुरका ग्रामीण क्षेत्रका विद्यालयले भोग्दै आएका छन् । भौतिक उपस्थिति, पुस्तक र कापी–कलमबिना पनि विद्यालयबाट औपचारिक अध्ययन गर्न सकिने, वेबसाइटमा पाठ्य सामग्री खोजेर पढ्न सकिने र शिक्षक शिक्षिकाले जुम र गुगल मिटमा पढाउने र इमेल, मेसेन्जर, वाट्सप, भाइबरजस्ता माध्यमबाटै गृहकार्य दिन थालेका छन् । पछिल्लो एक वर्षको अवधिमा वाग्मती प्रदेशका प्रायः शिक्षकलाई लामो छोटो अवधिको प्रविधिमैत्री तालिम प्रदान गरिएको वाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले २० प्रतिशतभन्दा कम शिक्षकमात्रै प्रविधिको प्रयोग गरी पढाउन सक्षम भएको बताउनुभयो । उहाँका अनुसार ग्रामीण भेगका कतिपय शिक्षक नै इन्टरनेटको पहुँचमा रहेका छैनन् । सबै शिक्षक प्रविधि चलाउन नजान्ने भएका कारण पनि समस्या भएको उहाँको भनाइ छ ।

सरकारले २०७७ चैत ११ गतेदेखि गरेको पहिलो चरणको बन्दाबन्दीका कारण शैक्षिक संस्था बन्द भएपछि शिक्षकले विद्यार्थीसँग सम्पर्कमा रहिरहने उपायको खोजी गरिहेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन -प्याब्सन_ ले विद्यार्थीलाई अनलाइन कक्षा अध्ययनका लागि सहजीकरण गरिरहेको छ । रासस

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...