Admission Open

प्रधानमन्त्रीद्वारा खोप अभियान शुरुआत   

काठमाडौँ, ४ साउन : प्रधानमन्त्री शेरबहादुर देउवाले गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ परिसरमा अपाङ्गता भएकालाई कोरोनाविरुद्ध खोप दिने अभियानको शुरुआत गर्नुभएको छ ।

उहाँले खगेन्द्र नवजीवन केन्द्रमा रहेका उनीहरुलाई खोप लगाउने कार्यको आज शुभारम्भ गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री देउवाले सबै नेपालीलाई खोप लगाउने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो । अमेरिकी सरकारबाट प्राप्त ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन थालिएको हो । सो अवसरमा नगर प्रमुख सन्तोष चालिसेले केन्द्रमा रहेका ३५० अपाङ्गता भएकालाई खोप लगाइने जानकारी दिनुभयो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार केन्द्रमा अपाङ्गता भएका १८ वर्षभन्दा माथिका क र ख वर्गको परिचयपत्र हुनेलाई खोप लगाइने छ । कोही छुटेमा नगरपालिकाले सञ्चालन गरेको वडा नं ५ चामुण्डा माध्यमिक विद्यालय र वडा नं ४ को सहयोगी माध्यमिक विद्यालय केन्द्रमा गई खोप लगाउन सक्ने जनाइएको छ ।

यसैगरी आजदेखि चामुण्डा र सहयोगी मावि केन्द्रमा १८ वर्ष माथिकालाई खोप लगाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । खोप कार्यक्रमलाई भौतिक दूरी कायम गरी सुरक्षित तरिकाले सम्पन्न गर्न स्वयंसेवकसमेत परिचालन गरिएको जनाइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...