धरान : बीपी प्रतिष्ठानमा विगत १५ दिनदेखि लगातार आन्दोलन जारी रहेकै समयमा प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलित चिकित्सकहरूलाई वार्तामा बोलाएर दुर्व्यवहार गरेका छन् ।
प्रतिष्ठानको सुधारको माग राखेर विगत १५ दिनदेखि आन्दोलनरत चिकित्सक र कर्मचारीहरूले रिले अनशनसमेत सुरु गरेका थिए । यसैवीच प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले आन्दोलित चिकित्सकहरूलाई वार्तामा बोलाएर अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका छन । त्यति मात्रै होईन वार्ताको समाचार संकलन गर्न प्रतिष्ठान पुगेका पत्रकारहरूलाई समेत दुर्व्यवहार भएको छ । आन्दोलित चिकित्सकहरूले उपकुलपति गिरीले मादक पदार्थ सेवन गरेर दुर्व्यवहार गरेको भन्दै उपकुलपतिको स्वास्थ्य परीक्षण गरेर कारवाही गर्नुपर्ने माग गरेका छन् । वार्तामा बोलाएर उपकुलपतिले दुर्व्यवहार गरेपछि आन्दोलनरत चिकित्सक र कर्मचारीहरू थप आन्दोलित बनेका छन् । प्रतिष्ठानका उपकुलपति गिरी १५ दिनदेखि सम्पर्क विहीन थिए ।
डा. ज्ञानेन्द्र गिरी विगत १५ महिनाअगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दबाब समूहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए। धरान नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर अल्टिमेटम दिएको थियो ।
प्रतिष्ठानका उपकुलपति गिरी, शिक्षाध्यक्ष डा. गुरु खनाल र रजिस्ट्रार डाक्टर मोहनचन्द्र रेग्मीलाइ आन्दोलनरत चिकित्सक, नर्स र कर्मचारीले कार्यालयमा थुनेर राखेका छन् । प्रहरीले उनीहरूलाई सुरक्षा दिएको छ भने चिकित्सकले आन्दोलनलाई थप चर्काएका छन् ।