Admission Open

बीपी प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई तीनदिनभित्र कार्यालयमा हाजिर हुन चेतावनी

सुनसरी : बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई तीनदिनभित्र कार्यालयमा हाजिर हुन धरानका विभिन्न नौ राजनैतिक दल र नागरिक दवाव सञ्जालले चेतावनी दिएका छन् । प्रतिष्ठान सुधारको माग राखेर धरानका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिष्ठानका चिकित्सक कर्मचारीहरूले आन्दोलन थालेपछि १३ दिनदेखि प्रतिष्ठानका उपकुलपति गिरी सम्पर्क विहीन बनेका छन् ।

पन्ध्र महिनाअगाडि प्रतिष्ठानको उपकुलपति भएर आए यता डा. गिरीले कार्यसम्पादन राम्रोसँग नगरेका कारण प्रतिष्ठानको अवस्था कमजोर भएको भन्दै प्रतिष्ठानमा चिकित्सक, कर्मचारी र धरान नागरिक दवाव समूहले छुट्टा छुट्टै आन्दोलन थालेका थिए । धरान नागरिक समाजले प्रतिष्ठान सुधार गर्न माग राखेर हप्तादिनको अल्टिमेटम दिए लगत्तै उपकुलपति गिरी काठमाडौं गएका थिए । नागरिक समाज र राजनैतिक दलहरुका जायज माग सम्बोधन गर्न छाडेर गिरी सम्पर्क विहीन भएपश्चात शुक्रबार नागरिक दवाव समूह र विभिन्न नौ राजनैतिक दलहरुले छुट्टाछुट्टै विज्ञप्ती प्रकाशित गरी तीनदिनभित्र कार्यालयमा हाजिर हुन चेतावनी दिएका छन् ।

नागरिक दबाव संचालन धरानको अगुवाईमा यहाँ क्रियाशिल राजनैतिक दलहरूले प्रतिष्ठानका चारैजना पदाधिकारीहरूलाई जेठ २४ गते हप्तादिनभित्र प्रतिष्ठान सुधार गर्न ध्यानाकर्षण बुझाएका थिए । तर उपकुलपति गिरी कार्यालयको काम छाडेर सम्पर्क विहीन भए पश्चात तीनदिनभित्र हाजिर हुन विभिन्न नौ राजनैतिक दलहरुले विज्ञप्ती प्रकाशित गरी उनलाई चेतावनी दिएको जनता समाजवादी पार्र्टीका धरानका अध्यक्ष ताजुव लिम्बुले बताए । उनले उपकुलपति गिरी तीनदिनभित्र कार्यालयमा हाजिर नभएर उनी विरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै धरान नागरिक दवाव सञ्जालका अध्यक्ष डा. राजेन्द्र शर्मा र सचिव कमल तिगेंलाले पनि विज्ञप्ती प्रकाशित गरी गिरीलाई तीनदिनभित्र कार्यालयमा हाजिर भएर धराने जनताको मागलाई सम्बोधन गर्न आग्रह गरेका छन् । गिरी उपकुलपति भएर आए यता प्रतिष्ठान ९० करोड घाटामा गएको, आर्थिक अनियमितताका घटनाले अख्तियारमा उजुरीको चाङ लागेको र स्वास्थय सेवा प्रकाभावकारी नभएको भन्दै तत्काल प्रतिष्ठान सुधार नगरे धराने जनताको तर्फबाट सशक्त आन्दोलन गर्ने सञ्जालका अध्यक्ष शर्माले चेतावनी दिएका छन् ।

गिरी विरुद्ध धरानका क्रियाशिल राजनैतिकदलहरू, एमाले, काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, संघीय लिम्बुवान मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, राप्रपा, र राप्रपा नेपालसमेत आन्दोलनमा उत्रिएका छन् । प्रतिष्ठानका सहायक प्रबक्ता डा. चुडामणि पोखरेलले उपकुलपति गिरी कार्यालयको काममा काठमाडौँ गएको जानकारी दिएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...