Admission Open

पुनः मन्त्रिपरिषद् विस्तारको तयारी : बस्नेत, अधिकारी र रानाको सम्भावना

काठमाडौं, २२ जेठ / प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तारको गृहकार्यलाई पुनः तीव्रता दिनुभएको छ । प्रधानमन्त्रीले आफूसँग राखेका सात मन्त्रालय विस्तार गरी सम्भवतः आइतबार साँझसम्म केही मन्त्रीलाई शपथ गराउने तयारीमा रहेको बुझिएको ।

आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लाग्नुभएको एमालेका नेताहरुले बताउनुभएको छ । नेता माधवकुमार नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुसँग सहमतिको संवाद जारी रहेकाले सो पक्षका नेताहरु सहमतिमा आएमा उहाँहरुलाई समेत मन्त्री बनाउने सोच प्रधानमन्त्रीको छ । तर अहिलेसम्म संवादले सार्थकता पाउन सकेको छैन ।

नाम नबताउने शर्तमा एक एमाले नेताले भन्नुभयो, “भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी गर्नुभएको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।” भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत मन्त्री हुनुभएमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिनुभयो ।

सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्नुभएका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमाले बृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिनु भएमा उहाँलाई गृह मन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गर्नुभएको बुझिएको छ । यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएका खगराज अधिकारी पनि गृहमन्त्रालयको इच्छा व्यक्त गर्नुभएको एमाले स्रोतले बताएको छ ।

नारदमुनी राना कैलाली क्षेत्र नं ५ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका धर्मपत्नी आरजु देउवा राणालाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने माग एमाले भित्र शुरुदेखि नै छ । तर उहाँले अहिलेसम्म अवसर प्राप्त गर्नुभएको छैन । सम्भवतः भोलि शपथ खानुहुने मन्त्रीमा रानाको नाम सुनिश्चित् हुने बुझाई एमाले नेताहरुको छ । थारु समुदायलाई पनि मन्त्रिपरिषदमा समेट्नुपर्ने माग रहेकाले रानाको सम्भावना बलियो भएको धेरैको बुझाई छ । यद्यपि राना समुदायले थारु समुदायबाट आफूलाई अलग सूचीकरण गरिसकेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...