Admission Open

आठ मन्त्रालयसहित सरकारमा सामेल हुँदै ठाकुर-महतो, मन्त्रीको चर्चामा को को ?

काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ठाकुर-महतो समूह सरकारमा जाने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलको छलफलमा उक्त समूह ८ मन्त्रालयसहित सरकारमा जान लागेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले जसपाका माग सम्बोधन गरेकाले सरकारमा सहभागी हुनका लागि ठाकुर-महतो समूह तयार भएको हो ।

उनीहरुले गृह मन्त्रालयसहित ८ मन्त्रालय र २ राज्यमन्त्री मागेका थिए । तर प्रधानमन्त्रीले गृह नदिई ८ मन्त्रालय र २ राज्यमन्त्री दिन सहमत भएको बुझिएको छ ।

सहमतिअनुसार जसपा सरकारमा तत्काल सहभागी हुने भएपनि पार्टी भित्रको आन्तरिक विवादका कारण केही ढिलो हुने नेता कर्णले जानकारी दिनुभयो । भोलि नै त हामी सरकारमा सहभागी हुन सक्दैनौं, मन्त्रालयको संख्या टुङ्गो लागेपनि पार्टीभित्र कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने आन्तरिक गृहकार्य गर्न बाँकी छ उहाँले भन्नुभयो, “जसपाको तर्फबाट सबै मन्त्री एकैदिन सहभागी हुने वातावरण बनाउँछौं, कोही अघि र कोही पछि जाने हाम्रो सोच छैन ।”

जसपाबाट संसदीयदलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी जनाउने तयारी सो दलले गरेको छ । अहिलेसम्म मन्त्री हुने सूचीमा अनिलकुमार झा, शरतसिंह भण्डारी, उमाशंकर अरगरिया, एकवाल मियाँ, विमल श्रीवास्तव, चन्दा चौधरी, रेणुका गुरुङ लगायतको नाम चर्चामा छ । यद्यपि उपेन्द्र यादव पक्ष त्याग गरेर ठाकुर पक्षमा लागेका सांसदको माग मन्त्री हुनपाउने रहेको बताइएको छ ।

ठाकुर–महतो पक्षमा अहिले २० सांसद रहेको सो दलले जनाएको छ । जसपाको कुल ३२ सांसद छन् । सरकारमा जाने सहमति भइसके पनि पार्टीको आन्तरिक तयारीले एक दुई दिन समय लाग्ने नेता कर्णले बताउनुभयो । बैठकमा बाँकी अन्य विषयमा समिक्षात्मक छलफल भएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...