Admission Open

अनुदानमा धानको बीउ वितरण

नेपालगञ्ज/ नेपालगञ्ज उपमहानगरपालिकाले नगरक्षेत्रभित्रका किसानलाई सहुलियत दरमा उन्नत जातको धानको बिउ वितरण शुरु गरेको छ । उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको शिउ वितरण शुरु गरेको हो ।

नगर प्रमुख डा धवलशम्शेर राणाले आजदेखि शुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ । किसानलाई झण्डै १६ मेट्रिक टन धानको बिउ वितरण गर्न लागिएको छ । पचास प्रतिशत अनुदान प्राप्त गर्ने भएपछि धानको बिउ लिन किसानहरुको लाम लागेको छ ।

किसानको आवश्यकतानुसार कम्तीमा ३५ किलोको एक बोरी धानको बिउ उपलब्ध गराउने गरिएको छ । राधा–४, रामधान, बहुगुणे–२ र सावा मन्सुरी सबवन गरी चार किसिमका धानका बिउ वितरण भइरहेको उपमहानगरपालिकाले जनाएको छ ।

अरब सागरको ‘ताउ—ते’ सामुद्रिक चक्रवातका कारण नेपालगञ्जमा तीन दिनसम्म परेको अविरल झरीपछि यहाँका किसान धानको बेर्ना रोप्न जुटेका छन् । कृषि ज्ञान केन्द्रका अनुसार नेपालगञ्जसहित बाँके जिल्लाभरि यस वर्ष ३६ हजार हेक्टरमा धान खेती हुने आकलन गरिएको छ । शुरुआती चरणमै राम्रो वर्षा भएकाले रोपाइँ सप्रने अपेक्षा गरिएको छ । यहाँ उत्पादन भएको आधा धान चामलमा परिणत गरी कर्णाली लगायत विभिन्न जिल्लामा निर्यात हुँदै आएको केन्द्रले जनाएको छ ।

नेपालगञ्जसहित बाँके जिल्ला धानबालीमा अत्मनिर्भर भएको जिल्ला हो । जिल्लाका अधिकांश किसानका लागि धानबाली मुख्य आर्थिक स्रोतका रूपमा रहेको छ । धानको उत्पादन वृद्धि गर्नका लागि यहाँ धान ब्लक, धान पकेट तथा स्मार्ट कृषि गाउँ कार्यक्रम पनि लागु भएको छ । यो कार्यक्रमले पनि धानको उत्पादनमा वृद्धि गर्ने बताइएको छ ।
यसका साथै यहाँ यस वर्षदेखि सिँचाइ सुविधा उपलव्ध भएका कारण पनि धानको राम्रो उत्पादन हुने अपेक्षा गरिएको छ । सिक्टा सिँचाइ आयोजनाले किसानका अधिकांश खेतमा बाह्रै महिना सिँचाइ सुविधा पु¥याएको छ । विगतमा आकाशे पानीको भरमा धान खेती हुँदै आएकामा आयोजनाले नहरमा पानी छोडेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्तीसोनारी, बैजनाथ र जानकी गाउँपालिकाका खेतीयोग्य जमीन हराभरा हुँदै आएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...