Admission Open

गहुँ उत्पादन घट्यो, हावाहुरीले तरकारीमा क्षति

रुकुम (पूर्व)मा यस वर्ष गहुँ उत्पादनमा गिरावट आएको छ । जिल्लाको मकैपछि दोस्रो प्रमुख खाद्यान्न बालीका रुपमा रहेको गहुँ उत्पादनमा गिरावट आउँदा कृषक समस्यामा परेका छन् ।

यस वर्ष जिल्लाभर ६ हजार ४६ दशमलव ४५ मेट्रिक टन गहुँ उत्पादन भएको छ । यो गत वर्षको तुलनामा ३८ प्रतिशतले कम उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुमले जनाएको छ । गत वर्ष नौ हजार ७५२ दशमलव ३४ प्रतिशत गहुँ उत्पादन भएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत थलराज बस्नेतले जानकारी दिनुभयो । गत वर्षको तुलनामा हेर्ने हो भने सिस्ने र पुथाउत्तरगङ्गा गाउँपालिकामा उत्पादनमा अलि बढी गिरावट आएको छ । भूमे गाउँपालिकामा भने उत्पादनमा धेरै गिरावट नआएको कृषि अधिकृत बस्नेतले बताउनुभयो ।

जिल्लामा अहिले २० हजार २६५ हेक्टर क्षेत्रफल जमीन खेतीयोग्य रहेको छ । यसमा १६ हजार ३७० हेक्टर क्षेत्रफलमा विभिन्न प्रकारका खेतीपाती गरिएको छ । यसमा पनि तीन हजार २७२ दशमलव ६ हेक्टर क्षेत्रफल जमीनमा गहुँ खेती गरिएको कृषि अधिकृत बस्नेतले बताउनुभयो । जिल्लामा सिँचाइको सुविधा नहुनु र आकाशबाट पनि पानी नपर्नु गहुँ उत्पादनमा कमी आउनुको मुख्य कारण रहेको कृषि कार्यालयले जनाएको छ ।

सिँचाइ सुविधा नहुँदा यहाँका कृषकले आकाशे पानीको भरमा खेती गरिरहेका छन् । जिल्लाको कूल खेतीयोग्य जमीनको सात हजार ५९३ हेक्टर क्षेत्रफल जमीनमा सिँचाइको सुविधा छ । योभन्दा अघिल्लो बाली मकै बालीमा पनि सलह किराले क्षति गरेको थियो ।

पानी नपरेर गहुँ बाली पनि राम्रो नभएपछि अहिले कृषक मारमा परेका छन् । यस्तै यहाँका कृषकले उन्नत जातको नभई परम्परागत रुपमा लगाउँदै आएको बीउँ छर्नाका साथै परम्परागत खेती प्राणालीलाई अँगाल्नुले पनि गहुँ उत्पादनमा कमी आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका कृषि अधिकृत बस्नेतले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...