Admission Open

भूकम्पकोे पीडाले भन्दा ऋणले पोल्छ: भूकम्प पीडित

बलेवा: गोरखा भूकम्पपछि बागलुङ नगरपालिका–१४ नारायणस्थानका लालप्रसाद शर्माले नयाँ घर बनाउनुभयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको लाभग्राहीको सूचिमा सूचिकृत हुनुभएका उहाँले छाना छाउने बेला पुतली गाह्रो लगाएकोले तेस्रो किस्ता भुक्तानी पाउनुभएन् ।

दोश्रो किस्ता पाएर मापदण्ड अनुसारकै काम गरेपनि छाउँदाको पुतली गाह्रो हटाएपछि मात्रै प्राधिकरणले मापदण्ड मान्ने र भुक्तानी दिने भनेर प्रगती र भुक्तानी रोकेको छ । जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्रेमबहादुर लम्सालले भत्केको घर प्राविधिक आउनुपूर्व नै तयार गर्नुभयो । उहाँले पनि तेस्रो किस्ताको रकम पाउनुभएको छैन् । प्राधिकरणले तोकेको मापदण्डअनुसार नभएको जनाउँदै किस्ताको रकम रोकिएको उहाँले गुनासो गर्नुभयो ।

विसं। २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले घर भत्किँदा छोराछोरी च्यापेर दगुरेको पीडाभन्दा सरकारीअनुदान पाउने आशामा काढेको ऋणले उहाँहरुलाई पोलिरहेको छ । जिल्लामा पुनःनिर्माण प्राधिकरणले भुक्तानी रोकेका कारण पीडामा ऋणको भारी बोकेकाको सङ्ख्या धेरै छ । ताराखोला गाउँपालिकाका एक लाभग्राहीले ढुङ्गाले छाएको भनेर प्राधिकरणका प्राविधिकले मूल्याङ्कन नगरेपछि किस्ता पाएका छैनन् । उनको ढुङ्गाको छाना फालेरजस्ता लगाउनुपर्ने भन्दै जिल्ला तहका प्राविधिकले रोकेको गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले जानकारी दिनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणको काम थालेको छ वर्षमा पनि जिल्लामा अझै २८ प्रतिशत लाभग्राहीको घर बन्न सकेको छैन । महाभूकम्पको पाँच वर्ष पुग्दा पीडितले कहालिलाग्दो दिन सम्झिरहेकाछन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत जिल्लाका निजी आवास निर्माणमा ७२ प्रतिशत मात्रै प्रगतिदेखिएको हो । दुई हजार ४५२ निजी आबास निर्माण गर्नुपर्ने प्राधिकरणले अझै ५०० घर निर्माण गर्न नसकेको हो । जिल्ला आयोजना कार्यालयका निमित्त प्रमुख रेणुका पाण्डेकाअनुसार २४४ घर निर्माणाधीन छन् । सन्ताउन्न घरले किस्ता नलगेको र २०१ घरले सम्झौता नगरेकोले लाभग्राहीबाट स्वःतह हटाइएको उहाँले बताउनुभयो । प्राधिकरणले पाँच वर्षको अवधिमा दुई पक्की पुल निर्माण गरिरहेको र झण्डै १० किमी सडक निर्माण गरेको छ । जिल्लाका १७९ विद्यालयमध्ये हालसम्म ११६ भवन निर्माण सम्पन्न भएका छन् । त्रिसठ्ठी विद्यालय निर्माणाधीन अवस्थामा छन् । यो अवधिमा दुई स्वास्थ्य चौकीसमेत निर्माण भएका छन् । अन्ठाउन्न विद्यालयको शौचालय निर्माणकालागि लाभग्राहीको सूचिमा समावेशमध्ये ४० शौचालय बनेका छन् । अझै १८ शौचालय निर्माणाधीन रहेको शिक्षा अधिकारी मोतीलाल चपाइँले जानकारी दिनुभयो ।

उहाँले विद्यालय हेर्ने शिक्षा शाखा, भवन हेर्ने र समग्रता हेर्ने गरी तीन प्रकारका कार्यालय भएकोले प्राविधिक र लाभग्राहीले समन्वयको अभाव भएको गुनासो गर्नुभयो । प्राधिकरणले जिल्लामा निर्माण गरिरहेको एकीकृत वस्तिको काम भने अन्तिम चरणमा पुगेको छ । यही वैशाख महिनाभित्रै काठेखोला गाउँपालिका–५ बिहुँमा निर्माणाधीन एकीकृत वस्तिको काम सकिने जनाइएको छ । दश परिवारकालागि बनिरहेका घरमध्ये सात घर निर्माण सम्पन्न भएकाछन् भने बाँकी तीन घरको निर्माणको काम चलिरहेको छ । बस्तिमा निर्माण गरिने सडक, खोपानी, शौचालय, विद्युत्लगायतका संरचनाको निर्माण भने अन्यौल छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...