Admission Open

पुनर्निर्मित धरहराको टावरतर्फको भाग उद्घाटन वैशाख ११ मा गरिँदै

काठमाडौं, २९ चैत : पुनर्निर्माण गरिएको धरहराको टावरतर्फको भाग वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने भएको हो ।

नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको र अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । साथै गजुर राख्ने काम पनि केही दिनभित्रै सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

२०७२ वैशाख १२ को बिनासकारी भूकम्पले ढालेको धरहरा पुनः उद्घाटन हुन लागेको हो । उहाँले भन्नुभयो, ‘शोकको दिन कार्यक्रम गर्नु उचित नहुने भएकाले वैशाख ११ लाई उद्घाटनको दिन तोकेका हौं ।’

उहाँका अनुसार धरहराको पार्किङ र बगैँचातर्फको काम निरन्तर भईरहेको छ तर सम्पन्न भई सकेको छैन । धरहरा वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको हो । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

पार्कतर्फ काम नसकिएपछि भूकम्पले क्षतिग्रस्त सम्पदा उठ्नु गौरबको विषय भएकाले वैशाख १२ गते अघि नै उद्घाटन गर्न लागिएको इन्जिनियर मानन्धरले बताउनु भयो ।

धरहरा बाहिरबाट हेर्दा पुरानै डिजाइनमा बनेपनि भित्र सुविधासम्पन्न छ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना २२ तलाको छ ।

वि.सं. १९९० सालको भुकम्पअघि धरहरा ११ तलाको थियो । भुकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । प्राधिकरणका अनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट छ ।

पुर्ननिर्मित धरहराको टावरमा चढ्न र ओर्लिन दुईतर्फी लिफ्ट राखिएको छ । अहिले भग्नावशेष रहेको असली धरहराको भागलाई संरक्षण गर्न सिसाले ढाक्ने योजना रहेको छ तर अहिले भने सिसा भित्र हाल्न बाँकी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...