Admission Open

काठमाडौँमा घोडेजात्रा पर्व मनाइँदै

काठमाडौँ, २९ चैत ः हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाईने घोडेजात्रा यस वर्ष चैत २९ गते आइतबार मनाइँदै छ । विशेष गरी काठमाडौँ उपत्यकामा मनाईने यो जात्रा मनाउनुका पछाडि विभिन्न किंवदन्तीहरु रहेको पाईन्छ । किंवदन्तीअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नामक राक्षसले शहरका बालबालिकालाई धेरैदुःख दिने र मार्नेसमेत गथ्र्यो । राक्षसले त्यसरी दुःख दिएपछि त्यस राक्षसलाई टुँडिखेलमा गाडिएको र त्यसो गर्दासमेत राक्षसको प्रेतआत्माले दुःख दिन नछोडेपछि राक्षसको आत्मालाई पनि घोडाको टापले कुल्चाएर दबाउने गरेको विश्वास गरिन्छ ।
घोडेजात्राको बिहानै सेनाको क्याभलरी युनिटले धर्मपथमा रहेको जुद्धवारुणयन्त्र कार्यालय सामुन्नेको रेवन्त पीठ र नाट्येश्वरमा बलि दिएपछि उपत्यकामा यो जात्रा सुरु हुने परम्परा रहेको ओमबहालका भुवन शाक्यले बताउनुभयो । राक्षसको आत्मालाई घोडाको टापले थिचेर राख्ने प्रचलनअनुसार टुँडिखेलमा उत्सवका रूपमा घोडेजात्रा मनाइँदै आएको मानिन्छ ।

जानकारहरुका अनुसार पहिलेपहिले नेवार समुदायले यो जात्रा टुँडिखेलमा गर्दै आएका भए पनि सैनिक ब्यारेकको स्थापनासँगै जनरल भीमसेन थापाको पालादेखि नेपाली सेनाले घोडादौड, अश्वकला प्रदर्शन गरेर जात्रा मनाउन सुरु गरिएको हो । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । त्यसैगरी यस दिन पाटनको बालकुमारीमा पनि एउटा कानु घोडालाई हाहाहुहु गर्दै सहर डुलाएर यो जात्रा मनाउने चलन रहेको छ । यो जात्रालाई हरियो लसुन, छ्यापी, सागपातको स्वाद हराउँदै गएको सूचकका रूपमा पनि लिने गरिन्छ । टुँडिखेलमा जात्राको बढाइँ सकिएपछि उपत्यकाबासीले फर्सी, लौका, सिमी, बोडी, घिरौँलाजस्ता लहरे तरकारीको बीउ रोप्ने प्रचलन रहेको छ ।
बुढापाकाको भनाइअनुसार घोडेजात्राका नेवार, तीजका महिला, सोह्रश्राद्धका ब्राह्मण र असार पन्ध्रका रोपारसँग त्यो दिन ठट्टा गर्ने समय हुन्न भनिन्छ । यसो भए पनि मदिरापान गरेर घोडेजात्रा मनाउन÷हेर्न हिँडेकालाई ‘कता जान लागेको हो ?’ भनेर सोध्ने प्रचलन अझै छ । यसरी प्रश्न गर्दा घोडेजात्रा हेर्न हिँडेको व्यक्तिले ‘श्री ३ जङ्गबहादुरको घोडा किन्न हिँडेको हुँ’ भनेर जवाफ फर्काउने प्रचलनसमेत छ । पशुपति क्षेत्रमा भने यही जात्राको दिन बज्रेश्वरी र बच्छलेश्वरीको जात्रा गर्ने प्रचलनसमेत रहेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...