Admission Open

कृषकलाई मूल बीउ वितरण

तनहुँ, १९ चैत : जिल्लाको बन्दीपुर गाउँपालिकाले बीउमा आत्मनिर्भर बनाउने उद्देश्यले मूल बीउ वितरण गरेको छ । गाउँपालिकाले अरुण–२ उन्नत जातको १२० किलोग्राम मकैको बीउ मूलबीउ लागि वितरण गरेको हो ।

गाउँपालिकाभित्रका कृषक बीउका लागि अन्यत्र धाउनु नपर्ने गरी उन्नत बीउमा आत्मनिर्भर बनाउनका लागि मूल बीउ वितरण गरिएको बन्दीपुर गाउँपालिका कृषि शाखाका प्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । बीज वृद्धिका लागि समूह र सहकारीको मागअनुरुप बीउ उपलब्ध गराइएको हो । उहाँले भन्नुभयो, “मूल बीउबाट उत्पादित बीउ अर्को वर्ष कृषकलाई पुनः वितरण गरिनेछ ।”

नेपाल कृषि अनुसन्धान परिषद्बाट उत्पादन गरिएको उन्नत मकैको बीउ गरिएको सो पालिकाले जनाएको छ । कृषकले बीउ खोज्दै हिँड्नुपर्ने समस्यालाई अन्त्य गर्नका लागि पालिकाले यस किसिमको अभियान चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

यसैगरी तरकारी खेतीका लागि ४७ घरधुरीका कृषकलाई टनेल निर्माणका लागि ९५ थान प्लाष्टिक वितरण गरिएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाको ६० प्रतिशत र कृषकको ४० प्रतिशत लगानीमा बीउ र टनेल वितरण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाले धान, सुन्तला र मकै खेतीका लागि पकेट क्षेत्र बनाउनका लागि विभिन्न क्षेत्रलाई प्रस्तावित गरेको छ । धरमपानी क्षेत्रलाई सुन्तला, शेराटारलाई मकै र झप्रीलाई धानखेतीका लागि पकेट क्षेत्र बनाउन प्रस्तावित गरेको हो । उक्त स्थानको छिट्टै अवलोकन तथा अनुसन्धान गरी पकेट क्षेत्र घोषणा गर्ने योजना गाउँपालिकाको रहेको बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...