Admission Open

अम्रिसो भारत निर्यात हुँदा नेपालमा कुचोको मूल्य बढ्यो

–देवेन्द्र कार्की
धरान, १ चैत : पहाडी जिल्लामा उत्पादन हुने नगदेबालीका रुपमा रहेको अम्रिसो कुचोको मूल्य यो वर्ष उच्च भएको छ । अम्रिसो भारत निर्यात हुन थालेपछि यस वर्ष कुचोको मूल्य पनि आकासिएको बताइएको छ । विगतमा प्रतिवटा रु ४० का दरले बिक्री हुँदै आएको अम्रिसो कुचो अहिले बजारमा रु १०० देखि १३० सम्म बिक्री भइरहेको पाइएको छ ।

अम्रिसो कुचोको मूल्य गत वर्षको तुलनामा तीनगुणा बढेको सुनसरी धरानस्थित कृषिउपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँले गएको वर्षमा रु ४० का दरले बिक्री गर्न पनि कठिनाइ भएकामा अहिले मूल्य बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “अम्रिसो कुचो भारतीय मजदूरले प्याक गरेर भारत लाने गरेका छन्, नेपाली बजारमा १० प्रतिशत मात्र बिक्री हुने अम्रिसो कुचोको ठूलो बजार भारत हो । अहिले भारततर्फ कम्तीमा पनि ९० प्रतिशत अम्रिसो निर्यात भएको छ ।”

पहिले विदेश त्यति निर्यात नहुने गरेको अम्रिसो केही वर्ष यतादेखि भारतीय बजारमा माग बढ्दा यता नेपाली बजारमा मूल्य बढेको बताइएको हो । सामान्य पाखो जमीनमा उत्पादन हुने अम्रिसो कुचोको भाउ यस वर्ष सोचेभन्दा उच्च भएपछि कृषक भने खुशी भएका छन् । कतिपय किसान अम्रिसो खेतीमा लाग्न थालेका छन् ।

धरान–२० विष्णुपादुकाको तामाखाममा करीब पाँच बिघा जग्गाको पाखो भित्तामा अम्रिसो खेती गर्दै आएका कृषक आइत राई यो वर्ष मूल्य राम्रो पाउँदा खुशी हुनुभएको छ । “यसमा हाम्रो केही मेहनत हुँदैन । एक पटक रोपेपछि धेरै वर्षसम्म केही गर्नुपर्दैन । पाखा बारीमा लगाएको अम्रिसोले राम्रै आम्दानी ग¥र्यो”, कृषक राईले भन्नुभयो । एकपटक रोपेपछि करीब २० वर्ष खासै स्याहार, गोडमेल, मल पानी लगाउन नपर्ने भएकाले लागत खर्च कम हुने गरेको छ । भाउ बढ्यो भने फाइदैफाइदा छ । यो वर्ष कुचोको भाउ बढेकाले कृषक निराश हुनु नपरेको कुचो व्यवसायी बिनोद कुलुङ बताउनुहुन्छ ।

विनोद कुलुङ, दीपक साहलगायतले धरानको कृषिउपज बजारमा कुचो बिक्री गर्दै आउनुभएको छ । उहाँहरुले कृषकबाट अम्रिसो सङ्कलन गरेर भारतीय बजारमा पठाउने गर्नुभएको छ । अहिले भारतीय बजारमा यसको निर्यात बढ्न थालेपछि धेरै किसान तथा व्यवसायी अम्रिसोको उत्पादन व्यवसायमा लागेका पाइएको छ ।

कृषिउपज बजारका व्यवस्थापक भट्टराईका अनुसार चालू आर्थिक वर्षको फागुनको पहिलो सातासम्ममा चार हजार ५०० मेट्रिकटन अम्रिसो कुचोको कारोवार भएको छ । हालकै मूल्य कायम रहे रु ५६ करोडभन्दा बढीको आम्दानी हुने बजारले अनुमान गरेको छ । कुचो चैत र वैशाखसम्म बिक्री हुन्छ । गत वर्ष तीन हजार ६९९ मेट्रिकटन कुचो बिक्री हुँदा रु १५ करोड मात्र आम्दानी भएको थियो ।

कुचोको मुख्य याम माघबाट शुरु भई वैशाखसम्म आउने गर्छ । नेपालमा उत्पादन भएकामध्ये १० प्रतिशत मात्र यहाँ खपत हुने गरेको कृषिउपज बजारको अध्ययन छ । अम्रिसो व्यवसायी विनोद राईले फागुन पहिलो सातासम्ममा करीब १० टन अम्रिसोको कारोवार भएको बताउनुभयो । यो वर्ष उहाँले मात्र रु १३ लाखको कारोवार भएको जानकारी दिनुभयो ।

सामुदायिक वन क्षेत्र वा निजी जग्गामा रोपिएको अम्रिसो खेतीबाट किसानले वार्षिकरूपमा लाखाँैको आम्दानी गर्ने गरेका छन् । सामुदायिक वन क्षेत्रको नाङ्गो डाँडा र आफ्नो बारीलाई सदुपयोग गर्दै यो खेतीलाई आम्दानीको मुख्य स्रोत कृषकले बनाएका छन् । अम्रिसो खेतीमा कम लगानी, कम मेहनत र बढी आम्दानी हुने स्रोत हो ।

अम्रिसोको फूलबाट कुचो प्रयोग गर्न सकिने र अर्कातर्फ पात खुवाउँदा गाई भैँसीको दूध बढ्ने किसानको भनाइ छ । “गाईबस्तुका लागि पोसिलो घाँस मानिन्छ”, कटारी नगरपालिका– १३ की सावित्री राउत भन्नुहुन्छ, “फूलको कुचो बनाएर बिक्री गर्दा घर खर्च टर्ने पैसा कमाउन सकिन्छ । परिवारलाई पालन–पोषण, शिक्षादीक्षा दिन र चाडपर्वमा खर्च गर्नसमेत अम्रिसोबाट आम्दानी भएको छ ।”

अम्रिसोको फूल तयार हुने बेला व्यापारी गाउँघरमै पुग्ने भएकाले बिक्रीका लागि किसानलाई सजिलोसमेत भएको छ । अम्रिसो कुचोका लागि मात्र नभएर अम्रिसो पर्यटकको आकर्षण पनि बन्न थालेको छ । इलामको निस्दी गाउँपालिका–३ झिरुबाँसस्थित काउलेडाँडा कबुलियती वन समूहद्वारा गरिएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याउँदै आएको छ । अम्रिसो खेतीले हराभरा बनेपछि यस क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । पहिले उजाड डाँडा क्षेत्र अहिले अम्रिसो खेतीले रमणीय बनेको स्थानीय बताउँछन् । यहाँको २२५ हेक्टर वन क्षेत्रमा व्यावसायिक अम्रिसो खेती हुँदै आएको छ ।

इलामको चिया बगानको झल्को काउलेडाँडाको अम्रिसो खेतीले दिएको छ । व्यावसायिक अम्रिसोखेतीको अध्ययन अनुसन्धान गर्नेहरु रुचिसाथ अम्रिसोको बगानमा पुग्ने गरेको स्थानीय बताउँछन् । दैनिक चारदेखि २० वटा समूहसम्मका पर्यटक काउलेडाँडा पुग्ने गरेका छन् । हिमाली सुन्दर दृश्य, मगर संस्कृति र अम्रिसो बगान सुन्दर दृश्यले पर्यटकलाई लोभ्याउने वन क्षेत्र अहिले स्थानीय बासिन्दाको जीविकोपार्जनमा टेवा पु¥याउन सफल बनेको छ ।

डाँडाको वन क्षेत्रको अम्रिसोखेतीले पर्यटकलाई लोभ्याउन मात्र सफल मात्र भएको छैन, स्थानीय बासिन्दालाई अम्रिसोको फूलबाट दुईचार पैसा हात पनि परेको छ । अम्रिसो खेतीपछि गाईभैँसी पालनप्रति आकर्षण बढ्दो छ । अम्रिसोको पात घाँसका रुपमा प्रयोग हुन्छ । डाँडाबस्तीमा घाँसको समस्यासमेत अम्रिसोले हल हुँदै गएको स्थानीयवासीको भनाइ छ । अम्रिसोसँगै त्यहाँ तेजपात, टिमुरलगायत बिरुवा पनि रोपिएको छ ।

पूर्वी नेपालका पहाडी धनकुटा, तेह्रथुम, भोजपुर, सङ्खुवासभा, खोटाङ, उदयपुर र पाँचथर तथा तराईका सुनसरीको विष्णुपादुका, सेर्गे, मोरङको उत्तरीक्षेत्रमा उत्पादित कुचो धरानमा सङ्कलन हुन्छ । अम्रिसो कृषकबाट जस्ताको त्यस्तै कच्चा मालको रुपमा थोक मूल्यमा खरीद गरेर झापाको धुलाबारी र मोरङको विराटनगरका व्यापारीलाई बिक्री गरेपछि त्यहाँका व्यापारीहरुले थप ब्राण्डिङ, प्याकेजिङ गर्ने र ५० किलोका बण्डल बनाएर भारतीय व्यापारीलाई बिक्री गर्ने गरेको कृषि उपज बजारका व्यवस्थापक भट्टराई बताउनुहुन्छ ।

भारत निर्यात भएपछि बण्डलबाट अम्रिसोको स्टिक झिकेर सानो–सानो मुठाको कुचो बनाएर उपभोक्ताको घरसम्म पु¥याउने गरिन्छ । त्यसको मूल्य दोब्बर हुने व्यवसायी बताउँछन् । बजार व्यवस्थापक भट्टराईले भन्नुभयो, “नेपालमै तयारी अवस्थाको कुचो बनाएर ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने हो भने वार्षिक अर्बौं रुपैयाँको कुचो भारत निर्यात गर्न सकिन्छ । तर त्यसका लागि सरकारले पूर्वाधार तयार गर्नु जरुरी छ ।”

नेपालको भौगोलिक बनावटअनुसार अम्रिसो कुचो खेती गर्ने प्रशस्त ठाउँ रहेको छ । पहाडी क्षेत्रमा यस कुचोको राम्रो उत्पादन हुने गरेको छ । तर भारतीय बजारमा यसको माग अधिक भएको सूचना नपाउँदा कृषकले उत्पादन गरेको कुचो त्यत्तिकै खेर गएको छ । उत्पादन भएको अम्रिसो कुचोलाई ब्राण्डिङ, प्याकेजिङ, मार्केटिङ र लेवलिङ गर्ने काम नेपालमा व्यवस्थापन गर्ने हो भने यसले राम्रो आम्दानी नेपाल भित्र्याउन सकिने व्यापारीहरु बताउनुहुन्छ ।

नेपाली अम्रिसो भारतको पश्चिम बङ्गाल, गुजरात, राजस्थान, पञ्जाब, बेंगलोर, दिल्ली, आन्द्र प्रदेशलगायत राज्यमा जाने गरेको छ । आर्थिक वर्ष ०७४÷७५ मा पूर्वी नाका हुँदै रु ४२ करोड २६ लाख ५६ हजारकोे १३ हजार २०८ टन अम्रिसो निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाको तथ्याङ्कमा देखिएको छ ।

विकिपिडियाका अनुसार अम्रिसोलाई लामो डाँठ हुने एक प्रकारको घाँस भनेको छ । यो नेपालको मध्य तथा पूर्वी पहाडी भेगमा प्रशस्त पाइन्छ । अम्रिसो फुल्दा त्यसको माथिबाट कुचो निस्कन्छ । ताप्लेजुङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटा, आदि स्थानमा कुचो कृषकको मुख्य आम्दानीको एक स्रोतमध्ये पर्ने गरेको छ । बनस्पति जगतको फूल फुल्ने प्रजातिअन्तर्गत अम्रिसो पर्दछ ।

अम्रिसोलाई स्थानीयरूपमा उपलब्ध हुने बहुवर्षीय, बहुउपयोगी घाँस मानिन्छ । यस घाँसमा क्याल्सियमको मात्रा प्रशस्त पाइने भएकाले दुधालु पशुमा देखिने गरेका कतिपय रोगको सम्भावना कम हुन्छ । अम्रिसो एकपटक लगाएपछि १०–१५ वर्षसम्म हरियो घाँस दिइरहन सक्दछ । यसको फूलको झुप्पाबाट कुचो बनाइन्छ भने स्याउला गाईबस्तुको आहाराका रूपमा प्रयोग गरिन्छ ।

यसका जरा माटोमा राम्ररी फैलिएर जाने भएकाले भू–संरक्षणका लागि पनि यो उपयुक्त हुन्छ । अम्रिसोको खेती धेरै पहिलोदेखि नेपालका पूर्वी पहाडी क्षेत्रमा गरिँदै आएको पाइए पनि हाल यसको खेती अन्य जिल्लामा पनि बिस्तार भएको पाइन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
Loading...